Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विपद्का कारण बागमती प्रदेशमा धान उत्पादन घट्ने

विपद्का कारण बागमती प्रदेशमा धान उत्पादन घट्ने

इच्छाकामना न्युज

२८, कार्तिक २०८१
विपद्का कारण बागमती प्रदेशमा धान उत्पादन घट्ने
images

मकवानपुर । बागमती प्रदेशका कृषकहरू अहिले धान भित्र्याउने चटारोमा छन् । चाडपर्व सकिएसँगै किसानहरूलाई अहिले धान भित्र्याउन भ्याइ–नभ्याइ छ ।

images
images

बागमती प्रदेश अन्तर्गत चितवन, मकवानपुुर लगायतका जिल्लामा बढी मात्रामा धान खेती गरिन्छ । तुलनात्मक रूपमा प्रदेशमा धान उत्पादनमा केही वृद्धि भए पनि समग्र उत्पादनमा भने गिरावट आउने अनुमान गरिएको छ ।

विपद्का कारण यस वर्ष बागमतीमा धान उत्पादन घट्ने अनुमान गरिएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता सुजन कँडेलले यस वर्ष धान उत्पादन बढ्ने सुरुवाती अनुमान रहे पनि बाढी पहिरोले गर्दा उत्पादन घट्न सक्ने बताए । बाढी पहिरोले प्रदेशका विभिन्न जिल्लामा धान खेतीमा ठुलो क्षति पुर्‍याएको उनको भनाइ छ ।

‘बागमती प्रदेशका १३ जिल्लाको एक लाख ११ हजार ३५१ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । बाढी पहिरोका कारण ५ हजार ५०३ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । जसले गर्दा उत्पादन घट्ने अनुमान गरिएको छ,’ कँडेलले भने ।

विपद्का कारण ५ हजार ५०३ हेक्टर धानखेतीमा क्षति

प्रवक्ता कँडेलले प्रदेशको मकवानपुर, नुवाकोट, ललितपुर, काभ्रे, रामेछाप, सिन्धुली, धादिङ लगायतका जिल्लामा बाढी पहिरोले सबैभन्दा बढी धान बालीमा क्षति पुर्‍याएको जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी मकवानपुरमा २ हजार ९०२.८३ हेक्टरमा लगाइएको धान खेतीमा क्षति पुगेको छ । यस्तै सिन्धुलीमा ८५५, काभ्रेमा ६०२.१, ललितपुरमा २११.५, नुवाकोटमा १९८.२२५, धादिङमा १८४ र रामेछापमा १५७.५५ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा बाढी पहिरोले क्षति पुर्‍याएको छ ।

प्रवक्ता कँडेलका अनुसार यस वर्ष मकवानपुरको धान रोपाइँ हुने कुल २४ हजार २४७ हेक्टर क्षेत्रफलमा शत प्रतिशत धान रोपाइँ भएको थियो । सिन्धुलीमा ११ हजार ८८, काभ्रेमा ९ हजार ९४७, ललितपुरमा ४ हजार १६३, नुवाकोटमा ११ हजार १०९, धादिङमा ११ हजार ३१२ र रामेछापमा ७ हजार ८५९ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो ।

प्रदेशका सबैभन्दा बढी धान खेती भएको चितवनमा भने यस वर्ष बाढी पहिरोले कम क्षति पुर्‍याएको छ । चितवनमा २४ हजार २४७ हेक्टर क्षेत्रफलमा धानखेती भएकोमा ४५ हेक्टर क्षेत्रफलको धानखेतीमा क्षति पुगेको छ । ३ हजार ७१९ हेक्टरमा धानखेती भएको भक्तपुरमा ८५ हेक्टर, १ हजार ४९ हेक्टर धानखेती भएको रसुवामा ६.५ र २ हजार ८१४ हेक्टर क्षेत्रफलमा धानखेती भएको दोलखामा ४ हेक्टर क्षेत्रफलको धानखेतीमा क्षति पुगेको छ ।

यस्तै ८ हजार ५७३ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको सिन्धुपाल्चोक जिल्लामा भने बाढी पहिरोले क्षति नपुर्‍याएको मन्त्रालयका प्रवक्ता कँडेलले जानकारी दिए ।

यान्त्रिकीकरण बढ्दो

बागमतीका कृषकहरूमा यान्त्रिकीकरण तर्फ आकर्षण बढ्दो देखिएको छ । धान भित्र्याउने क्रम चलिरहेका बखत बागमतीका अधिकांश कृषकहरू यन्त्र–उपकरणको प्रयोग गरेर काम गरिरहेका छन् ।

कृषकहरू धान काट्नदेखि चुट्न तथा उत्पादित धानलाई भण्डारणका लागि पनि यन्त्र/उपकरणको प्रयोग गर्दै आएका छन् । कृषकहरू धान काट्न रिपर (हाते मेसिन), चुट्न तथा प्याकिङका लागि थ्रेसर र ढुवानीका लागि ट्याक्टरको प्रयोग गर्ने गरेका छन् ।

विगतमा मजदुर खोजेर धान काट्ने तथा चुट्ने काम गर्ने कृषकहरू अहिले  धान काट्ने मेसिन (रिपर)को सहयोगमा बिघौँ क्षेत्रफलमा लगाएको धान काट्छन् । हप्तौँ लगाएर काट्नु तथा चुट्नु पर्ने धान अहिले केही घण्टामै यन्त्रको मद्दतमा भित्र्याउन थालिएको छ ।

पाकेर पहेँलै भएको धान काट्न मेसिनको प्रयोगले छिटो र सजिलो भएको कृषकहरूको भनाइ छ ।

हेटौंडा–१७, रानीखोलाका सुशील दाहाल तिहार अघि काटेको धान थ्रेसर लगाएर भित्र्याउन व्यस्त छन् । उनले १३ कट्ठामा लगाएको धान काटेर निन लगाएको केही दिन भएको बताए । विगतमा धान काट्न र भित्र्याउन खेतालाको प्रयोग गर्दा भित्र्याउन मात्र ३/४ दिन लाग्ने गरेको उनको भनाइ छ ।

अहिले मेसिनको प्रयोगबाट एकै दिनमा धान सबै काम पूरा हुने गरेको दाहालले जानकारी दिए । विगतमा धान भित्र्याउन खेताला नहुँदा तराईबाट झिकाउनु पर्ने बाध्यता रहँदै आएकोमा मेसिनको प्रयोगले सो अवस्था नरहेको उनको भनाइ छ ।

मकवानपुरको फाँट गुरौ खोलामा मेसिनले धान काटिरहेका अर्का किसान विकास श्रेष्ठले मेसिनको प्रयोगले काम गर्न निकै सहज भएको बताए । नयाँ प्रविधिको प्रयोगले काम छिटो र सहज बनाएको उनी बताउँछन् ।

मेसिनको प्रयोगले कृषकहरूको खर्चभार पनि कम गरेको श्रेष्ठको भनाइ छ । खेताला लगाएर काम गर्दा ज्याला, खाजा खर्च बढी हुनुको साथै समय पनि बढी लाग्ने गरेको उनले बताए । मेसिनको प्रयोगले कम जनशक्तिमा धेरै काम गर्न र खाजा खर्च जोगाउन सकिएको उनले प्रस्ट पारे । रातोपाटीबाट

images
प्रकाशित मिति :कार्तिक २८, २०८१ बुधवार - ०९:२४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology