Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

छ्याँजलो–कविता

छ्याँजलो–कविता

माया कोन्मे गुरुङ

१२, पौष २०८१
छ्याँजलो–कविता
images

श्रीमान्, म यो कठघरामा उभिन आउनुअघि
सोधेकी थिएँ खेगी, चोँगी र पैंडीहरुलाई
कि म जित्न सकूँ मेरो लुटिएको आत्मसम्मानको मुद्दा 
जुटाउन सकूँ मेरो पराजित स्वाभिमानको प्रमाण 
जसमा राज्यले तथाकथितरूपमा तोकिएको 
चार जात छत्तीस वर्णभित्रकै एक गुरूङ म 

images
images

यो देश एकीकरण हुँदा कोप्रे, तौँधू र छैँडू बोकेर 
नाचेकी थिएँ अन्नपूर्णको शिरैशिरदेखि भुटानसम्म  

श्रीमान् 
आज सीमान्तकृत जीवन बाँच्दै गर्दा
मेरो स्वाभिमानको शिर निहुरिएको छ 
शिर उठनिको एक डबका सगुनसँग 
मेरो न्यायलाइ तुलना नगरिदिनोस् 
म  सगुन लिन आएकी हैन 
म त्यो आत्मसम्मानको उज्यालो ठेली लिन आएकी हुँ
जसलाई आफ्नै देशको मुटुभित्र पनि कुनै ठाउँ छैन 
कि मलाई दोस्रो दर्जा दिइयोस् 
हैन भने समान अवसरको भागिदार हुन पाऊँ मैले पनि 

श्रीमान् मैले त नमस्कार भन्न पनि यही 
अदालत आएर सिकेकी हुँ 
आमा, आप्पाले त मलाई छ्याँजलो सिकाउनु भएथ्यो  

मैले मेरो अधिकारको शिर उचाल्दा 
मैले मेरो पहिचानको अनुहार खोज्दा 
मैले मेरो भाषाको प्राण जोगाउँदा 
मलाई सरकारले प्रतिवादी बनाएर एक्लो उभ्याउँछ भने 
म मेरो कसुर कबुल गर्छु श्रीमान् 
बस यस्तो फैसला मर्जी होस् कि 
मेरा दिदीबहिनीहरुले नेपालको झण्डा बोक्दा 
नआऊन् तिलिङ्गेहरुले समाउन  
र, हामीहरु कठघरासम्म ज्युँदो आत्मा बनेर 

अलाप गर्दै आउन नपरोस् 
न्यायको भिख माग्न नपरोस्  ।।। 

images
प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - ०९:३७:५० बजे

माया कोन्मे गुरुङ

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology