Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अलपत्र बन्यो तनहुँको मिर्लुङ–सतिस्वाँरा खानेपानी आयोजना 

अलपत्र बन्यो तनहुँको मिर्लुङ–सतिस्वाँरा खानेपानी आयोजना 

बनाइएका संरचना पनि भत्कन थालेपछि पानी आउने आशमा बसेका उपभोक्ता निराश

इच्छाकामना न्युज

२३, कार्तिक २०७८
अलपत्र बन्यो तनहुँको मिर्लुङ–सतिस्वाँरा खानेपानी आयोजना 
images

नारायण खड्का । तनहुँ, २३ कार्तिक । सुखाग्रस्त क्षेत्रका रुपमा लिएको तनहुँको भानु नगरपालिका वडा नं. १३ मिर्लुङ र सतिस्वाँरा लगायतका गाउँबस्तिमा खानेपानीको सहज आपूर्ति गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको खानेपानी आयोजना अलपत्र अवस्थामा पुगेको छ । तीन वर्ष भित्र आयोजना निर्माण सम्पन्न गर्नुपर्नेमा छ वर्ष वित्तिसक्दा पनि घरका धारामा पानी खस्नुको सट्टा बनाइएका संरचनाहरु समेत भत्कन थालेका छन् । 

images
images

तनहुँको साविक मिर्लुङ्ग र सतिस्वाँरा गाविसको उच्च भागका बसिन्दाले हिउँद लागेसंगै झेल्नुपर्ने पानीको समस्या समाधान गर्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७२÷०७३ सालमा विद्युतीय लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइएको थियो । हाल कायम गरिएको भानु नगरपालिका–१३ र व्यास नगरपालिका–९ का बासिन्दालाई खानेपानीको सहज पहुँच पु¥याउने लक्ष्य भएपनि अहिले यो आयोजना अलपत्र अवस्थामा पुगेको छ । 

गण्डकी प्रदेशकै ठुलो र महत्वकांक्षी खानेपानी आयोजनाको रुपमा लिइएको मिर्लुङ्ग–सतिस्वाँरा खानेपानी आयोजना निर्माण सम्पन्न भई सहज रुपमा खानेपानी उपभोग गर्ने आशामा बसेका उपभोक्ताहरु अहिले निराश बन्नुपरेको भानु–१३ पयास्वाँराकी नानीमाया गुरुङ बताउँछिन् । ‘घरघरमै खानेपानीको धारा आउछ भनेको वर्षौ बित्यो, घरघरमा बनाएको धारा पनि भत्कन थालिसक्यो तर, पानी आएन्’, उनले भनिन्, ‘हामीले हिउँद लागेसंगै खानेपानीको समस्य झेल्नुपर्छ, यो आयोजना बन्यो भने घरमै पानी आउछ कि भन्ने आश थियो तर बनाएका ट्यांकी पनि भत्कन थाल्यो, पाइप पनि ठाउँठाउँमा भाँचिएका छन् रे ।’ 

वर्षायाममा जेनतेन खानेपानीको समस्या टरे पनि हिउँद लागेसंगै यहाँका बाँसिन्दाले एक गाग्री पानीका लागि घण्टौं समय खर्चनु पर्छ । यो समस्यलाई हल गर्ने भन्दै लिफ्ट प्रविधिको खानेपानी आयोजना अगाडि बढाइए पनि कहिले सम्पन्न हुन्छ भन्ने नै निश्चित नहुँदा उपभोक्ताहरु निरास बनेको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गल गुरुङ बताउँछन् । 

उच्च पाहाडी भू–धरातलका बस्तिमा पानीको स्रोत अभाव हुँदा स्थानीयले आफ्नो दैनिकी खानेपानीको जोहो गर्नमै बिताउनु पर्ने बाध्यता छ । यो बाध्यतालाई अन्त्य गराउने लक्ष्यका साथ यो खानेपानी आयोजना निर्माण कार्य अगाडि बढेसंगै सहजै खानेपानी उपभोग गर्न पाइन्छ कि भन्ने आशामा बसेका गाउँलेहरु अब यो पानी आउँदै भन्ने अवस्थामा पुगेको प्रवक्त गुरुङ बताउँछन् । उनले भने, ‘मिर्लुङको बासपानी, टुटेपानी, ठूलोढुङ्गा, पयास्वाँरा, पोखरीछाप, मियाँगाउँ, समजुर, तारुका लगायतका गाउँबस्तिले हिउँद लागेसंगै खानेपानीको चरम समस्य झेल्नुपर्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका आधारभूत आवश्यकता सहज नहुँदा यी गाउँबस्ति बसाईसराईका कारण उजाडिदै गएका छन् ।’ 

आयोजना सुरु गर्नु पूर्व स्थानीय उपभोक्तालाई आयोजनाका बारेमा बुझाउन नसक्नु, समयमै आवश्यक बजेट प्राप्त नहुनु, उपभोक्ताको लागत सहभागिता जुट्न नसक्नु जस्ता कारणले खानेपानी आयोजना समयमै सम्पन्न हुन नसकेको भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँ बताउँछन् । उनले भने, ‘बृहत खानेपानी आयोजना सञ्चालन गर्न आफैमा चुनौतिपुर्ण हुदो रहेछ, आयोजना सुरु भएसंगै विभिन्न समस्यहरु झेल्नुप¥यो । अन्तिम अवस्थामा आएर मुहानदेखि पानी संकलनको मुख्य ट्यांकीसम्म विस्तार गरिएको पाइपलाइन र ट्यांकीमा बाढीपहिरोले क्षति पु¥याउदा थप समस्य भएको छ ।’ 

