अविनाश आचार्य, बारा, ३० बैशाख । कोरोना भाईरसको दोस्रो लहरको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै बारामा अघोषित निशेधाज्ञा जारी गरिएको छ । प्रशासनले गरेको निर्णयसँगै बजारमा चहलपहल घटेको छ । तर संक्रमितको उपचार र ब्यवस्थापनमा पालिकाहरु गम्भिर देखिएका छैनन् ।
यही वैशाख २३ गतेदेखि बारामा अत्यावशक बाहेकका सबै गतिविधिमा प्रतिबन्ध लगाइएको छ । सङ्क्रमण समुदायस्तरमा पुगिसकेको अनुमानसहित जिल्ला विपद् ब्यवस्थापन समिति निषेधाज्ञा गर्ने निष्कर्षमा पुग्यो । तर जिल्लामा सङ्क्रमितको उपचार र व्यवस्थापनका लागि कसैको ध्यान नगएको कलैयाका मोहन लामिछाने बताउनुहुन्छ ।
कोरोना भाइसरको दोस्रो लहर सङ्क्रमण र मृत्यु दरका हिसाबले पहिलो चरणको लहरभन्दा कडा भएको चिकित्सकहरूको विश्लेषण छ । स्थानीय सरकारहरुको तयारी भने पहिलो चरणको भन्दा कम्जोर देखिन्छ । दोस्रो लहर प्रवेश गरेसँगै बारामा मात्रै कोरोना सङ्क्रमणका कारण ३३ जनाले ज्यान गुमाएका छन् भने सङ्क्रमितको संख्या १ हजार नजिक पुगेको छ ।
आफै अस्पताल पुगेकाहरुको आधारमा यस्तो तथ्याङ्क देखिए पनि गाउँगाउँमा ज्वरोका बिरामी बढीरहेका छन् । तर उनीहरूको जाँच हुनसकेको छैन । कोरोना सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निर्णय र रणनीति बनाएर समन्वय भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । उहाँले कुन स्थानीय तहमा कति आइसोलेसन सेन्टर बनाउने र नीजि अस्पतालमा बेड, आईसीयू, भेन्टिलेटरको अवस्था के छ लगायतका विषयमा बुझेर काम गरिरहनुभएको पनि बताउनुभयो ।
बाराको जितपुरसिमरा उपमहानगरपालिकाले गतवर्ष कोरोना संक्रमितको उपचारका लागि ५० शैयाको अस्थाई कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो । गतवर्षका अधिकांश संरचना तयारी अवस्थामा छन् । अरु स्थानीय तहमा पनि यस्तो संरचना भए पुनःप्रयोग नभए निर्माणमा लाग्नुपर्ने नागरिकको माग छ ।