मनकामना, ७ मंसीर । मनकामना केबलकार संचालनमा आएको २३ वर्ष पूरा गरेर आजबाट २४ वर्षमा प्रवेश गरेको छ। यससँगै हाल केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोरोन्नती गर्न लागिएको श्रेष्ठले जानकारी दिए।
लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुने हुँदै गएपछि यसलाई स्तरोन्नती गर्न लागिएको बताइएको छ। साथै केबलकारको लठ्ठा, ग्रिप लगायतका उपकरणहरु पनि स्तरोन्नती गर्ने बताइएको छ।
यही चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको श्रेष्ठले जानकारी दिएर। स्तरोन्नतीको काम तीन चरणमा गर्न लागिएको छ। 'यात्रु र भक्तजन कम हुने सिजन पारेर स्तरोन्नतीको काम थालेर आउँदो आर्थिक वर्षको भदौसम्ममा पूरा गर्ने योजना रहेको उनले बताए। चरणवद्ध रुपमा विस्तारको काम गर्न लिएको हुँदा यो अवधिभर केबलकारको नियमित सेवा भने यथावतै रहने पनि उनले जानकारी दिए।
कम्पनीका अनुसार केबलकारको भवन, टावर, गोन्डोला, बुलव्हिल लगायत उपकरण भने साविककै रहनेछ। यो सबै स्तरोन्नती सम्पन्न भएसँगै मनकामना केबलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुनेछ।
२०५५ साल मंसिर ८ बाट संचालनमा आएको मनकामना केबलकारले त्यसयता हालसम्ममा डेढ करोडभन्दा बढी (एक करोड ६० लाख) यात्रु र भक्तजनलाई सेवा दिएको जनाएको छ।
मनकामनामा ३५ करोड लगानीमा रिसोर्ट बनाउने
चितवन को-ई समुहअन्तर्गतको मनकामना दर्शन प्रालिले मनकामना केबल कारको टप स्टेशन (गोर्खा) मा रिसोर्ट निर्माण गर्ने भएको छ। रिसोर्टमा कुल ३५ करोड १८ लाख रुपैयाँ लगानी हुने कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले बताए।
कुल ४० कोठा क्षमताको हुने उक्त रिसोर्ट लग्जरी सेगमेन्टको हुने उनको भनाइ छ। अबको डेढ वर्षभित्र निर्माण सम्पन्न गरेर संचालनमा ल्याइसक्ने रिसोर्ट नौ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ।
मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय प्रवर्द्धन गर्ने उद्धेश्यले रिसोर्ट संचालनमा ल्याउन लागिएको श्रेष्ठले बताए। रिसोर्ट संचालनमा आएसँगै स्थानीय रोजगारी सिर्जना र स्तरीय पर्यटकको आवगमनमा वृद्धि हुने उनको विश्वास छ। रिसोर्टमा स्ट्याण्डर्ड रेष्टुरेण्ट, एक सय जना क्षमताको कन्फ्रेन्स हल लगायतका सुविधा समेत रहने श्रेष्ठले जानकारी दिए।
रिसोर्टबाहेक हाल संचालनमा रहेको मनकामना केबलकारको पनि व्यापक स्तरोन्नती गर्न लागिएको बताइएको छ। स्तरोन्नतीमा मात्र करिब ३० करोड रुपैयाँ खर्च हुने श्रेष्ठले बताएका छन्।
केबलबार स्तरोन्नती र नयाँ रिसोर्ट निर्माणमा गरी कुल ६५ करोड रुपैयाँ खर्च गर्ने योजना चितवन को-ईले बनाएको छ। बिजपाटीबाट