एउटा छेउमा पुरानो खाट
भित्तामा झुण्ड्याइएका
केही पुराना तस्बिरहरु
एउटा सानो दराज र सन्दुस
केही भाँडाकुँडा
एउटा सानो गृहस्थी
सबै अटाएको छ यसमा
यही एउटा कोठा
हाम्रो सम्पूर्ण जिन्दगी ।
यही कोठामा
हामी एक–अर्कालाई प्रेम गछौं
जीवनका सुख–दुखलाई बाँड्छौं
यही कोठामा
भोलिको सपना साँचेर
वर्तमानको पीडालाई बिर्सन खोज्छौं
बेरोजगारी र महङ्गीले
थलिएको हाम्रो शरीर
हाम्रो मन
भोलि त यसो नहोला कि भनेर
हलुङ्गो हुने प्रयत्न गछौं ।
हामी बैसालु छौं
तर हाम्रो बैंस
अलि पहिल्यै निख्रिसक्यो भन्दा हुन्छ
हाम्रा कण्ठहरु
बैंसका गीतहरु गाउन सक्दैनन्
हाम्रा खुट्टामा
बैंसको गति छैन
हाम्रो बोलीमा
बैंसको प्रवाह छैन
बैंसको ओज छैन हाम्रा हातहरुमा
कति चाँडै मरिसक्यो
हाम्रो बैंस
कति चाँडै मरिसके
हाम्रा रहरहरु
कति चाँडै बूढा भइसक्यौं
अचम्म लाग्छ आफैंलाई
अचम्म लाग्छ
गरिबीले
कति चाँडै बूढो बनाउँदो रहेछ मानिसलाई
र भित्र भित्र दुखको
नदी बग्न सुरु गर्छ ।
जीवनको यो तस्बिर माझ
कोही हामीलाई
शिक्षकले झैं बुझाउन खोज्छ
लोकतन्त्र के हो
संविधान के हो
बुझाउन खोज्छ
हामीले प्राप्त गरेका
उपलब्धिहरु के हुन
तर हामी कसरी बुझौं यी सबै
कहाँ हेरौं–
आफ्नै जीवनमा
वा आफूजस्तै
अरुको जीवनमा
कहाँ हेरौं ?
हामीलाई यी सबै
हाम्रो जिन्दगीमाथिका
मजाक जस्ता लाग्छन्
जसले हामीलाई गिज्याउँछन्
र हाम्रा घाउहरुलाई
अझ गहिरा बनाउँछन् ।
०००