आँबुखैरेनी, २० भदौ । तनहुँको आँबुखैरेनीमा रहेको मनकामना माई बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरुले आफ्नो खातामा रहेको रकम कुनै पनि बैंकमा ट्रान्सफर गर्न सकिने भएको छ ।
सहकारीको ‘मनकामना माई स्मार्ट बैकिङ एप’ मार्फत मोबाईल प्रयोगकर्ता सदस्यहरुले आफ्नो खाताबाट कुनै पनि बैंकको खातामा रकम ट्रान्सफर गर्न सकिने भएको हो । यो सेवा सदस्यहरुका लागि प्रभावकारी हुने देखिएकोले सुरु गरिएको सहकारीका व्यवस्थापक नारायण तिमिल्सिनाले बताए।
संस्थाको कार्यालयसम्म आई सेवा लिन असमर्थ सदस्यहरुले सहकारीमा रहेको आफ्नो खाताको रकम आफुलाई पायक पर्ने बैंकमा रहेको आफ्नो वा आफुसँग सम्बन्धित व्यक्तिहरुको खातामा ट्रान्स्फर गरी आफूलाई अत्यावश्यक रकम निकाल्न सहज हुने उनले बताए। यो सेवाबाट एकपटकमा २५ हजारसम्म रकम ट्रान्सफर गर्न सकिने छ।
सहकारीको स्मार्ट बैंकिङ एपबाट ब्यालेन्स ईन्क्वायरी गर्ने, लामो तथा छोटो स्टेटमेन्ट प्राप्त गर्ने, ऋणको जानकारी लिने, फण्ड ट्रान्स्फर गर्ने, चेक अनुरोध तथा रद्द गर्ने जस्ता बैंकिङ सुविधा तथा मोबाईल टपअफ, ईन्टरनेट, टि.भी., विद्युत, खानेपानी, मुभी तथा हवाई टिकट जस्ता भुक्तानी सुविधा समेत उपलब्ध रहेको छ ।