Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १३ लाखको बिक्री

कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १३ लाखको बिक्री

रासस

७, पौष २०८२
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १३ लाखको बिक्री
images

बागलुङ । बागलुङको ढोरपाटनस्थित किमबोट गाउँ यतिबेला पहेँलपुर सुन्तलाले सजिएको छ। गाउँका धेरै मानिस सेवा–सुविधा खोज्दै सहर पसे पनि लोकनाथ कँडेलको मन भने अझै गाउँकै सुन्तला बगानमा अडिएको छ। १३ वर्षअघि बागलुङ बजार बसाइँ सरेका उहाँ हप्ताको एकपटक किमबोट नपुगी रहनै सक्दैनन्। उनको यो निरन्तरको गाउँ यात्राको मुख्य आकर्षण नै ३५ वर्षदेखि पसिना बगाएको सुन्तला खेती हो।

images
images

वि.सं. २०४७ मा सामान्य लगानीबाट सुरु गरेको यो व्यवसाय अहिले लोकनाथका लागि लाखौँ आम्दानीको स्रोत बनेको छ। १४ रोपनी क्षेत्रफलमा फैलिएको बगानमा अहिले ३२० बोट सुन्तला छन्, जसमध्ये २५० बोटले मज्जाले फल दिइरहेका छन्। कुनै समय कोदो र मकै फल्ने बारीमा अहिले लटरम्म सुन्तला फलेका छन्। त्यही सुन्तला बेचेर लोकनाथले छोराछोरीलाई शिक्षा दिए र आज उनका छोराहरू जापान, अमेरिका र पोर्चुगलजस्ता देशमा पुगिसकेका छन्।

लोकनाथका अनुसार सुरुका दिनमा डोकोमा बोकेर बागलुङ बजारसम्म सुन्तला पुर्‍याउनुपर्ने बाध्यता थियो। तर अहिले अवस्था फेरिएको छ। धादिङ र चितवनदेखिका व्यापारीहरू सिधै बगानमै पुग्छन्। गत वर्ष १३ लाखको सुन्तला बेचेका उनले यस वर्ष १५ लाखभन्दा बढीको कारोबार गरिसकेका छन्। जिल्लामै सबैभन्दा धेरै सुन्तला फलाउने किसानको पहिचान बनाएका उनले अझै दुई लाख बराबरको सुन्तला त परिवारका लागि मात्रै राखेका छन्।

सहरको सुविधाभन्दा गाउँको माटो र सुन्तलाको सुगन्धले उनलाई बढी तान्छ। गाउँमा छिमेकीहरू रित्तिँदै गए पनि र आफू बिरामी पर्दा उपचार सहज होला भनेर बजार झरे पनि उनको आत्मा भने किमबोटकै सुन्तला बोटमा घुमिरहन्छ। राज्यले किसानका उत्पादनलाई उचित मूल्य र बजारको ग्यारेन्टी गरिदिने हो भने सुन्तला खेतीबाटै गाउँको मुहार फेर्न सकिने उनको विश्वास छ।

images
प्रकाशित मिति :पौष ७, २०८२ सोमवार - ०९:४१:४५ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology