Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

मधेशी दल र नेताको समीक्षा जनताले गरिसके,अब युवाले नेतृत्व लिनुपर्छ

मधेशी दल र नेताको समीक्षा जनताले गरिसके,अब युवाले नेतृत्व लिनुपर्छ

images

इच्छाकामना न्युज

१९, कार्तिक २०८३
मधेशी दल र नेताको समीक्षा जनताले गरिसके,अब युवाले नेतृत्व लिनुपर्छ
images

वीरगञ्ज । मधेशी दल तथा नेताहरूको समीक्षा पछिल्लो निर्वाचनमा जनताले गरिसकेको भन्दै अब मधेशको राजनीतिक नेतृत्व नयाँ युवा पुस्ताले लिनुपर्नेमा वीरगञ्जमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्।

‘जबसम्म सूर्य र चन्द्रमा यो धर्तीमा रहिरहन्छन्, सहिदको त्याग, तपस्या र बलिदान अमर रहिरहनेछ’ भन्ने मूल नाराका साथ सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘मधेशः अबको बाटो–मधेशी राजनीतिको समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। वीरगञ्ज पब्लिक कलेजको सभाहलमा आयोजित प्रतिष्ठानको दशौँ शृङ्खलाको कार्यक्रम सहिद सोहन साह कलवारकी पत्नी विनीता देवीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मधेशको वर्तमान राजनीतिक अवस्था, पहिचान, अधिकार, राजनीतिक नेतृत्व र सहिदहरूको योगदानबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा अधिवक्ता आनन्द गुप्ताले विषय प्रवेश गराउँदै जेनजी आन्दोलनपछि मधेशी दल तथा नेताहरूको विश्वसनीयतामा कमी आएको बताए। मधेशका मूल मुद्दाहरू अझै पूरा नभएकाले ती मुद्दा सम्बोधन गराउन राज्यलाई दबाब दिने रणनीति आवश्यक रहेको उनको भनाइ थियो। उनले मधेशको राजनीति कहाँ चुक्यो भन्ने विषयमा निर्मम समीक्षा गर्दै आगामी राजनीतिक दिशा तय गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी वक्ताहरूले मधेशी दल तथा नेताहरूको कार्यसम्पादनको समीक्षा जनताले पछिल्लो निर्वाचनबाटै गरिसकेको उल्लेख गर्दै अब पुरानै राजनीतिक शैली र नेतृत्वबाट मधेशका मुद्दा पूरा हुन नसक्ने धारणा राखे। मधेशको राजनीतिक नेतृत्व नयाँ युवा पुस्ताले आफ्नो हातमा लिएर सामाजिक मुद्दालाई समेत सम्बोधन गर्ने स्पष्ट कार्यक्रमसहित अगाडि बढ्नुपर्ने उनीहरूको निष्कर्ष थियो।

कार्यक्रममा पूर्वसांसदद्वय प्रह्लाद गिरी र बिक्की यादव, अर्थशास्त्री प्राध्यापक इन्दुशेखर मिश्र, प्रा. डा. हरेराम ठाकुर, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वप्रमुखद्वय ए.के. झा र डा. उमेश चौरसिया, प्राध्यापक विजय महासेठ, नेतृ रम्भा मिश्रा, मोनिका सिंह, निजामुद्दिन समानी, शिव पटेल, पूर्व उपप्रमुख सलमा खातुन, पूर्व प्रहरी उपरीक्षक रामेश्वर यादव, पूर्व प्रहरी महानिरीक्षक हरिबाबु चौधरीलगायतले धारणा राखेका थिए।

त्यसैगरी रामनारायण मिश्र, पत्रकार पवन तिवारी, डा. आमिर आलम, राजेश कुमार साह, शिवजी सोनी, कानूनकी विद्यार्थी अदिती साह, पत्रकार अफरोज अर्पण, ओमप्रकाश चौधरीलगायत तीन दर्जनभन्दा बढी युवा, बुद्धिजीवी तथा विभिन्न पेशाकर्मीको सहभागिता रहेको थियो।

वक्ताहरूले मधेशको राजनीतिक पहिचान, सामाजिक अपेक्षा, संस्कार, संस्कृति तथा हक–अधिकार स्थापित गर्न सहिदहरूको योगदानलाई उचित सम्मान र पहिचान दिनुपर्ने बताए। मधेश अधिकारका लागि भएका विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको इतिहास र बलिदानलाई संस्थागत रूपमा स्थापित गर्नुपर्ने उनीहरूको धारणा थियो।

सहिदहरूको योगदानलाई स्मरणमा मात्र सीमित नराखी उनीहरूले देखेका सपना, उद्देश्य र अधिकार प्राप्तिको अभियानलाई व्यवहारमा उतार्नुपर्नेमा पनि वक्ताहरूले जोड दिए। मधेशले हालसम्म प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै विद्यमान चुनौती र सम्भावनाका आधारमा नयाँ राजनीतिक कार्यदिशा तय गर्नुपर्ने उनीहरूको भनाइ थियो।

कार्यक्रमले मधेशको राजनीतिक यात्राको समीक्षा गर्दै सहिदहरूको त्याग र बलिदानको इतिहास नयाँ पुस्तासम्म पुर्‍याउने तथा मधेशको पहिचान र अधिकारको सवाललाई थप सशक्त बनाउने अपेक्षा गरिएको प्रतिष्ठानका संरक्षक सञ्जय यादवले जानकारी दिए।

images
प्रकाशित मिति :कार्तिक १९, २०८३ बुधवार - ११:४३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology