काठमाडौं । कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनालाई सामान्य रूपमा लिन नहुने बताएका छन् । उनले यस घटनाले सरकारको राज्य सञ्चालनसम्बन्धी सोच, नागरिक अधिकार र प्रेस स्वतन्त्रताप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको भन्दै कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
पत्रकार पक्राउ घटनाप्रति पार्टीको आधिकारिक धारणा तय गर्न कांग्रेसले आइतबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । बैठकलाई सम्बोधन गर्दै सभापति थापाले लोकतन्त्र, नागरिक अधिकार, मौलिक हक र अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकारले सीमा नाघे कांग्रेसले प्रतिवाद र प्रतिरोध गर्ने बताए ।
'हामी प्रमुख प्रतिपक्षको जिम्मेवारीमा छौं । नयाँ परिवेशमा नयाँ ढंगले काम गरोस् भन्ने अपेक्षा छ । जहाँ साथ दिनुपर्ने हो, साथ दिन्छौं । सहयोग गर्नुपर्ने ठाउँमा सहयोग गर्छौं र विरोध गर्नुपर्ने ठाउँमा विरोध गर्छौं,' उनले भने, 'हामीले निर्णयबाट मात्रै होइन, कामबाट पनि यो कुरा प्रमाणित गरेका छौं । तर प्रजातन्त्र, लोकतन्त्र, नागरिकको अधिकार र मौलिक हकका सन्दर्भमा सरकारले सीमा नाघ्छ भने हामी चुप लागेर बस्दैनौं । आवश्यकता परे प्रतिवाद र प्रतिरोध गर्छौं ।'
उनले पछिल्ला २ दिनमा प्रकाशित समाचारका आधारमा प्रहरी सञ्चारगृहभित्र प्रवेश गरेर पत्रकार पक्राउ गर्न पुगेको घटनाले शाहीकालको झल्को दिएको बताए । 'त्यतिबेला पनि सुरक्षाकर्मी सञ्चारगृहभित्र प्रवेश गरेका थिए । अहिले फेरि त्यस्तै दृश्य देखियो,' उनले भने ।
पत्रकार पक्राउको घटनापछि प्रहरीको वक्तव्य, प्रधानमन्त्री कार्यालयको सचिवालयको प्रतिक्रिया र त्यसपछि आएका थप विवरणले घटनालाई झन् गम्भीर बनाएको उनको भनाइ थियो । सुरुमा प्रहरीले पक्राउबारे वक्तव्य जारी गरेको, प्रधानमन्त्री कार्यालयको सचिवालयले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएको र पछि प्रधानमन्त्री कार्यालयको चासो सम्बोधन गर्ने गरी प्रहरीको अर्को वक्तव्य आएको उनले बैठकमा उल्लेख गरे । बिहान जारी गरिएको वक्तव्य हटाइएको र प्रधानमन्त्री कार्यालयको सचिवालयबाट २८ जनाको सूची पठाइएको विवरणसमेत सार्वजनिक भएको उनले बताए ।
'केही पत्रकार पक्राउ पर्नुभयो, छुट्नुभयो । तर यो यत्तिकैमा सकिँदैन, सकिनु पनि हुँदैन,' थापाले भने, 'मुख्य कुरा यस घटनाले सरकारले राज्यलाई कसरी बुझेको छ, आफ्नो अधिकारलाई कसरी बुझेको छ र नागरिकको अधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा प्रेसको अधिकारलाई कसरी हेरेको छ भन्ने प्रश्न उठाएको छ ।'
उनले सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनालाई प्रहरीको नियमित काम वा कुनै एउटा प्रशासनिक त्रुटिका रूपमा मात्रै बुझ्न नहुने बताए । प्रहरीहरू सम्बन्धित निकायको आदेश र निर्देशनबिना आफैं निर्णय गरेर सञ्चारगृहमा प्रवेश नगएको उनको दाबी थियो । 'मिडिया हाउसहरूमा आफैं निर्णय गरेर प्रहरी गएको होइन । तालुकवाला अड्डाको आदेश लिएर गएको हो भन्ने कुरामा ढुक्क हुन सकिन्छ,' उनले भने । यस्तो घटनाप्रति पार्टी गम्भीर भएकै कारण आकस्मिक बैठक बोलाउनुपरेको उनले बताए । उनका अनुसार घटनाभन्दा पनि त्यसबाट देखिएको राज्य सञ्चालनको प्रवृत्ति बढी चिन्ताजनक छ ।
'हामी राज्य भनेको हामी नै हौं, हामीले बोलेको कुरा हुकुम हुन्छ, राज्यका सबै निकाय र संस्थाहरू हाम्रा निजी आदेश पालना गर्ने निजी कार्यालय हुन् भन्ने ठान्न थालियो भने त्यो शक्तिको स्वेच्छाचारी प्रयोग हो,' थापाले भने, 'प्रजातन्त्रमा सरकारको इच्छा नै मेरो इच्छा हो, सरकारले चाहेको कुरा नै कानुन हो भन्ने सोच आउन थालेपछि समस्या सुरु हुन्छ । अहिलेको समस्या पनि त्यही हो ।'
उनले पत्रकार पक्राउको घटनालाई सामान्यीकरण गर्न नहुनेमा जोड दिँदै यसले राज्यका निकायलाई राजनीतिक नेतृत्वको इच्छाअनुसार परिचालन गर्ने प्रवृत्ति देखाएको बताए ।
यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि गलत भएको भन्दै प्रतिक्रिया दिएको उल्लेख गर्दै थापाले त्यससँग जोडिएका अन्य प्रश्नमा समेत छलफल आवश्यक रहेको बताए । कांग्रेसले यसअघि पटकपटक सरकारको नेतृत्व गरेको स्मरण गराउँदै उनले सत्ता सञ्चालनका क्रममा आफूहरूको विगत र वर्तमानको भूमिकालाई पनि यस बहससँग जोडेर हेर्नुपर्ने बताए ।