Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय चितवन

दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय चितवन

images

रासस

२०, चैत्र २०८१
दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय चितवन
images

चितवन । डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि एक लाख ९३ हजार ४१० बिरुवा हुर्काएको छ । कार्यालय परिसरमा रहेको नर्सरीमा ती बिरुवा उत्पादन गरेर हुर्काइएको हो ।

कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वन पैदावार आपूर्ति समिति र डिभिजन वन कार्यालयबाट ती बिरुवा हुर्काइएको हो । त्यसमा जडीबुटी बिरुवा, डाले घाँस, फलफूल तथा बहुउपयोगी बिरुवा, बहुवर्षीय बिरुवा रहेका छन् ।

आपूर्ति समितिबाट एक लाख २० हजार, डिभिजन वन कार्यालयका तर्फबाट ७३ हजार ४१० बिरुवा उत्पादन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार डिभिजन वन कार्यालयमार्फत ३० हजार बिरुवा जडीबुटीका, १५ हजार बिरुवा डालेघाँस, फलफूल तथा बहुउपयोगी र २८ हजार ४१० बिरुवा बहुवर्षीय उत्पादन गरी हुर्काइएको छ । आपूर्ति समितिबाट उत्पादित बिरुवाका जात छुट्याउने काम भइरहेको छ ।

यहाँबाट डालेघाँस, ठूला रुखजन्य बिरुवा र बहुउपयोगी बिरुवा उत्पादन हुँदै आएको छ । बहुवर्षीय बिरुवा सडक क्षेत्रमा लगाउन उपयोगी हुने गर्दछ । सडकलाई हराभरा र सौन्दर्य राख्नका लागि यी बिरुवा प्रयोग हुने गरेको छ । उहाँले भन्नुभयो, “बहुर्षीय बिरुवाले वृक्षरोपणलाई सफल बनाउन सहयोग पुग्छ ।”

अघिल्ला वर्षका बिरुवा कम भएकाले यस वर्ष धेरै बिरुवा उत्पादन गर्न लागिएको पौडेलले बताउनुभयो । गत वर्ष कार्यालयले ९२ हजार बिरुवा मात्र उत्पादन गरेको थियो । समितिबाट ८० हजार र डिभिजन वन कार्यालयलबाट १२ हजार बिरुवा उत्पादन गरिएको थियो । उहाँले भन्नुभयो, “असार १५ गतेदेखि वितरण गर्ने गरी बिरुवा उत्पादनको काम भइरहेको छ ।”

कार्यालयले अहिले २० भन्दा बढी प्रजातिका बिरुवा उत्पादन गरिरहेको छ । त्यसमा हर्रो, बर्रो, अमला, निम, जामुन, श्रीखण्ड, बेल, तेजपत्ता, चाप, निबुवा, अम्बा, वडहर, टाँकी, कोइरालालगायतका बिरुवा रहेको पौडेलले बताउनुभयो ।

images
प्रकाशित मिति :चैत्र २०, २०८१ बिहिवार - ०८:३१:०३ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology