आँबुखैरेनी गाउँपालिका–३ स्थित पानीघट्टा–आबुगाउँ सडक पछिल्लो समय स्थानीयवासीहरूका लागि मर्निङ वाक तथा इभिनिङ वाक गर्ने लोकप्रिय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। उक्त सडकमा बिहान तथा बेलुका पैदल हिँड्ने आमाबुबा,दाजुभाइ तथा दिदीबहिनीहरूको सहजता,सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै आँबुखैरेनी गाउँपालिकाले सडकका विभिन्न स्थानमा सोलार बत्ती जडान गर्ने भएको छ।
सोलार बत्ती जडानका लागि आवश्यक स्थान पहिचान तथा सम्भाव्यता अध्ययन गर्न आगामी एक–दुई दिनभित्रै स्थलगत निरीक्षण (फिल्ड भिजिट) गरिने जानकारी आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडा सदस्य मनोजकुमार श्रेष्ठले दिनुभएको छ। यस सकारात्मक निर्णय तथा जनसुरक्षालाई प्राथमिकता दिँदै गरिएको पहलका लागि वडा सदस्य श्रेष्ठले आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष श्री सुक्र चुमानज्यूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।