‘‘आज साइत नै परेन’’ सानोमा म मेरी आमाको सारीको छेउ समाउँदै पानी भर्न सँगै जाँदा ठूलाबडा भनाउँदाले भन्ने गरेका वाक्यांश यो।
बुझ्दिनथे म के भनेको बभनेर। बिस्तारै पछि थाहा भयो, हामी कथित तल्लो जातिका अरे, अछुत अरे। हलचल भयो मेरो मन, सबै उस्तै देख्छु म जस्तै तर उनीहरुलाई कसैले केही भन्दैनन्।
एकदिन म स्कुल जाँदै थिएँ, स्कुल जाने बाटोको छेउमा रहेको पसलमा थुप्रिएका केही जमातले भन्दै थियो ‘कामीको छोरो भएपनि मोरो कति राम्रो, लोभलाग्दो।’ मन अमिलो भयो, कुँदिएर आयो, आज मेरो रुपलाई जातसँग जोडियो। ‘‘के कामीको छोरो राम्रो हुनु, सुन्दर हुनु अभिषाप हो?’’
म पढाईमा अब्बल थिएँ। सायद त्यसैले होला, मेरा थुप्रै मिल्ने साथीहरु पनि थिए। अझ भनौं विशेष केटी साथीहरु। पढ्न, सिक्न झुम्मिन्थे। विद्यालयको पढाई सकियो र कलेज पढ्न जानुपर्ने भयो।
आमाले दाउरा बेचेर, मेलापात गरेर जोगाउनु भएको त्यस्तै ६, ७ हजार होला लिएर म शहर पसें, सुन्दर भविष्यको खोजीमा। आमाले राम्रो पढेस्, मन नडुलाएस्, तँ नै मेरो बुढेसकालको सहारा भन मनमा गाँठो परेर आयो, गला अवरुद्ध भयो, नचाहँदा नचाहँदै झरेको अश्रु बुदँले आमाको चरणलाई स्पर्श ग¥यो र म बिदा लिदै ओझेल परें।
शहर पसेपछि मैले पढ्न बस्ने डेरा खोज्नुपर्ने भयो। खोज्दै जाँदा एउटा खाट, एउटा टेबुल भएको नजिकै धारा, चर्पी भएको कोठा पाएँ, भाडा सस्तै थियो। जम्मा दुई हजार मेरो लागि उपयुक्त, कलेज पनि नजिकै। भोलिपल्ट कलेज जान निस्कँदै थिएँ, त्यही घरबाट एउटी नवयौवना, सुन्दर युवती पनि कलेज ड्रेसमा निस्कि। संयोग, हामी एउटै कलेजमा पढ्ने रहेछौं, उनी त्यही घरकी घरबेटीको छोरी रहिछिन्।
हामीसँगै निस्कियौं। बाटोमा दुवै चुपचाप। पहिलो भेट कसरी बोल्नु? मेरो मन थीर भयो साथै चञ्चल। उनी शान्त समुद्रझैं। मौनतालाई चिर्दै उनी बोलिन् ‘‘तपाईको घर, अनि नाम नि ?’’
‘‘ए घर, पहाडमा हो, गाउँको मान्छे म, नाम त सबैले रुपक भन्छन् मलाई।’’ हाँसेरै भनिदिएँ। म धेरै बोल्दिन तर बोल्दा हाँस्ने मेरो बानी थियो।
म ‘पारु’ मैले नसोधेनि आफै परिचय दिई उसले सधैको आउजाउमा नजिकियौं हामी। म अत्यन्त कम बोल्थें, ऊ बोलिरहनुपथ्र्यो। कलेजको त्रैमासिक परीक्षामा कलेज टप भएपछि ऊ झन् नजिकिन थाली र नोट सार्ने बहानाले दैनिक मेरो कोठामा आउन थाली। सहरमा पढेकी, बढेकी, धनी सभ्रान्त परिवार, नेवार परिवारको एकलौटी छोरी। बिस्तारै म प्रति आकर्षित हुन थाली।
‘‘अग्नी साक्षी राखेर सात फेरा लगाएर खाएको कसम त तोडिन्छ भने टाउको छोएर खाएको कसमको के कुरा गर्छौ ? म कामी हुँ, अब टाढा होऊ, तिम्रा बाबु आमाले थाहा पाए।’’
एकदिन उसको बाबाआमा उसलाई घरमै छाडेर मामाघर गए। सायद सधै आमाले नै मीठो मीठो बनाएर खुवाउँथिन्, उसले केही गर्नुपर्दैनथ्यो घरमा। त्यो दिन एक्ली थिई र मलाई भनी, ‘‘रुपक ! आज मलाई नि खाना बनाउनु ल तिम्रोमा नै ।’’
‘‘हुन्छ’’ यति भनेर खाना बनाउन लागे, तयार भएपछि बोलाएँ। ‘पारु’ खाना खान आऊ।
उ बोलिरहनुपथ्र्यो। तर खाना खाने बेला मौन देखिई। म छक्क परें। अन्ततः उसले मौनतालाई चिर्दै बोली।
‘‘रुपक’’
उम्, मैले यति भनें।
‘‘एउटा कुरा भनूं?’’
