मान बहादुर कुँवर, जुम्ला, ६ फागुन । पछिल्लो समय जुम्लाका किसानले सामुहिक स्याउ खेतीबाटै आर्थिक समृद्धिको सपना देख्न थालेका छन् । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर ६ हिँयाखोलाका स्थानीय मिलेर नमुना स्याउ बगैंचा बनाउने प्रयास गर्दैछन् ।
उनिहरुले १९ हेक्टर क्षेत्रफलमा साढे ४ हजार स्याउका विरुवा रोपेका छन् । जुम्लाको तातोपानी ६ को हिँयाखोला बस्ती आर्थिक र शैक्षिक उन्नतिबाट टाढा छ । गाउँका सबै स्थानीय कृषिमा आबद्ध छन् ।
तर परम्रागत खेती प्रणालीबाट जीवन चलाउन मुस्किल परेपछि पुरै गाउँ मिलेर सामूहिक स्याउ खेति थालिएको स्थानीय हर्क बहादुर कामीले बताउनुभयो ।
पहिले रोपिएका स्याउ विरुवामा छाडा पशुबस्तुले नोक्सान पु¥याउँथे, अहिले कुल ३९ लाखमा लागतमा दुई किलो मिटर गोलाइमा घेराबार हुँदैछ । यो घेरबारले हिँयाखोला गाउँको एक लाख ९० हजार बर्गमिटर क्षेत्रफल जमिन पशुबस्तुबाट सुरक्षित हुने पनि अर्का किसान जौंकला खड्काले बताउनुभयो ।
नेपालमा समुदाय स्तरबाट बनाईएको यति ठुलो स्थानीय जातको स्याउ बगैंचा कतै पनि छैन । यो बगैंचालाई देशकै नमुना बनाईने बताउनुहुन्छ, स्याउ सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारी । राजमार्गको छेवैमा बन्दै गरेको यो बगैंचा पर्यटकीय दृष्टिले समेत उत्तम हुने देखिन्छ । तर पानीका मुहान नहुँदा समस्या भने छ ।
जसरी पनि बगैंचामा सिंचाइ पु¥याउने तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेको भनाई छ । निम्न आयस्तर भएका हिंयाखोलाका किसानका लागी यो बगैंचा समृद्धिको मानक हुनेछ ।
स्थानीयले पनि देशकै नमुना स्याउ बगान बनाउने गरी काम गरिरहेका छन् ।