काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी प्रा.डा.उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यमा सपथ लिएका छन् ।
तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले भदौ ७ गते सदस्य नियुक्त गरेपछि चर्को आलोचना भएको थियो । सर्वत्र आलोचना भएपछि सपथ नलिएका कोइरालाले सुटुक्क सपथ लिएका अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैठकको सञ्चालक समितिको सदस्यमध्येबाट अध्यक्ष नियुक्त हुने व्यवस्था छ । उनलाई सञ्चालकहरुबाट अध्यक्ष बनाउने तयारी छ । अहिले बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव शर्मा, जनककुमार बराल, प्रा.डा.राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा.डा.माधवप्रसाद दाहाल सदस्य छन् ।
सञ्चालक समितिको छिट्टै बस्ने बैठकले कोइरालालाई अध्यक्ष नियुक्त गर्ने तयारी भएको स्रोतको भनाइ छ । पोखरेलका सम्धी कोइराला पटक पटक राजनीतिक नियुक्ति लिने भाग्यमानी हुन् । उनी अनियमितता र भ्रष्टाचारको आरोपमा मुछिने गरेका छन् ।
यसअघि कोइरालाले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति, खाद्य संस्थानको महाप्रवबन्धक, क्याम्पस प्रमुख, नेपाल आयल निगमको कार्यकारी अध्यक्ष, उच्च माध्यामिक शिक्षा परिषद्को उपाध्यक्षलगायतका नियुक्ति प्राप्त गरिसकेका छन् ।