लमजुङ, १५ कार्तिक । लमजुङ हाँडीखोला गाउँका कालु दुरा (वर्ष ४८) मौरीपालक किसान हुन्। साबिकको नेटा गाउँ विकास समिति वडा नम्बर २ रहेको हाँडीखोला हाल मध्यनेपाल नगरपालिकाको वडा नम्बर १० मा पर्छ। हाँडीखोलामा अधिकांश घर दुरा, केही घर गुरुङ र केही घरहरु परियार र विश्वकर्माको रहेका छन्।
एक समय कालू दुरा गाउँमै सामान्य दोकान चलाउँथे। उनी सामान्य लेखापढा छन्। गाउँमा व्यापार फस्टाउन नसकेपछि उनले व्यापार छाडिदिए र मौरी पालन व्यवसायतर्फ आकर्षित भए।

व्यापार छाडेपछि उनले केही समय गाउँमै खेती किसानी गरे। हाँडीखोलामा उनको अलिकति खेत छ, अलिकति पाखो जग्गा। पाखो जग्गाबाट अन्नको उस्तो उब्जनी हुँदैनथ्यो। जसले गर्दा उनलाई सधैं आर्थिक पिरलो थियो। उनले मौरी व्यवसाय सुरु गरेको झण्डै आठ वर्ष भयो। त्यसयता भने उनले यस्ता पिरलोलाई खासै भोग्नु परेको छैन।

‘माहुरी व्यवसाय सुरु गरेदेखि घरखर्च चलाउनको अहिले पैसा छैन भन्नु परेको छैन,’ कालु दुरा भन्छन्। उनले मह र माहुरीको घार बिक्रीबाट नै वर्षेनी आठदेखि दश लाखसम्म आम्दानी गर्छन्। उनलाई अहिले यो व्यवसायमा उनकी श्रीमती धनमाया दुरा (वर्ष ४५) ले साथ दिएकी छिन्। उनका दुई छोराहरुमध्ये जेठो नेपाली सेनामा र कान्छा पोर्चुगलमा छन्। दुई छोरीहरुको विवाह भइसकेको छ । ‘मौरीपालन व्यवसायले नै आफूले आफ्ना परिवारलाई सक्षम बनाउन सफल भएको’ कालु दुरा बताउँछन्।

उनले मौरीपालन व्यवसाय सुरु गर्नुअघि उनको घरमा एउटा मात्र परम्परागत मुढेघार थियो। पछि मौरीको घार बढाउनका लागि भनेर उनले एउटा उन्नत घार किने। त्यससँगै जिल्ला कृषि कार्यालयबाट २ वटा उन्नत घार अनुदानमा लिए। यसले उनलाई मौरीपालन व्यवसाय गर्न थप उत्साहित ग¥यो। त्यसपछि उनी आफैले मौरीका घारहरु बनाउन सूरु गरे। ७,८ वर्षदेखि कालु दुरा निरन्तर यो व्यवसायमा छन्। अहिले उनीसँग झण्डै ५ रोपनी जग्गामा ७० घार माहुरी छन्। वर्षेनी ८०–९० लिटर मह उत्पादन र बिक्री गर्छन्। ‘प्रतिलिटर १२ सय रुपैयामा मह बिक्री हुने गरेको उनी बताउँछन्। उनले वर्षको दुईपटक मह काढ्छन्। कार्तिक र जेठ मह काढ्नका लागि उपयुक्त समय रहेको उनी बताउँछन्। भोर्लेटार, दुराडाँडा र सुन्दरबजारका मह व्यापारी उनीकहाँ मह किन्न आउँछन्।

उनले मह उत्पादनसँगै घार सहितको माहुरी बिक्री पनि गरिरहेका छन्। उनले वर्षमा झण्डै ९० देखि एकसय वटासम्म घारसहितको माहुरी बिक्री गर्छन्। यस वर्ष तनहुँको मिर्लुडमा मात्रै ८० घार माहुरी बिक्री गरेर पठाएको उनी बताउँछन्। प्रति घार माहुरीको मूल्य ९ हजार रहेको छ। यसरी वर्षेनी घारसहितको माहुरीको बिक्री बढ्दै गएपछि उनी आफैले घार पनि बनाउन थालेका छन्। उनले घार बनाउनका लागि उत्तीस, टुनी र महुवाका काठहरु प्रयोग गर्छन्।

सुरुमा मौरीपालन सम्बन्धी खासै कुनै ज्ञान नभएपनि कामले काम सिकाउँछ भनेझै एकदुई घार मौरीलाई स्याहारसुसार गर्दागर्दै उनी मौरीपालनमा रमाउन थाले र यसैलाई व्यवसाय बना । अहिले मौरी व्यवसायबाट नै उनले वार्षिक ८ देखि १० लाखसम्म आम्दानी गर्छन्।

‘कुनै पनि काम गर्दा सबैभन्दा ठूलो धैर्यता हुनुपर्दो रैछ। हामी काम गरिसकेपछि छिटो नाफा खोज्छौं। यो कामले नाफा भएन भनेपछि त्यो कामै छाडिदिन्छौ र अर्को काम थाल्छौं। यसले हाम्रो मिहिनेत पनि खेर जान्छ। समय पनि खेर जान्छ र पैसा पनि खेर जान्छ। काम गर्न सके सुगम र दुर्गम भन्ने हुँदैन रैछ। हाँडीखोलाको यस्तो अनकण्टार ठाउँ, तपाईहरुले पनि अहिले आउँदा देखिहाल्नु भो अप्ठ्यारो। यस्तो ठाउँमा पनि मान्छेहरु आउँछन् र मह सङ्कलन गरेर लैजान्छन्।’ कालु दुरा हामीसँगको कुराकानीमा बताउँछन्। मौरीपालन व्यवसायबाट आफू सन्तुष्ट रहेको पनि उनले बताए ।