सिरानचोक गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुले संचालन गरेको व्यापार व्यवसायमा ५० प्रतिशत कर छुट दिने नीति पारित गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले पालिकाको समावेशी आर्थिक रुपान्तरणका लागी रोजगारी र आय अभिवृद्धि गर्न विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्ने नीति ल्याएको छ । पालिकामा रहेका बेरोजगारको तथ्याङ्क संकलन गरी श्रममा आधारित काममा परिचालन गर्ने पालिकाले जनाएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष गुरुङले पालिकाको प्रत्यक वडामा चिकित्सक सहितको घुम्ती शिविर र नसर्ने रोगको स्क्रिनिङ शिविरलाई निरन्तरता दिने बताएका छन् । खोप भण्डारण र वितरणका लागी प्रदेशसँग सहकार्य गरेर कोल्डचेन सव–सेन्टर स्थापना गरि खोप वितरणलाई थप व्यवस्थित र गुणस्तरीय बनाउने नीति रहेको उनले जानकारी गराए । संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्दै शुन्य होम डेलिभरिको नीति अबलम्बन गर्ने उनको भनाइ छ । मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमलाई निरन्तरता दिँदै मनोसामाजिक परामर्शदाता परिचालन गर्ने बताइएको छ ।
‘सिरानचोकको मुल आधार गुणस्तरीय शिक्षा मौलिक अधिकार’ को नीति पालिकाले अबलम्बन गरेको छ । विद्यार्थी हब अवलोकन अन्तरगत विशेष कार्यक्रम संचालन गरिने पालिकाले जनाएको छ । यसैगरी मातृभाषा शिक्षा कार्यक्रमलाई संरक्षण र प्रवद्र्धन गर्ने नीति पालिकाले ल्याएको छ । आधारभुत तहमा सिरानचोकको गौरव, संस्कृति र सभ्यताको विषय समावेश गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘एक घर एक धारा’ कार्यक्रमलाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने नीति पालिकाको छ । पालिकाको सौन्दर्य दिगोपनाका लागी मासिक पालिका स्तरीय सरसफाई कार्यक्रम संचालन गर्ने बताएको छ । प्लास्टिकजन्य वस्तुहरुको प्रयोगलाई निरुत्साहन गर्ने पालिकाको नीति छ । आगामी दुई वर्षभित्र पालिकामा ‘एक वडा एक खेल मैदान’ निर्माण कार्य सम्पन्न गर्ने नीति पालिकाले लिएको छ । गाउँपालिका स्तरीय रंगशाला छनोट गरी पुर्वाधार निर्माण कार्य अगाडी बढाउने बताइएको छ ।
अपाङ्गता परिचयपत्र र जेष्ठ नागरिक परिचय पत्र वितरणलाई विद्युतिकरण गर्ने नीति पालिकाको छ । पालिका भित्रको ‘क’ वर्गको सडक र सिरानचोक चक्रपथ सडकको संघ तथा प्रदेश सरकारसँग समन्वय गरी स्तरोन्नती कार्य अगाडी बढाउने पालिकाले जनाएको छ ।
पालिका भित्रका सम्पुर्ण सडकहरुको न्यूनतम सडक मापदण्ड/सडकको क्षेत्राधिकारको अवधारणलाई कडाइका साथ कार्यन्वयन गर्ने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । हरेक सडक योजनामा बिनियोजित रकमको २ प्रतिशत रकम इन्जिनियरिङ्ग कार्यमा खर्च गर्ने बताइएको छ । सार्वजनिक स्थलहरुमा सौर्य बत्ती जडान गर्ने भनिएको छ । विद्युत लाइनको बिस्तार व्यवस्थापनका लागी विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरिने पालिकाले जनाएको छ ।
सिरानचोकले वातावरणमैत्री स्थानीय शासन प्रणाली नीति अबलम्बन गर्ने बताएको छ । खालि क्षेत्रमा बाँस/निगालो, डालेघाँस, फलफुल, जडिबुटि खेतीलाई प्रवर्धन गर्ने बताइएको छ । कटानयुक्त क्षेत्रमा संघ तथा प्रदेश सरकारसँग समन्वय गरि तटबन्ध निर्माण कार्य लागू गर्ने नीति पनि पालिकाको छ ।
करको दायरालाई फराकिलो बनाई करका नीतिहरु तय गर्ने पालिकाले जनाएको छ । पालिकाभित्र संचालनमा रहेका व्यवसायहरुको प्रभावकारी अनुगमन गरि व्यवसायीक स्वच्छता कायम गर्ने भनिएको छ । पालिकाको त्रैमासिक कामलाई बुलेटिन मार्फत प्रस्तुत गर्ने, सेवा प्रवाहमा टोकन सेवा लागु गर्ने र सहकारी संस्था नियमन तथा गरिवी निवारण गर्ने नीति पानि पालिकाले ल्याएको छ ।