काठमाडौं, १६ बैशाख । निषेधाज्ञाको अवधिमा पनि सेयर बजार चालु रहने भएको छ। तर, सबै कारोबार विद्युतीय माध्यमबाट ९अनलाइन० मात्र हुने स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले जनाएको छ। काठमाडौंमा जिल्ला प्रशासन कार्यालयले एक साताका लागि जारी गरेको निषेधाज्ञा आजबाट सुरू भएको छ।
मन्त्रिपरिषद् बैठकले भने कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै १५ दिन निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ। यससँगै आजबाट अत्यावश्यक सेवाबाहेकका सवारीसाधन, व्यापार व्यवसाय, शैक्षिक संस्थालगायत बन्द हुने छन्। यही अवस्थालाई मध्यनजर गर्दै सेयर कारोबार विद्युतीय माध्यमबाट मात्र गर्ने निर्णय भएको एसोसिएसनले जानकारी दिएको छ।
‘निषेधाज्ञाको पनि नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड तथा अन्य निर्देशनहरूको पालना गर्दै विद्युतीय माध्यमको उच्चतम प्रयोगमार्फत् धितोपत्र दोस्रो बजार कारोबार तथा राफसाफ निरन्तर गर्नरगराउन हामी धितोपत्र दलाल व्यवसायीहरू पूर्णरूपमा तयार रहेका छौं।
यसका लागि सम्बन्धित निकायहरूबाट हाम्रा कर्मचारीहरूको आवागमनलगायतका अन्य आवश्यकताहरूमा निरन्तर सहयोग हुने विश्वास गरेका छौं,’ एसोसिएसनद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सम्बन्धित कार्यालयको कार्डका आधारमा आवातजावत गर्न दिने व्यवस्था गरिएको छ। ब्रोकर कम्पनीका कर्मचारीलाई पनि सोहीअनुसार व्यवस्था गरिदिन एसोसिएसनले प्रशासनसँग माग गरेको छ।
एसोसिएसनले सेयर खरिद बिक्री गरेबापतको रकम विद्युतीय माध्यमबाट समयमै भुक्तानी गर्न सक्ने सुनिश्चित गरेर मात्र कारोबारमा सहभागी हुन लगानीकर्तालाई आग्रह गरेको छ।