Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

मनको कथा-पत्र मित्र

मनको कथा-पत्र मित्र

युवराज लामा

७, चैत्र २०७७
मनको कथा-पत्र मित्र

पत्र हातमा पर्ना साथ मैले चिनीहाले । पछाडी खाममा ‘गेस हुु’ भनेर अङ्ग्रेजीमा लेखिएको रहेछ । मलाई हाँसो उठ्यो । पहिलाको बानी अझै के रहिरहेको होला भनेर मनमनै गाली गरे । एक पटक चिठी बिस्तारै बङ्ग्याएँ, सजिलै बाङ्गियो । फोटो रहेनछ । रिस उठ्यो । हत्तपत्त पत्र खोल्न पढ्न मन लागेन । अस्ति मात्र मैले पठाएको, अब उनको पालो थियो, नपाउँदा दिक्क लाग्यो ।

images

त्यो चिठी विस्तारामै फाले र ओछ्यानमा पल्टे । सुस्ताउन मन लाग्यो । तर ध्यान भने चिठी तिरै गयो । किन थाक्दिन म चिठी लेख्दालेख्दा ? म आफै दङ्ग पर्न थाले । कुनै समयमा म यस्तै थिएँ र आज पनि यस्तै छु । झण्डै २६ वर्ष अघि मलाई पुग्ने कुन रुची थियो र एउटा प्रसिद्ध कामना पत्रिकाको पत्रमित्र स्तम्भमा आफ्नो नाम ठेगाना छपाएको थिएँ खै ? यादै छैन । सायद १६ वर्षको हुँदो हुँ त्यसबखत । छापिना साथ थुप्रो चिठीहरु आएका थिए  त्यसबखत र म अति मख्ख थिएँ कि चिठीको रासलाई पैसाको थुप्रो झै खेलाएर बस्थे । एक–एक हरफ पढ्थे ।

म मा आएको हठात् परिवर्तनमा मेरी आमा खुशी हुनुहुन्थ्यो । उँहाले मैले पत्र खेलाइरहेको हेर्नुहुन्थ्यो । म ओछ्यानमै बसेर ती पत्रहरु बारम्बार पढ्थे । यी पत्रहरुमध्ये ‘पारु’को पत्र पनि थियो । उत्तर दिने क्रममा मैले आएका सबै पत्रमध्ये उत्कृष्ट पाँचलाई छानेको थिएँ र पत्रोत्तर गर्ने गर्थे । यी स्कूलका अध्ययनरत छात्राहरु थिए, तर टाढा–टाढाका ‘पारु’को घर पूर्व पाँचघरमा थियो म पश्चिमको । तर पत्राचार हुने क्रममा पारुको शैली, स्पष्टवादिता एवम् अभिव्यक्तिमा यति मिठास लाग्न थाल्यो कि क्रमशः अन्य पत्रहरुको उत्तर दिन छाडेँ मात्र पारुको प्रतिक्षामा रहन थालेँ मेरो पत्र पनि उनी मन पराएको लेख्थिन् र प्रत्युत्तर पनि बडो नियमित रुपबाट दिन्थिन् । म अधीर भएर रहन्थे । 

एकपटक पत्र पठाएपछि  उत्तर आइपग्नै पन्ध्रबीस दिन लाग्थ्या, जुन मेरो लागि दिलो थियो । खुब रमाइलो पाराले लेख्थिन् र जब मैले पहिलो पटक उनको पत्र पाएको थिएँ, म झन् व्यग्र भएर उनलाई मन पराउन थालेको थिएँ । एउटा क्लिप बोर्डमा उनको फोटो टाँसे र हरेक पत्र फोटो सँगै गाँसेर पढ्न थाले ।  उनी नै बोले जस्तो लाग्न थाल्यो । तर त्यो पहिलो फोटो प्राप्तिको खुशी एकछिन पछि नै फुङ्ग उडेको थियो । मैले पनि पठाएउनु पथ्र्यो र एउटा मलिनो स्वरमा मैले आमालाई बोलाएको थिएँ र एउटा फोटो खिचिदिन कर गरेको थिएँ । आमा छक्क पर्नुभएको थियो । सायद मनमा के कुरा चल्यो, नजिकैको फोटो–ग्राफरलाई बोलाएर ओछ्यानमै मिलाएर फोटो खिच्न लगाउनुभयो । कम्मर भन्दा माथि खिचिएको फोटो राम्रो आएको र मलाई मन परेको थियो ।

त्यो फोटोलाई छेउमा राखेर म चिठी लेख्न बसेँ । त्यसबेला पत्रमित्रता भर्खर भर्खर शुरु हुन लागेको थियो । र पहिलो फोटोको आदान–प्रदान चलिरहेको थिएँ । आत्मियता देखोउनु पर्दथ्यो तर अति आत्मियता भएको खण्डमा चिठी नाटकीय हुन सक्थ्यो र गलत अर्थ पनि लाग्न सक्थ्यो । यस्तो उमेरमा लेखिएको पत्रले गलत अर्थ बोक्ने सम्भावना धेरै हुन्थ्यो र युवतीहरु यस विषयमा निकै चनाखा र संवेदनशील हुन्छन् भन्ने मलाई थाहा थियो । त्यसैले म निकै होशियार हुन्थेँ । यस कुरालाई मैले सधैं ख्याल राख्थे कि मैले एउटा अपरिचित युवतीलाई कलम र मात्र कलमको भरमा आफूतिर आकर्षित गर्नु छ । यस अवस्थामा पुरुषको शारीरिक आकर्षकको कुनै अर्थ रहँदैन, न त होउभावको । मात्र कलमको टुप्पो मीठो हुनुपर्छ । संगितको धुनले सर्पलाई नचाए झै मैल मिठो शैलीमा एउटा  मित्रता अड्याउनु थियो । म मायाको भोको थिएँ, त्यो माया मलाई कलमले मात्र दिन सक्थ्यो । यी सबै कु्रा बिचार गरेर म चिठि लेख्दै थिएँ। र प्रत्येक हरफ हरफको अर्थ नचाएर विचार गर्थे ।

यो चिठी सकिएपछि फोटोलाई त्यसैले बेरेर आमालाई पोष्ट गर्न भनेको थिएँ।

र त्यही रात एकपटक म आत्मग्लानीले रोएको थिएँ तर किन रोए , मलाई नै थाहा थिएन । यसरी शुरु भएको पत्रमित्रता निकै परिपक्क भएको थियो समयसँगै । प्रत्येक पत्रसँगै उनी वयस्क भएको म अनुभव गर्थे । चिठीको संरचना पनि परिवर्तित हुँदै गएको थियो । अब म त्यति होशियार हुन्थिनँ जति पहिले हुुने गर्थे । एउटा सिमा त रहन्थ्यो  तर त्यो सीमा हरेक पत्रसंगै बदलिन्थ्यो । शब्द केलाइरहनु पर्दैनथ्यो र उनी अर्थ आफू लिन्थिन् र अनर्थ हाँसेर उडाइदिन्थिन् ।

मेरी आमालाई यो सबै कुरा थाहा थियो । म हुलाकीबाट चिठी पाउँथे र प्रत्युत्तर आमालाई दिएर पठाउँथे । प्रष्टतः नभने पनि आमा खुशी नै हुनुहुन्थ्यो किनभने म खुशी थिएँ र अचानक एकदिन उनी आउने भइन् ।

यसपल्टको चिठी केही चाँडो आएको थियो र मैले आनन्दविभोर भएर त्यो पत्र लिएको थिएँ। मलाई  लाग्यो सायद उनको केही विशेष खबर हुनुपर्छ या जन्मदिन हुनुपर्छ । खुशी चाँडै सकिएला भनेर पत्र ढिलै खोल्ने विचार गरेको थिएँ ।

तर खुशीको तन्द्रा चाँडै सकिएछ  र अन्ततः यो बेलुका आएको थियो । खाना खाएर सकेपछि म ओछ्यानमै बसेर यो पत्र खोलेको थिएँ । मलाई थाहा छैन, उनले के लेखिन् र पहिले हरफमै गाढा अक्षरमा लेखेकी थिइन्  “म कलेजकी एक साथीसंग यहाँ आउँदैछु , यही महिनाभित्र ।” अर्थात् आजको पन्ध्र दिनभित्र! पन्ध्र दिन ! म चिच्याएर आमालाई बोलाउन पुगेछु । 

