Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

भारतीय कम्पनिले अब रुसबाट तेल नकिन्ने

भारतीय कम्पनिले अब रुसबाट तेल नकिन्ने

एजेन्सी

२६, कार्तिक २०८२
भारतीय कम्पनिले अब रुसबाट तेल नकिन्ने
images

भारतले रूसबाट कच्चा तेल खरिदमा उल्लेखनीय कटौती गरेको छ । ब्लूमबर्गको रिपोर्टअनुसार, भारतका पाँच प्रमुख रिफाइनरहरूले डिसेम्बरको लागि कुनै पनि नयाँ अर्डर गरेका छैनन् । यो निर्णय अमेरिकी प्रतिबन्धहरू र जारी भारत-अमेरिका व्यापार वार्ताको बीचमा आएको हो ।

images
images

अगस्टमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल खरिद गर्दा भारतमा ५० प्रतिशत कर लगाएका थिए । उनले पछि रूसको सरकारी स्वामित्वमा रहेका तेल कम्पनीहरू, रोसनेफ्ट र लुकोइलसँगका सबै लेनदेनहरूमा प्रतिबन्ध लगाए । यी प्रतिबन्धहरू नोभेम्बर २१ देखि लागू भएका छन् ।

रिलायन्स इन्डस्ट्रीज, भारत पेट्रोलियम, हिन्दुस्तान पेट्रोलियम, मंगलोर रिफाइनरी, र एचपीसीएल-मित्तल इनर्जीले डिसेम्बरको लागि रूससँग कुनै पनि नयाँ अर्डर नदिएको बताइएको छ । यी कम्पनीहरूले यस वर्ष अहिलेसम्म भारतको रूसी आयातको दुई तिहाइ हिस्सा ओगटेका छन् । डिसेम्बरको लागि रूसी तेल खरिद गर्ने इन्डियन आयल कर्पोरेशन (आईओसी) र नायरा इनर्जी मात्र रहेका छन् । इण्डियन आयलले गैर-प्रतिबन्धित आपूर्तिकर्ताहरूबाट रुसी तेल खरिद गरिरहेको छ भने नायरा, जसमा रूसको रोसनेफ्टको ४९ प्रतिशत हिस्सा छ, उ पूर्ण रूपमा रूसी आपूर्तिमा निर्भर छ ।

यस वर्ष भारतको तेल आपूर्तिको लगभग ३६ प्रतिशत रूसले ओगटेको छ, तर रिफाइनरीहरूले अब विकल्पहरू खोजिरहेका छन् । इण्डियन आयलले जनवरी-मार्चको लागि अमेरिका र अन्य क्षेत्रहरूबाट २ करोड ४० लाख ब्यारेल तेल खरिद गर्न बोली लगाएको छ । हिन्दुस्तान पेट्रोलियमले जनवरीको लागि अमेरिका र पश्चिम एसियाबाट ४० लाख ब्यारेल तेल खरिद गरेको छ । त्यस्तै साउदी अरामको र अबु धाबी राष्ट्रिय तेल कम्पनीले भारतीय अधिकारीहरूसँग भेटेर निरन्तर आपूर्तिको आश्वासन दिएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिका नयाँ व्यापार सम्झौतालाई अन्तिम रूप दिने नजिक रहेको दाबि गरेका छन् । भारतमा कर घटाउने प्रश्नमा, ट्रम्पले रूसी तेल खरिद गरेको कारण भारतमा उच्च कर लगाइएको थियो, तर अब भारतले रूसी तेलको खरिदलाई उल्लेखनीय रूपमा घटाएको छ, त्यसैले कर घटाउने ट्रम्पको भनाई छ ।

ट्रम्पले अहिलेसम्म भारतमाथि कुल ५० प्रतिशत कर लगाएका छन् । यसमा २५ प्रतिशत पारस्परिक कर र रूसबाट तेल खरिद गरेबापत २५ प्रतिशत जरिवाना समावेश छ । पारस्परिक कर अगस्ट ७ मा लागू भएको थियो भने जरिवाना अगस्ट २७ देखि लागू भएको थियो । अमेरिकाले रूसलाई दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध लगाएको बताउदै आएको छ । 

images
प्रकाशित मिति :कार्तिक २६, २०८२ बुधवार - ०९:२६:५१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology