सिमलढाप । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ लाई पुरानो विरासत फर्काउदै एमालेमय वडा बनाउने गरी लागि पर्न नेकपा एमालेका नेताहरुले स्थानीय कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शनिबार एमाले इच्छाकामना ७ को वडाकमिटिको दोस्रो अधिवेशनलाई सम्बोन्धन गर्ने अधिकांश जिल्ला, प्रदेश तथा केन्द्र तहका नेताले आफ्ना कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।
वडा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै नेकपा एमाले पोलिटव्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञावलीले नेकपा एमालेले आगामी निर्वाचन कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताए ।

‘एमाले जनताले माया गरेको पार्टी हो, यसैले कसैको वैशाखी टेकेर चुनाव लड्नुपर्ने आवश्यकता छैन’ –उनले भने ‘८४ को चुनावमा अर्काको वैशाखी टेकेर काधमा टेक्ने अनि टाउकोमा हान्नेहरुको हैसियत देखाइदिनेछौं ।’
साथै उनले तात्कालिन दाहाखानी गाविसमा २०५४ सालमा एमालेले निर्विरोध सबै जनप्रतिनिधि निर्वाचित भएको बारे स्मरण गर्दै त्यो पुरानो विरासत फर्काउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा बोल्दै अर्का नेता एमालेका केन्द्रीय सदस्य एवं चितवन क्षेत्र नं. २ का इन्चार्ज कृष्णभक्त पोखरेलले आफु निर्वाचित सांसद हुदा पनि र पराजित हुदा पनि सधै यस क्षेत्रको जनताको सुखदुःखको साथमा रहेको बताए ।

‘पछिल्लो निर्वाचनमा केही टप्परटुय्याहरुले जनता झुक्याउन सफल भए र निर्वाचित भएर गए, अहिले वेपत्ता छन्, तर म पराजित भए पनि तपाईहरुको सुखदुःखको साथमा सधै छु, घर गाउँ आएकै छु’ –उनले भने । यस्तै उनले भोर्ले–चौकीडाडा–उपरदाङगढी सडकलाई बहुवर्षिय योजना अन्तर्गत आफु सांसद हुदा २५ करोड योजना पारेको जानकारी दिदै पहिलो वर्ष ४ करोड निकासा गरियो तर अहिलेका सांसदले त्यो रकम निकासा गरेर ल्याउन नसक्दा उक्त सडक निर्माणमा ढिलाई भैरहेको बताए ।
‘मैले पहिलो वर्ष ४ करोड पारे अहिले अरु नै सांसद छन् तर पछिल्लो दुई आर्थिक वर्षमा जम्मा २ करोड ६५ लाख मात्र निकासा भो उहाँले गर्नै सक्नुभएन’ उनले भने ।
यसैगरी वडा नं. ७ को समृद्ध बनाउन सधैं एमालेको नेताहरु लागिपरेको नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य, इच्छाकामना इन्चार्ज एवं बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले बताए ।

तितेपाती साउनमा भदौमा हर्लक्क बढ्ने र त्यसपछि सर्लक्कै हराएर जाने स्मरण गराउदै पछिल्लो समयको निर्वाचनमा कोही आएर जनतालाई झुक्काएर चुनाव जिते अनि चुनाव जितेपछि हराएको स्मरण गर्दै एमाले नेताहरु हर समय जनताको सुखदुःखको साथमा रहेको उनले बताए । साथै यसरी जनतालाई भ्रममा पारिदिदा गाउँको विकाश वर्षौ पछि सर्ने उनले बताए ।
कार्यक्रममा बोल्ने क्रममा अबको दिनमा वडा नं. ७ मा रहेका एमालेका पुराना नेताहरु सबै पुनः सक्रिय भै साविकको दाहाखानी गाविस हुदाँ ताका जस्तै यो वडालाई एमालेमय वडा बनाएर देखाउन कार्यकर्तालाई उनले निर्देशन दिए ।