उपरदाङ्गगढी । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित ऐतिहासिक पर्यटकीय स्थल उपरदाङ्गगढी जाने सार्वजनिक बाटो मिचेर त्यहाँ संचालित एक होटलले भौतिक संरचना निर्माण गरेको छ । गढीमा जाने बाटैमा पर्ने गढि हिल कटेजले उपरदाङ्गगढीमा जाने बाटोमा आगन्तुकलाई नै असहज हुने गरी भौतिक संरचना निर्माण गरेको पाईएको छ ।
यद्यपी होटलले संरचना निर्माण गर्दा बाटो नमिचेको र आफ्नो जग्गा भित्रै बनाएको गढि हिल कटेजका संचालक रुपेश कर्माचार्यले बताए । ‘मैले गढि जाने सार्वजनिक बाटो मिचेको छैन, स्थानीयहरुसँग सल्लाह गरेरै निर्माण गरेको हु’ –उनले भने ।

यता यस विषयमा कुराकानी गर्दा इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले होटलले गढी जाने आगन्तुकहरुलाई नै असहज हुने गरी संरचना निर्माण गरेकोले त्यसलाई तत्काल भत्काएर सार्न निर्देशन दिएको बताए । ‘तीन दिन अघि म अनुगमनमा पुग्दा त्यहा होटलले संरचना निर्माण गरेको रहेछ, यसले आगन्तुकहरुलाई हिड्न असहज हुने हुदाँ तत्काल हटाउन निर्देशन दिएको छु’ –उनले भने । होटलले अटेर गरे नगर प्रहरी लगाएर भएपनि संरचना हटाईने अध्यक्ष गुरुङले बताए ।
तात्कालिन बाइसी चौबिसी राज्य एकिकरणका बेला अंग्रेज फौज विरुद्ध लडाइका लागि सन् १८०० सालताका पृथ्वीनारायण शाहका नाति बहादुर शाहले निर्माण गरेको उपरदाङ्गगढी सन् १९६० सम्म चितवनको पुरानो सदरमुकामको रुपमा रहेको थियो ।