काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले बाढीपीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । भाटभटेनी सुपरमार्केट्सका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत बाढी पीडितको उद्धार र राहतका लागि उक्त रकम प्रदान गरेका हुन् । उनले पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न प्रधानमन्त्री ओलीलाई रकम प्रदान गरे ।
बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर २ सय भन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि केही व्यक्ति बेपत्ता छन । अर्बौँ रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको गुरुङको प्रतिक्रिया छ । गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गर्नुभएको छ ।
उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ । त्यस्तै जाजरकोटमा गएको भूकम्प, कोभिडलगायत विपत्तिमा परेकालाई सहयोग गरेका थिए । २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए । ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका हुन् । गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएसको अध्ययन पनि गराएका छन् ।