भनन् के हो? प्रतिप्रश्न गरें।
सहजै उसले भनी, ‘‘मलाई तिमी राम्रो लाग्छ, तिमीलाई म मन पराउछु ।’’
मेरो मथिंगल हल्लियो । कसैले शान्त पोखरीमा ढुङ्गा हाने झै तरङ्ग फैलियो मनभरि । अवाक् भएँ, बोली फुटेन । अन्ततः सम्हालिदै भने ।
‘‘पारु’’ यो सम्भव छैन ।
‘‘किन’’ ? उसले सोधी ।
हाम्रो जात मिल्दैन, खानदान मिल्दैन । तिम्रो बाबु आमालाई यो स्वीकार्य हुदैन ।
उसले भनी ‘‘तिमी रुपक घिमिरे, अनि घिमिरे त बाहुन हो नि, हैन र ?’’
मैले भने, होइन म कामी हुँ, खोई मेरो जन्मदर्तामा घिमिरे छ, सायद कामी भित्रको घिमिरे म।
उ पत्याउन तयार थिइन । म कलेजमा पढाईमा मात्र अब्बल ओइन, सुन्दरताको पनि धनी थिएँ। युवतीहरु नजिकिन, बोल्न मरिहत्ते गर्दथे, तर म आफै टाढा हुन्थे, तगारो थियो गरिबी र मेरो तथाकथित जात । यो राती खाना खाएर ऊ रुञ्चे अनुहार लिएर आफ्नो कोठामा गई ।
भोलिपल्ट कलेज सँगसँगै गयौं । खोई किन हो आज बाटोभरि सन्नाटा छायो, शुन्यताको हुरी चल्यो । हाँस्नुपर्ने, ठट्टा गर्नुपर्ने पारु मौन मौन कलेज पुगी । कक्षा नगई उसले मलाई कलेजको क्यान्टिनमा लगी सुस्तरी बोली, ‘‘रुपक !तिमी किन टाढिन खोज्छौ, तिमी यति राम्रो छौं, सुन्दर छौ कि आफुलाई कामी भनेर किन मलाई छल्दैछौं । तिमी बाहुन हौं, मलाई स्वाकार्य छ ।’’ एकोहोरो बोलिरही।
मैले ‘आफु कामी भएको, जात नमिल्ने र उसको परिवारले थाहा पाए बेइज्जतीका साथ गलहत्याएर निकाल्न सक्ने कुरा बताएँ। उ मान्न तयार भइन। मेरो रुप, मेरो सुन्दरता आज मेरो लागि अभिषाप भया।
ऊ भन्थी, ‘‘रुपक ! मलाई छोएर जाने हरेक बतासले सुस्तरी कानमा तिम्रै नाम सुनाएर जान्छ’’ म तिमी बिना बाँच्न सक्दिन ।
बिन्ति बिसाएँ मैले, ‘‘पारु’’ मेरो रुप मेरो लागि अभिषाप भयो, मलाई छोड, मबाट टाढा होऊ, एकसे एक पाउँछ्यौ, बेकारमा किन दुःख बिसाउँछौ, समाजबाट किन अपहेलित हुन खोज्छौ ?’’
