डिबी खड्का, गुल्मी, २१ फागुन । स्थानीय सरकारको अनुदान सहयोगले गुल्मीका किसानलाई व्यवसायिक बनाएको छ । मालिका गाउँपालिका ६ फुलबारीका किसान पुख्र्यौली शैलीको पशुपालन छोडेर व्यवसायिक बन्न थालेका छन् । मालिका गाउँपालिका ६ अर्जेका जुद्ध खत्रीको पेशा नै कृषि हो । तर, विगतमा वर्षै भरी काम गर्दा पनि घर चलाउन मुस्किल पथ्र्यो ।
स्थानीय सरकारले ५० प्रतिशत अनुदान दिएपछि उहाँ व्यवसायिक भैंसी पालनमा लाग्नुभएको छ । उहाँसँग दुईवटा उन्नत जातका भैंसी छन् । सिजनमा दैनिक १५ लिटर र अहिलेको दैनिक ८ लिटर दुध विक्री गर्ने हुने गरेको छ । मालिका गाउँपालिका ६ अर्जे र ४ अर्खबाड्का ३४ जना किसान व्यवसायिक भैंसी पालनमा जोडिएका छन् ।
पालिकाले ५० प्रतिशत अनुदान दिएपछि भैंसीपालनमा लाग्न सजिलो भएको अर्का किसान खिम बहादुर अर्याल बताउनुहुन्छ । स्थानीय सरकारले किसानलाई समृद्धिसँग जोड्न कयौं योजना बनाएका छन् ।
त्यसमध्यको एउटा भैंसी प्रवद्र्धन कार्यक्रम हो रहेको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीको भनाइ छ।उन्नत जातका भैंसी खरिदका लागि अनुदान र दुधको बजारीकरणको निम्ति डेरी सञ्चालन गर्न गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा १७ लाख रकम विनियोजन गरेको थियो । जसबाट ३४ जना किसान लाभान्वित भएका छन् भने स्थानीय तह दुधमा आत्मनिर्भर बन्दै गएको छ ।