Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

जोखिमपूर्ण बन्दै बेंसीसहर–चामे सडक यात्रा

जोखिमपूर्ण बन्दै बेंसीसहर–चामे सडक यात्रा

images

इच्छाकामना न्युज

२२, आषाढ २०८२
जोखिमपूर्ण बन्दै बेंसीसहर–चामे सडक यात्रा
images

बेंसीसहर । चट्टान खोपेर बनाइएको साँघुरा सडक । माथि हेर्दा आकाशै छोएझैं लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर । अनि तल मसिनो धागो जस्तै देखिने नालबेली बगेको निलो मर्स्याङ्दी नदी । उतिबेला अहिले जस्तो डोजर र एक्साभेटर चलाइएको होइन, घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । मर्स्याङ्दी नदीको किनारैकिनार बेँसीसहरबाट हिमालपारिको मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण बेँसीसहर–चामे सडक ।

सोही सडकमा दैनिक सयौं यात्रु जोखिम मोल्दै यात्रा गर्न बाध्य छन् । साँघुरो कच्ची सडक, सधैँ जोखिम मोल्नुपर्ने अवस्था छ । त्यसमा पनि अहिले ठाउँठाउँमा खसेको पहिरोका कारण जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्री भगवान्को नाम जप्दै यात्रा गर्न बाध्य छन् । यस्तो जोखिमपूर्ण बाटोमा दर्जनाै‌ सवारीसाधन लमजुङ–मनाङ आवतजावत गर्दछन् । हिमालपारिको जिल्ला मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै बेँसीसहर–चामे सडक हो । भिरैभिर र मर्स्याङ्दी नदीमाथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा यात्री बेंसीसहर–चामे सडकमा त्रसित हुँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

बेँसीसहरबाट खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे हुँदै मनाङको तालबजार, तिमाङ हुँदै मनाङ सदरमुकाम चामेबजारसम्म ६५ किलोमिटर दूरी छ । यस सडकमा यात्रा जोखिमपूर्ण रहेको यात्रीहरू बताउँछन् । अधिकांश सडकखण्ड चट्टाने पहरो काटेर बनाइएकाले जोखिमपूर्ण छ भने अग्लो भिर, स–साना मोड, ग्रेडिङ नमिलेका र साँघुरो भएकाले थप जोखिमपूर्ण भएको स्थानीय सोमबहादुर गुरुङले बताए ।

जीप चालक सोमराज मगरातीले भने, ‘विभिन्न ठाउँमा बेलाबेलामा पहिरो गइरहन्छ, पहिलाभन्दा पनि बाटो बिग्रँदै गएको छ, कुन बेला के हुन्छ डर रहन्छ ।’ अर्का चालक रामबहादुर तामाङ भन्छन्, ‘सडकबाट खसिहाल्यो भने सिधै मर्स्याङ्दीमा पुग्ने भएकाले बाँच्ने कुनै सम्भावना छैन ।’ यात्राका क्रममा अधिकांश यात्री सडक र भिरको अवस्था देखेर डराउँछन् । कहिले त जीप गुड्दागुड्दै पनि माथिबाट ढुङ्गा र पहिरो खस्ने गर्छ, अझ बढी बर्खायाममा जोखिम हुने गरेको उनको भनाइ छ ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार बेँँसीसहर–चामे सडकको यात्रा जोखिमपूर्ण छ । सरकारले आवश्कतानुसार पर्याप्त बजेट दिन नसक्दा सडक गुणस्तरीय नहुँदा जोखिम बनिरहेको छ । चालु आर्थिक वर्षमा रु ३६ करोड बजेट प्राप्त भएको थियो । आगामी आवका लागि यस सडकका लागि रु ४० करोड प्रारम्भिक बजेट सरकारले उपलब्ध गराउन लागेको छ ।

विभिन्न ठाउँमा दैनिकजसो पहिरोले सडक अवरुद्ध बनाउँदा मनाङवासी चिन्तित छन् । लामो समयसम्म पहिराले यो सडक अवरुद्ध बनाउँदा मनाङबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जान हेलिकप्टर प्रयोग गर्नुको विकल्प छैन । जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो ।

विभिन्न कारणले २०५७ सालदेखि नेपाली सेनाले उक्त सडक निर्माणको जिम्मेवारी पायो । बाँदर लड्ला जस्तो जोखिमपूर्ण भिरमा ज्यानको बाजी लगाएर सेनाले उक्त सडक निमार्ण गर्न सफल भयो भने बाटो निर्माणका क्रममा केहीको मृत्यु समेत हुन पुग्यो । यसरी सेनाले निर्माण गरेको सडकबाट मनाङवासीको सपना पूरा भए पनि सडक स्तरोन्नति हुन नसक्दा भने मनाङवासी निराश छन् । उनीहरू मात्र नभई लमजुङवासी, यात्री तथा पर्यटक समेत सडक स्तरोन्नति नहुँदा चिन्तित छन् । सबैको एउटै चाहना छ, सडक गुणस्तरीय होस् र दुर्घटनाको जोखिम न्यून होस् ।

बेँसीसहरस्थित तत्कालीन नेपाली सेना कार्यगणले २०६९ सालमा सडक निर्माणकार्य सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो । गणका इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको नेतृत्वमा सडक निर्माण गरी हस्तान्तरण गरिएको हो । बेँसीसहर–चामे सडक पार गर्न झण्डै ६ घण्टा लाग्छ । बर्खालागेसँगै यो सडकमा पटक–पटक पहिरो खस्ने र सडक अवरुद्ध हुँदा यात्रीहरू हैरानीमा छन् ।

images
प्रकाशित मिति :आषाढ २२, २०८२ आइतवार - ०८:१०:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology