जलविरे । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ का किसानहरूलाई आत्मनिर्भर कृषि प्रणाली विकासको उद्देश्यले प्रजनन् योग्य माउ बाख्रा (बीऊ पाठी) र ब्याड बोका वितरण गरिएको छ।
गाउँपालिका र पशु सेवा कार्यालय भरतपुरको साझेदारीमा सञ्चालित “एक वडा, एक कृषि उत्पादन” कार्यक्रमअन्तर्गत इच्छाकामना–६ का विभिन्न बाख्रापालक किसानलाई यो सहयोग प्रदान गरिएको हो।
वडा अध्यक्ष लक्ष्मण चेपाङका अनुसार वडा नम्बर ६ अन्तर्गत पर्ने तुन्तेस, इनारपानी, बाहुनडाँडा र आधामारा क्षेत्रका ४४ घरधुरी किसानलाई प्रति किसान दुईवटा बीऊ पाठी र चार वटा किसान समूहलाई एक–एक वटा ब्याड बोका वितरण गरिएको छ।
कार्यक्रममा गाउँपालिका पशु सेवा कार्यालय भरतपुरका प्रमुख सुशिल केसी प्रमुख अतिथि रहनुभएको थियो। गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाललगायत अन्य जनप्रतिनिधि र अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
गाउँपालिका अध्यक्ष गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीयस्तरमा आत्मनिर्भर कृषि प्रणाली विकास गर्ने उद्देश्यले “एक वडा, एक उत्पादन” अवधारणाअनुसार कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता दिइएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले कृषकको आय वृद्धि गर्नुका साथै आत्मनिर्भरता तर्फको यात्रालाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।