रुदै बोली, ‘‘रुपक ! मुस्कुराउन पो अनेक बहाना चाहिन्छ त, रुनलाई त केही शब्दहरु नै प्रशस्त हुन्छन्।’’
म फादमा परे, ‘‘चियाको अन्तिम घुट्को जस्तै भयो मलाई, न त सकाउन मन लाग्ने, न छोड्न नै’’ जति भन्दा पनि मान्न तयार नभएकी ऊ सोच्दी हो, मेरो कोमल भावनामा मस्त खेल्दैछ भनेर, नजानिदो पाराले मलाई अपराधी बनाएर।
मेरो टाउकोमा हात राखेर कसम खाँदै थिई म तिमी बिना अधूरो हुन्छु भन्दै । मैले भनिदिएँ, ‘‘अग्नी साक्षी राखेर सात फेरा लगाएर खाएको कसम त तोडिन्छ भने टाउको छोएर खाएको कसमको के कुरा गर्छौ ? म कामी हुँ, अब टाढा होऊ, तिम्रा बाबु आमाले थाहा पाए।
भनी, ‘‘रुपक ! तिमीलाई आफ्नो बनाउन भनि प्रेमको नक्सा कोर्दै थिएँ, कुनै एउटा चुच्चोमा पुग्दा त कलमको टुप्पो नै भाँचियो ।’’
उनको बाबुआमा फर्किए घर । छोरीको बेहाल देखे । कुरा बुझ्न लागे । सायद पारुको मिल्ने साथी आस्थाले सबै भनिदिई होली । म कलेजबाट आउँदा मरो कोठाको ढोका खुल्लै थियो । किताबकापी भूई भरि छरिएका थिए। कपडा भएको झोला मझेरीमा फालिएको थियो ।
उनको बुवा रिसले चिच्याए, ‘‘ निस्कीहाल तँ कामीको छोरो, एकछिन नबस्, मेरो छोरीलाई ताक्ने, सम्पत्तिमा ¥याल चुहाउने’’, नानाथरी गाली दिन थाले।
सुन्दर भविष्य बनाउने, आमाको सपना पूरा गर्न मेरा रहरहरु सिसा झै फुटे । मलाई हारेको हेर्नेहरु रमिता हेर्न थुप्रिए । मेरो स्वाभिमानमा चोट लाग्यो। सबैतिर अन्धकार छायो । मेरो अपमान र बेइज्जतिको हल्ला गाउँसम्म पुगेछ । यो सुनेर सहन नसकी रोगी आमाले प्राण त्यागेको सुनें ।
यो बज्रपात सहन सकिनँ मैले, संसारमा एक्लो भएँ म । अनि आफ्नै रुपलाई, सुन्दरतालाई धारे हात लगाउँदै कठोर निर्णयमा पुगें म ।
सानो कागजको टुक्रामा लेखेँ र नजिकैको पोखरीमा हाम फालेर नश्वर शरीर त्याग्ने निर्णय गरें । भोलिपल्ट मानिसहरु जम्मा भए, पारुको हातमा एउटाँ कागज प¥यों ।
‘‘पारु’’
सम्झना !
राम्री छौं, सुशिल छौं, धनी छौं । मलाई रुपले दिए पनि जातले साथ दिएन समाजमा । तिम्रो साथ, सहयोग र माया मेरो मनको संग्राहालयमा सुरक्षित रहनेछ । मान्छेहरुले तिमी बसेको भू–भाग अवलोकन गर्न आउनेछन् । अनि तिमीले पनि थाहा पाउनेछौं, यो मनमा तिमी बाहेक कसैले बस्न पाएको छैन भनेर ।’’ मायाको मैदानमा चुनाव गरेको भए मैले जित्थे होला सायद, चुनाव गर्ने कुरै आएन, सर्वसम्मतले मैले तिमीलाई जिताइदिएँ ।’’
अलविदा पारु !
–रुपक
भोलिपल्ट तैरिरहेको मेरो निर्जीव लासलाई हेरेर जान्नेहरु भन्दै थिए । आज रुपको हत्या भयो, सुन्दरताको अवसान भयो । सुन्दरता अभिषाप सिद्ध भयो ।
(माफ गर्नुहोला कथामा जात माथि उपेक्षा गर्न खोजिएको होइन, समाज रुपान्तरणमा समानताको खातिर प्रयास गरिएको हो । )