घरबाटै मैले दुईवटा आर्कतिहरु घरतिर लम्केको देखें । उनीहरुले मझौला किसिमका स्कूले झोलाबोकेको थिए । कति  उन्मुक्त भएर लम्किरहेका छन् , मानौ आफ्नै घरतिर लम्किरहेछन् । उनीहरु आपसमा कुरा गर्दैछन् । यस्तो लाग्यो सायद मेरै बारेमा कुरा गर्दैछन् । मलाई छकाएर मेरै घरमा पसेर मलाई नै तर्साउने योजना बनाउँदै होलान् उनीहरु अहो! किन एक्कासी गम्भिर भए? सायद मेरो परिवारको धक मानेका होलान् । किन डराउनुपथ्र्यो मेरी आमासँग । तर विचरी पारुलाई थाहा थिएन मेरी आमाले उनलाई माया गर्ने, थुप्रै माया गर्ने कुराहरु बर्षोसम्म मलाई धेरै खुशी राख्ने,जीवन्त राख्ने मायाको अविरल स्रोत तिमीलाई पुज्ने कुरा के थाहा? 

मैले धेरै सोच्न सकिन र आमालाई बोलाए र एकहातमा चिठी लिदै गेटतर्फ अर्को हात तेस्र्याएर भने, “पारु !” आमा विष्फारित नेत्र लिएर गेट तर्फ दौडिनुभयो । म मुटुको बढ्दो तरङ्ग र आत्माग्लानीको ढिक्कालाई दबाउन लागे । एक छिनपछि पारु र उनको साथीलाई मेरै ओछ्यान छेउपाएँ । सायद पारु भन्दै थिइन् “अझै ओछ्यानमै हुनुहुन्छ ?” मैले उनीतिर पुलुक्क हेरेर प्रतिक्रिया विहिन बने। उनको अनुहार धमिलो भएर आयो । बोल्न मन लागेन । उनी अझ के–के भन्दै थिइन् । मैले आमाको सहारा खोजे कतै देखिनै । ढुकढुकी बढ्दै थियो ।तर उर्लदै थियो विद्रोहमा । टाउको रिङ्गाउन थाल्यो र अनन्त असह्य भएर आयो । सिरक फालेर म चिच्याउन पुगे । “म उठ्न सक्दिन पारु !” हेर मेरा दुबै खुट्टाहरु लुला छन् । म अपाङ्ग हुँ । म तिमीलाई चिन्दिनँ तिमी फर्कीहाल । 

“बावु ए बावु ! के भयो तिमीलाई? ”म आमालाई हेरेर टोलाएँ ।

“आमा, म कसैको माया पाउन लायकको छैन र ?”

“धत् ! के भनेको त्यस्तो ? कसले माया गर्दैन तिमीलाई?”

“आमा, अब मलाई यो कलमले माया गर्दैन । यसले दिनुपर्ने माया दियो र त्यो माया अब पीडा भएर जन्मन लागेको छ । म यो पीडा थाम्न सक्दिनँ आमा ।”

मैले सफा कागजमा केही कोर्न खोजे, केही प्रष्टियो तर केही आँसुका थोपाले फुले । ठूलो बलले एकपटक उनको चिर परिचित ठेगाना खाममा कोरे, लामो निश्वास लिएर बर्षौ देखि कोर्दै आएको ठेगाना पुनः पढे, टिकट टाँसे र आमालाई दिएँ, 

“आमा ! अब कुनै पारु आउनेछैनन् र उनको पत्र पनि आउने छैन ।”

–इतिश्री –

images
प्रकाशित मिति :चैत्र ७, २०७७ शनिवार - १४:०३:३६ बजे

युवराज लामा

लेखक लामा इच्छाकामना न्युज डटकमको नियमित स्तम्भकार हुन् भने त्रिवेणी बराह माध्यामिक विद्यालय मुग्लिनका प्रध्यानाध्यापक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology