Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनको कालिकामा दूध उत्पादन गर्ने किसानलाई ३१ लाख रुपैयाँ अनुदान वितरण

चितवनको कालिकामा दूध उत्पादन गर्ने किसानलाई ३१ लाख रुपैयाँ अनुदान वितरण

इच्छाकामना न्युज

२०, आषाढ २०८१
चितवनको कालिकामा दूध उत्पादन गर्ने किसानलाई ३१ लाख रुपैयाँ अनुदान वितरण

चितवन ।दूध उत्पादनमा प्रोत्साहन स्वरुप कालिका नगरपालिकाले कृषकहरुलाई प्रतिलिटर दूधमा एक रुपैयाँका दरले अनुदान वितरण गरेको छ ।

images

आर्थिक वर्ष २०७९/८० मा दूध उत्पादन गरी दुग्ध उत्पादक सहकारी संस्थाहरुमा विक्री गर्ने कृषकहरुलाई कालिका नगरभित्रका ७ वटा सहकारी संस्थामार्फत अनुदान रकम वितरण गरिएको हो । कालिकाका कृषकहरुले वार्षिक ३१ लाख ३३ हजार ९ सय ७३ लिटर दूध सहकारी संस्थामार्फत विक्रीगर्दै आएका छन् ।

दुग्ध उत्पादक सहकारी संस्थालाई दूध विक्री गर्ने कृषकहरुलाई प्रतिलिटर दूधमा अनुदान कार्यक्रम अन्तर्गत ३१ लाख ३३ हजार ९ सय ७३ रुपैयाँ अनुदान रकम सहकारी मार्फत नगरपालिकाले वितरण गरेको हो।

नगर प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तमाङले संयुक्त रुपमा ७ वटा सहकारीका अध्यक्ष र व्यवस्थापकलाई उनीहरुले विक्री गरेको दूधको आधारमा पाउनुपर्ने अनुदान रकम बराबरको चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रेग्मीले कालिका नगरपालिकाले कृषि र पशुपालनलाई विशेष प्राथमिकता दिँदै आएको बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषि र पशुपालनलाई प्राथमिकता दिएको उनले बताए । आगामी आवमा पनि प्रतिलिटर दूधमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिएको उनले जानकारी दिए । अनुदान दिने कार्यक्रमबाट साना, ठूला सबै किसानहरु लाभान्वित भएको उनको विश्वास छ ।

पशुपालन गर्ने कृषकहरुलाई घाँसको बीउ पर्याप्त मात्रामा पालिकाले उपलब्ध गराउने उनले प्रतिवद्धता व्यक्त गरे । उत्पादनमा लागत घटाउँदै आर्थिक बृद्धिदर बढाउने तर्फ किसानहरुलाई लाग्न समेत उनले सुझाव दिए ।

दुग्धजन्य परिकार उत्पादनमा सहकारीहरुले ध्यान दिनुपर्नेमा उनले जोड दिए । आफ्नै उत्पादन गरेर ब्राण्डीङ गर्न समेत नगर प्रमुख रेग्मीले सुझाव दिए । त्यसका लागि आवश्यक मेसिनदेखि अन्य सहयोग गर्न पालिका तयार रहेको उनले बताए । पुरानै शैलीमा दूध मात्रै विक्री गरेर आर्थिक सम्बृद्धीको बाटोमा हिड्न कठिन भइरहेकाले यसलाई परिस्कृत गर्दै जानुपर्ने उनको धारणा छ । उत्पादन र संकलनसँगै गुणस्तरमा ध्यान दिन उनले आग्रह गरे । कालिकाको दूध भन्ने वित्तिकै गुणस्तरीय छ भन्ने सन्देश दिनुपर्ने गरी काम गर्न सहकारीलाई उनले निर्देशन दिए ।

कार्यक्रममा नगर उपप्रमुख विमला तमाङले दूध उत्पादनसँगै यसलाई विविधिकरण गरेर बजारीकरणमा जोड दिन आग्रह गरिन् । चिसो पेयपदार्थको विगविगी भइरहेका बेला कालिकामा उत्पादन भएको दुध, दही, मही सबैले खान पाउनेगरी बजारीकरण गर्न उनले सुझाव दिइन् ।

स्थानीय बजारमा बाहिरबाट आएका उत्पादनलाई निरुत्साहित बनाउन स्थानीय उत्पादनवाट बन्ने विभिन्न परिकार स्थानीय बजारवाटै खपत गराउने तर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो । कालिकाको उत्पादनलाई यहाँका स्थानीय बजारका पसल–पसलमा पुर्याउन सके आर्थिक बृद्धि हुने उनले विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा कालिका–७ का वडा अध्यक्ष टिकाराम रेग्मीले पशुका लागि गुणस्तरीय आहारमा जोड दिन किसानहरुलाई सुझाव दिए ।

कालिका–२ का वडा अध्यक्ष लक्ष्मण पौडेलले दुग्ध उत्पादक सहकारीहरुले विचौलीयाको काम गर्दै आएको आरोप लगाए । किसानबाट काँचो दूध लिएर काँचै दूध विक्री गर्नुबाहेक सहकारीले अन्य काम नगरेको उनको भनाई थियो । किसानबाट दूध खरिद गरेर दूधबाट बन्ने विभिन्न परिकार उत्पादनमा सहकारीले जोड दिनुपर्ने उनको भनाई थियो ।

उत्थान दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद ढुंगानाले दूध उत्पादनमा प्राप्त अनुदान रकमले कृषकहरुमा उत्साह थपिएको बताए । पालिकाले स्थापना भए देखिनै किसानलाई उत्प्रेरणा दिने खालका कार्यक्रम गर्दै आएको उनले बताए । हरेक किसानको अभिभावक नगरपालिका भएकाले पालिकाबाट प्राप्तहुने अनुदान लगायत अन्य सहयोगहरु सबैको पहुँचसम्म पु¥याउन उनले आग्रह गरे । माग्ने आउनेलाई मात्रै दिने परिपाटी अन्त्य गरी आवश्यकताका आधारमा वितरण भए सबैको पहुँच हुने उनको भनाई छ।

मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एवम् कालिका नगरपालिका–६ का वडा सदस्य लक्ष्मी नारायण चौलागाई, सामुदायिक दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष कल्पना आचार्यले आर्थिक अनुदान वितरण कार्यक्रमबारे बोलेका थिए । नगरको पशुसेवा शाखा प्रमुख डा राजु प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम आर्थिक विकास समिति संयोजक दीपक सिंह परियारको अध्यक्षतामा आयोजना गरिएको हो ।

कुन सहकारीले कति अनुदान रकम पाए ?
१. मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले ८ लाख ५८ हजार ८२ रुपैयाँ
२. पदमपुर दुग्ध उत्पादक सहकारी संस्थाले ८ लाख १४ हजार ९० रुपैयाँ
३. नवमिलिजुली दुग्ध उत्पादक सहकारी संस्थाले ४ लाख ९६ हजार २ सय ७ रुपैयाँ
४. उत्थान दुग्ध उत्पादक सहकारी संस्थाले ५ लाख ७२ हजार ३ सय ८८ रुपैयाँ ७५ पैसा
५. सामुदायिक दुग्ध उत्पादक सहकारी संस्थाले १ लाख ३६ हजार ३ सय ९६ रुपैयाँ १४ पैसा
६. कन्चन दुग्ध उत्पादक सहकारी संस्थाले १ लाख २३ हजार ८ सय ९४ रुपैयाँ ३० पैसा
७. भटेनी दुग्ध उत्पादक सहकारी संस्थाले १ लाख ३२ हजार ९ सय १५ रुपैयाँ

images
प्रकाशित मिति :आषाढ २०, २०८१ बुधवार - १२:२०:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology