गोरखा । गृहमन्त्री सुधन गुरुङले गृहजिल्ला गोरखामा निजी सचिवालय स्थापना गरेका छन् । गोरखा नगरपालिका–६ स्थित शक्तिचोक नजिकै स्थापना गरिएको सचिवालयको आइतबार गुरुङले उद्घाटन गरे । गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका गुरुङले मतदाताको गुनासो सुन्न र सम्बोधन गर्न सहजताका लागि सचिवालय स्थापना गरेको बताएका छन् ।
गोरखा–१ र २ तथा पायक पर्ने जुनसुकै ठाउँबाट गोरखाको सचिवालयमा आएर आफ्ना समस्या सुनाउन सकिने उनले बताए । ‘समस्या राख्न काठमाडौंको सिंहदरबार पुग्न नपरोस्, आफ्नो सांसदलाई यहीँबाट गुनासो सुनाउन पाइयोस् भनेर सचिवालय स्थापना गरिएको हो,’ उनले भने, ‘विकास निर्माणदेखि कुनै समस्या र गुनासाहरू यहाँ आएर राख्न सक्नुहुन्छ ।
गोरखाको सचिवालयले काठमाडौंको सचिवालयसँग समन्वय गरेर ती कुराहरू मन्त्रालय र मसम्म आइपुग्छन्, हामी समाधानको प्रयास गर्नेछौँ ।’ चुनावी वाचापत्रमा नै सचिवालय स्थापनाको विषय राखेको उनले बताए । ‘मलाई भोट दिनुभयो, जिताउनुभयो । विकास निर्माणका कुरा हुन्छन्, समस्या हुन्छन् । परिवारजस्तै गरेर यहाँ आएर ती कुराहरू राख्नुस्,’ उनले भने, ‘म सम्बोधनको प्रयास गर्छु ।’
निर्वाचन जितेको क्षेत्रका मतदातासँगको भेटघाटलाई प्राथमिकतामा राखेर अघि बढेको पनि उनले सुनाए । ‘जितेर गएपछि पहिलेकै नेताजस्तो गरेर फर्किंदैन कि भन्ने डर थियो । तर हामी मत माग्न जसरी घरघर गएका थियौँ, अहिले पनि जानुपर्छ,’ उनले भने, ‘६ महिनाको अन्तरालमा पनि मतदाता भेटघाटका लागि धेरै ठाउँ पुगिसक्यौँ ।’ गोरखा–१ बाट निःस्वार्थ तवरले मत दिएर विजयी गराएपछि देशको गृहमन्त्रीजस्तो पदमा बसेर काम गर्ने अवसर मिलेको पनि उनले बताए ।