मुहानदेखि मुख्य ट्यांकीसम्मको करिब चार किलोमिटर दुरीमा चार स्टेपको लिफ्ट प्रविधिबाट पानी वितरणका लागि पाँच वटा ट्यांकी निर्माण गरिएको मिर्लुङ–सतिस्वाँरा विद्युतीय लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष संगम सुमिर पियाँले बताए । उनले भने, ‘करिब १५० घरधुरीमा धारा समेत जडान गरिएको हुँदा बाढीपहिरोले पाइप र ट्यांकीमा पु¥याएको क्षतिको मर्मत सुधार भएमा तिहार लगत्तै पानी वितरण गर्ने तयारीमा छौं ।’ 

कृपा कन्स्ट्रक्सन भरतपुर चितवनले आयोजनाको पहिलो चरणको काम अन्तरगत पाँचवटा पानीसंकलन ट्यांकी निर्माण, पानीको मुलदेखि मुख्य ट्यांकीसम्म जिआई पाइप जडान गरेको छ। विद्युत लाइन विस्तार, ट्रान्सफरमर जडान लगायतका कार्य पनि भएको छ । दोश्रो चरणको कामको जिम्मा लिएको गण्डकी निर्माण सेवा नेपालगञ्ज बाँकेले उपभोक्ताहरुको घरघरमा धारा जडान र कार्यालयको भवन निर्माण कार्य गरिरहेको छ ।

यी निर्माण व्यवसायीले तोकिएको समयमै काम सम्पन्न नगर्दा तेश्रो पटक म्याद थप्ने तयारीमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँका इन्जिनियर बामदेव पौडेलले बताए । भानु–१३ स्थित खरस्याङ्ग खोला, सिस्ने मुल र देउराली खोलाको पानी विद्युतीय लिफ्ट प्रविधिबाट करिब चार किलोमिटरको उचाईमा निर्माण गरिएको मुख्य ट्यांकीसम्म पानी पु¥याएर वितरण गरिने छ । 

निर्माण गरिएका ट्यांकीमा एक पटक पानी खसालेर परीक्षण गरिएपनि ट्यांकीमा पानी नअडिएपछि कामको गुणस्तरीयतामा पनि प्रश्न उठेको छ । केन्द्रीय सरकारले सुरु गरेको यो आयोजना अहिले प्रदेश सरकार मातहत आएको छ । समयमै आवश्यक बजेट पाउन नसकेको र आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश सरकारको विशेष कार्यक्रम अन्तरगत राखेर बजेट माग गरिएको इन्जिनियर पौडेलले बताए। 

उनले भने, ‘जटिल प्रकृतिको आयोजना भएको र प्रयाप्त बजेट समेत नआएको हुँदा समय लागि रहेको र तेश्रो स्टेजसम्म पानी सञ्चालन गरी तिहार लगत्तै केही उपभोक्तालाई पानी खुवाउने तयारीमा कार्यालय लागि परेको छ ।’ 

खानेपानी आयोजनामा आर्थिक वर्ष २०७७÷०७८ सम्म २ करोड १३ लाख ७० हजार रुपैयाँ खर्च भइसकेको छ । आयोजना पूर्णरुपमा सम्पन्न हुन अझै करिब २ करोड ५० लाख रुपैयाँ बजेट आवश्यक पर्ने भएपनि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६० लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ । २ करोड ५७ लाख ९१ हजार उपभोक्ताको लागत सहभागिता सहित १२ करोड ८९ लाख ९८ हजार रुपैयाँ आयोजनाको लागत स्टमेट निकालिएको थियो ।

खानेपानी आयोजना निर्माण कार्यको स्टमेट अनुसार ८ दशमलव २ किलोमिटर पाइपलाइन तथा ३३ दशमलव २ किलोमिटर क्षेत्रमा खानेपानी वितरण पाइप विस्तार गरिने छ । आयोजना अन्तरगत ३ वटा इन्टेक, २ वटा पानी संकलन ट्यांकी, १ वितरण च्याम्बर, १५ वटा भल्व च्याम्बर, ७ वटा प्रेसर ब्रेक ट्यांक, ८८७ वटा नीजि र ७ वटा सार्वजनिक धारा निर्माण एवं जडान गरिने स्टमेटमा उल्लेख छ । स्टमेट अनुसार कार्यालय सञ्चालनका लागि ४ कोठे पक्की भवन र कार्यालय प्रयोजनका लागि एउटा यातायातको साधान समेत खरिद गर्नुपर्ने उल्लेख छ । 

मिर्लुङकोट, शहीदगाउँ पुलिमराङ्ग लगायतका ऐतिहासिक, धार्मिक, साँस्कृतिक, प्राकृतिक क्षेत्रले भरिपूर्ण र ग्रामीण पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको यस क्षेत्रमा खानेपानीको सहज पहुँच नहुँदा धेरै जसो गाउँ बसाई सराइका कारण उजाडिदै गएका छन् । गाउँघरमा रहेका मानिसहरु पनि हिउँदको समयमा देखिने खानेपानी समस्याको दीर्घकालिन समाधानको खोजीमा बसेका छन्। आजको भञ्ज्याङ दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक २३, २०७८ मंगलवार - ०९:२७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology