Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

स्वास्थ्य बीमाको भुक्तानी ७ महिनादेखि ठप्प

स्वास्थ्य बीमाको भुक्तानी ७ महिनादेखि ठप्प

images

रासस

१८, भाद्र २०८१
स्वास्थ्य बीमाको भुक्तानी ७ महिनादेखि ठप्प
images

तनहुँ । दमौली अस्पतालले ७ महिनादेखि स्वास्थ्य बीमावापतको रकम भुक्तानी पाउन सकेको छैन । गत माघ महिनादेखि साउन महिनासम्म रु दुई करोड ६५ लाख १६ हजार तीन सय ९४ बक्यौता रहेको हो । अस्पताललाई समयमा रकम भुक्तानी नगरिदिँदा औषधिको अभाव देखिन थालेको दमौली अस्पताल स्वास्थ्य बीमा इन्चार्ज मदन गौतमले जानकारी दिए ।

गौतमका अनुसार स्वास्थ्य बीमा बोर्डबाट रकम निकाशा नगर्दा उपचारमा आएका बिरामीले औषधि पाउनका लागि समस्या हुने गरेको छ । अस्पतालमा दैनिक तीन सयदेखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उनले भने, “उपचारमा आउने बिरामीमध्ये करिब ८० प्रतिशत बिरामी स्वास्थ्य बीमाका हुने गरेका छन् ।”

अस्पतालका अनुसार माघ महिनामा रु २८ लाख १० हजार नौ सय २१, फागुनमा रु ३४ लाख ३६ हजार सात सय ३८ र चैतमा रु ४१ लाख ७३ हजार चार सय १५ रकम भुक्तानी हुन बाँकी छ । वैशाख रु ३६ लाख ६५ हजार चार सय ८९, जेठमा रु ४५ लाख ३९ हजार पाँच सय पाँच, असारमा रु ३८ लाख ५८ हजार दुई सय ५१ र साउन महिनामा रु ४० लाख ९२ हजार छ सय ७५ रकम भुक्तानी भएको छैन ।

औषधि व्यवसायीलाई लामो समयदेखि रकम भुक्तानी नगरिदिँदा पुनःऔषधि मगाउन नसकिएको अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । “अस्पतालको फार्मेसीमा औषधिको अभाव हुन थालिसकेको छ”, उनले भने, “आजका मितिसम्म जेनतेन धान्दै आएको थियौँ, अब धान्न गाह्रो हुने देखिएको छ ।” उनका अनुसार १५ शय्या क्षमताको यस अस्पतालले ५० शय्या बराबरको उपचार सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालमा तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ र कास्कीका केही भेगका मानिसहरूको उपचारमा आउने गर्दछन् ।

images
प्रकाशित मिति :भाद्र १८, २०८१ मंगलवार - ०८:३५:०३ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology