Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कृषिमा अग्रसर इच्छाकामना हपनीका चेपाङ : कृषि एम्बुलेन्सले बजारीकरणमा सहज बनाउदै

कृषिमा अग्रसर इच्छाकामना हपनीका चेपाङ : कृषि एम्बुलेन्सले बजारीकरणमा सहज बनाउदै

images
कृषिमा अग्रसर इच्छाकामना हपनीका चेपाङ  : कृषि एम्बुलेन्सले बजारीकरणमा सहज बनाउदै
images

काउले । चेपाङ समुदाय र चेपाङ गाउँ भन्नासाथ कतै न कतैबाट गरिबी, अभावजस्ता समस्या जोडिन्छ । तर, विशुद्ध चेपाङ जातिको बसोवास रहेको इच्छाकामना गाउँपालिकाको वडा नं.२ मा पर्ने हपनी गाउँका चेपाङ समुदाय भने अन्य क्षेत्रका चेपाङभन्दा विकसित छन् । उनीहरु आफैँ खेतीपातीमा व्यस्त छन् । हातमा सीप भएकाहरुले निगालोबाट बन्ने सामग्री निर्माण गर्छन् ।

गाउँमा उत्पादन भएका सबै वस्तु बजार लैजान्छन् । र, दुई चार पैसा नियमितरुपमा आम्दानी गर्दै आएका छन् । इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएपछि स्थानीयलाई पनि धेरै नै सजिलो भएको छ । गाउँमा जे उत्पादन भए पनि त्यसले सजिलैसँग बजार पाएको छ ।

कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि गाउँमा ३५ घर परिवार समूहमा आवद्ध भई तरकारीखेतीलाई व्यवसायीकरण गर्दै आएको हपनी कृषि समूहका अध्यक्ष टेकबहादुर चेपाङले बताए । ‘हिजो हामीले उत्पादन गरेका वस्तुलाई बजारसम्म लैजान निकै सकस थियो,’ उनी भन्छन्, ‘सक्नेले बोकेर बजार पु¥याउँथे । नसक्नेको बारीमै कुहिन्थ्यो । तर, अहिले गाउँबाटै कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि सीधै बजार पुग्छ ।’

गाउँलेले उत्पादन गरेको कृषि उपज लिन बिहान ३ देखि ४ बजेभित्र गाउँमा गाडी लिएर आइपुग्छन्, स्थानीय दीपककुमार प्रजा । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा कषि एम्बुलेन्स सञ्चालनमा ल्याएपछि दीपक चालकको भूमिकामा छन् । सबेरै हर्न बजाउँदै गाउँ उक्लिएपछि गाउँलेले आफूसँग भएको उत्पादनलाई सडकसम्म ल्याउँछन् ।

गाउँको उत्पादनलाई फिस्लिङ, मौवाखोला, शक्तिखोर, टाँडीलगायतका बजारसम्म लगेर बेचेपछि साँझ फेरि गाउँ उक्लिन्छन् । र, किसानको आम्दानी बुझाउँछन् । ‘कुनै किसान आफैँ बजार पुग्छन्, कोही जाँदैनन्,’ दीपक भन्छन्, ‘नजाने किसानको उत्पादन आफैँले बेचेर पैसा ल्याइदिन्छु । र, साँझ जसको जति पैसा भएको छ । ल्याएर बुझाइदिन्छु । यसले गाउँलेलाई पनि सहज भएको छ ।’

गाउँबाटै कृषि एम्बुलेन्स चलेपछि स्थानीयले उत्पादन गरेको दुई मुठा सागले पनि बजार पाएको स्थानीय अगुवा शेरबहादुर प्रजा बताउँछन् । ‘पहिलेपहिले पनि उत्पादन गथ्र्यौँ । तर, अरुको गाडी बोलाउँदा आनाकानी गर्ने, भाडा महँगो भन्नेजस्ता समस्या थियो,’ उनी भन्छन्, ‘त्यस्तो अवस्थामा थोरै उत्पादन गर्ने किसानको उपजले बजार पाउनै मुस्किल थियो । अहिले त्यस्तो अवस्था छैन । दुई किलो सखरखण्डले पनि बजार पाएको छ ।’

वडा नं.२ का अध्यक्ष पञ्चबहादुर चेपाङका अनुसार करिब पाँच/छ वर्षदेखि यहाँका किसानले व्यावसायिकरुपमा कृषि कर्म गर्दै आएका छन् । गाउँलेले गोलभेँडा, रायो, धनियाँ, स्कुस, तरूल, सखरखण्ड, पिँडालु, स्कुसको जरा, केराउ, सिमीलगायतका तरकारी खेती उत्पादन गर्दै आएका छन् । ती सबैले राम्रोसँग बजार पाउँदा त्यसले समग्र गाउँलाई नै फाइदा पुगेको उनी बताउँछन् ।

गाउँपालिकाले किसानको आवश्यकताअनुसार मल र बिउमा ५० प्रतिशत अनुदान दिँदै आएको वडाअध्यक्ष चेपाङले जानकारी दिए । उनका अनुसार पशुपक्षीको लागि औषधि उपचारलाई निःशुल्क बनाएको छ । र, तरकारीखेतीमा पनि विशुद्ध प्राङ्गारिक उत्पादनलाई बढी प्राथमिकतामा राख्दै आएको उनले बताए । वडा नं.२ मा हपनीसहित वल्र्याङ, मैतेस, माझखर्क, हुस्ती, तल्लो काउले, माथिल्लो काउले, थापाथली, तोलाङ, छापडाँडालगायतका गाउँमा व्यावसायिकरुपमा तरकारीखेती गर्दै आएका छन् ।

तरकारीखेतीका आलवा बाख्रापालन, चोयाको सामग्री बनाउने जस्ता कार्यमा समेत यहाँका चेपाङ समुदाय अग्रपङ्क्तिमा रहेको उनले बताए । किसानको आवश्यकताअनुसार गाउँमा पुगेको कच्ची सडकलाई स्तरोन्नति गराउनु टड्कारो आवश्यकता रहेको उनले बताए । ‘गाउँमा बल्ल बाटो पुगेको छ । अब त्यसलाई स्तरोन्नति गराउन सके अझ सहज हुन्थ्यो भन्ने छ,’ उनी भन्छन्, ‘यसपटक जवाङखोलाबाट तल्लो काउलेसम्मको सडक ढलान गर्ने कामको थालनी भएको छ । बिस्तारै सबै गाउँमा पुगेका सडकलाई स्तरोन्नति गराउँदै लैजाने गाउँपालिकाको योजना छ ।’

भौगोलिक विकटता भए पनि वडा नं.२ का अधिकांश गाउँका चेपाङ समुदाय गरिबीलाई दूर बनाउने अभियानमा जुटेका छन् । कम्तिमा आफूलाई वर्षभरी खान पुग्नेगरी व्यावसायिक कृषिमा आवद्ध रहेका वडा अध्यक्ष चेपाङले बताए । यसले समग्र गाउँकै आर्थिक उपार्जनमा टेवा पुगेको उनको भनाइ छ ।

images
प्रकाशित मिति :माघ ३, २०८० बुधवार - ०९:०५:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology