Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रथम शहिद लखन थापा भन्दा ३६ वर्ष अघि मारिएका थिए तुले रोहानी (पाईजा)

प्रथम शहिद लखन थापा भन्दा ३६ वर्ष अघि मारिएका थिए तुले रोहानी (पाईजा)

रासस

२०, आश्विन २०७७
प्रथम शहिद लखन थापा भन्दा ३६ वर्ष अघि मारिएका थिए तुले रोहानी (पाईजा)
images

गलेश्वर, २० असोज । नेपालका प्रथम शहीद लखन थापालाई मानिन्छ । राणा शासनको विरोध गरेबापत विसं १९३३ फागुन २ गते जङ्गबहादुर राणाको देवीदत्त पल्टनका सैनिकहरुले गोरखा बुंकोटको किल्ला परिसरभित्र खिर्राको बोटमा झुण्ड्याएर लखन थापालाई मृत्युदण्ड दिएको इतिहासमा पाइन्छ । त्यसैले लखन थापालाई नेपालका पहिलो शहीद मानिएको छ । तर लखन थापाभन्दा ३६ वर्षअघि मारिएका थिए म्याग्दीका तुले रोहानी । तत्कालीन गोरखा राज्यको अत्याचारका विरुद्ध विद्रोह गर्दा विसं १८९७ साउन ३० गते तुले रोहानी (स्थानीयका अनुसार पाइजा) ले शहादत प्राप्त गरेका थिए । राणा शासनविरुद्ध विद्रोह गर्दा लखन थापा मारिएजस्तै तत्कालीन गोरखा राज्यको अत्याचारका विरुद्ध विद्रोह गर्दा मारिएका तुले रोहानीका बारेमा भने इतिहासमा कमै पाइन्छ ।

images
images

को हुन् तुले रोहानी (पाइजा) ?

तुले रोहानी हाल म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मा पर्ने पाखापानी गाउँका बासिन्दा थिए । तत्कालीन १६ हजार पर्वत राज्यका जानकार तथा हालै मात्र ऐतिहासिक उपन्यास महारानीबाट २०७६ सालको मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँका अनुसार उनी पाखापानी निवासी बुधे रोहानीका साहिला छोरा थिए । उनले आफूलाई पाखापानी गाउँको राजासमेत घोषणा गरेका थिए । गोरखा राज्यको अत्याचारका विरुद्ध लड्न नै उनले आफूलाई राजा घोषणा गरेर फौज बनाएका थिए ।

विसं १८९७ मा म्याग्दीको पाखापानीमा ठूलो विद्रोह भएको थियो । चौबिसी राज्यअन्तर्गत पर्ने पर्वत राज्य गोरखामा विलय भएपछि गोरखाली शासकले पर्वतमा मनपरी गर्न थाले ।

पाखापानीको तुल्चेङ गाउँका ९० वर्षीय हर्कदेउ पूर्जाका अनुसार गोरखाले पर्वतमाथि विजय गरेपछि युद्धमा बाँचेका पर्वत राज्यका राजा, राजकुमार तथा राजपरिवारका सदस्यहरु भागेर काँसी (भारत) गएका थिए ।

उनीहरु भारतमा रहनुलाई तत्कालीन गोरखा राज्यले आफूविरुद्ध जुनसुकै बेला पनि षडयन्त्र हुनसक्ने सम्भावित खतराका रुपमा लियो । उनीहरुलाई काँसीबाट फिर्ता बोलाई लोभलालच र सुविधा दिएर पहिलाको पर्वत राज्यमा नै राखियो ।

तत्कालीन पर्वत राज्यका शासकहरुले त ज्यान बचेको र सेवासुविधा पाएकामा चित्त बुझाए तर सामान्य जनताको भने बेहाल थियो । राज्यलाई आम्दानीभन्दा दश गुणा बढी कर तिर्नु पर्दथ्यो । जनताका तरुनी भएका छोरीहरु शासकलाई जिम्मा लगाउनु पर्दथ्यो । सुविधा केही थिएन । सामान्य मुद्दा मामिलाका लागि पनि बागलुङ वा तानसेन (पाल्पा) पुग्नु पर्दथ्यो । यी सबै कुरा व्यहोर्नु पर्दा तुले रोहानीको मनमा तत्कालीन गोरखा राज्यविरुद्ध विद्रोह उत्पन्न भयो ।

इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार धेरै पहिलेदेखि नै पर्वत राज्यलाई मगरात क्षेत्र भनिन्थ्यो । मगरात क्षेत्रमा मगर राजा हुने चलन तीन शताब्दीअघि नै मेटिइसकेको थियो । राजा हुनका लागि ठकुरी वंशको हुनुपर्ने परम्परा बसिसकेको थियो । त्यसैले तुले रोहानीले आफूलाई मलेवमको रौतेला (राजकुमार) भएको घोषणा गरे । पुनर्जन्ममा आस्था र विश्वास भएको त्यो जमानाको समाजले उनलाई मलेवमको पुनर्जन्म (अवतार) मान्यो ।

स्थानीयवासी हर्कदेउ पूर्जाका अनुसार त्यसपछि उनले पात्लेखेत, झीँ, पाखापानी, कोटगाउँ लगायतका क्षेत्रहरुलाई समेटेर पाखापानी राज्य बनाए । पाखापानी गाउँदेखि करीब एक किलोमिटरको दूरीमा रहेको देउराली भन्ने ठाउँमा राजधानी बनाए । त्यसैगरी कोटगाउँको शिरानमा एउटा कोत स्थापना गरी हातहतियारहरु जम्मा गरे ।

श्रुतिपरम्परा (किंवदन्ती) मा आधारित पूर्जाको यो भनाइसँग इतिहासका जानकार बानियाँको मत पनि मिल्दोजुल्दो नै पाइन्छ । इतिहासकार बानियाँका अनुसार राज्य र आफूलाई राजा घोषणा गरिसकेपछि तुले रोहानीले ५० देखि एक सय जनासम्मको धनुर्धारी सैनिक टुकडी बनाए । पाखापानी देउरालीमा किल्ला (गढी) निर्माण गरे । यसरी तुले रोहानी (पाइजा) ले गोरखा राज्यका विरुद्ध विद्रोह शुरु गरे ।

कसरी मारिए रोहानी

स्थानीय वयोवृद्धहरुका अनुसार रोहानीलाई गोरखाली राजाबाट पराजित भएका तत्कालीन पर्वते (ढोलठान) राजाका सन्ततिहरुले तरवारले शिर छेदन गरी मारेका थिए ।

कोटगाउँका दलप्रसाद शेरपुञ्जाका अनुसार जब गोरखाले पाखापानी अलग्गै राज्य बनेको र तुले रोहानीले आफूलाई राजा घोषणा गरी गोरखाविरुद्ध विद्रोह गरेको खबर पायो त्यसपछि विद्रोह दबाउन र तुले रोहनीलाई मार्न बाइसखानी गोश्वारा अड्डा बागलुङबाट सेना, कर्मचारी खटायो ।

सरकारी सेना र कर्मचारीहरुले राखु, मल्लाज, ज्यामरुक, कार्कीनेट, घतान, पाँङ, बलेवा, भीमपोखरा लगायतका ठाउँमा रहेका गोरखाले जित्नुभन्दा पहिलाको पर्वत राज्यका तालुकदार, मुखिया, भद्रभलादमीका साथै राजपरिवारका सदस्यहरुलाई लिइ पाखापानीमा आए ।

पाखापानीको देउराली भन्ने ठाउँमा दुवै पक्षको घमासान युद्ध भयो । ढोलठानका राजकुमारहरुको रोहानीसँग इख थियो । किनभने रोहानीले आफू तत्कालीन पर्वते राजा मलेबमका राजकुमार भएको बताएर राजा बनेका थिए । गोरखा पक्षका योद्धाहरुले ढोलठाने राजाका राजकुमार (दुई भाइ) हरुलाई तलबार दिएर तुले रोहानीसँग लड्न पठाए । त्यतिबेला भाला र तरवार नै मुख्य हतियार मानिन्थे ।

हर्कदेउ पूर्जाले सुनाएको किंवदन्तीअनुसार ढोलठाने राजकुमारहरुले तरवारका साथै ठेकीमा गाइको दूध पनि लिएर आएका थिए । संयोगवश तुले रोहनीसँगको लडाइँमा आफू मारिने अवस्था आयो भने गाईको दूध मुखमा परोस् र परलोक सुधारियोस् भन्ने आशयले उनीहरुले दूध पनि सँगै ल्याएका भन्ने कथन छ । लडाइँमा जब जेठा राजकुमारले तरवारले तुले रोहानीको शिर छेदन गरे ठेकीको दूध छचल्किएर तुले रोहनीको छिनिएको टाउकामा प¥यो । गोरखाली पक्षका सेना, कर्मचारी र त्यहाँ विभिन्न ठाउँबाट ल्याइएका तालुकदार, जिम्मुवाल, भद्रभलादमी र तुले रोहनी पक्षका सिपाही र लडाकुहरु पनि छक्कै परे ।

रोहानी मारिएपछि पाखापानी गाउँका स्थानीयवासीको सुरक्षा जोखिम बढ्यो । गोरखाली पक्षले त्यहाँका स्थानीयवासीलाई खोजी खोजी मार्न थाल्यो । गोरखाली सैनिक र उसका पक्षका मानिसले मनपरी गर्न थाले । गोरखाली पक्षबाट बचेका व्यक्तिहरु भागे । धेरै पछिसम्म पनि गोरखाले पाखापानीमा निगरानी राखिरह्यो । भागेर अन्यत्र गएका मानिसहरुले गोरखाली पक्षको तारो बनिन्छ भनेर रोहानी थर नै परिवर्तन गरे । अहिले पनि पाखापानीमा मात्रै होइन देशैभरिका मगर समुदायमा रोहानी थर नभेटिएको इतिहासकार बानियाँले बताउनुभयो । यसरी तत्कालीन शासकको विरुद्ध विद्रोह गर्दा तुले रोहानी शहीद मात्रै बनेनन् मगर समुदायको एउटा थर नै लोप भएर गयो ।

कसरी सम्झन्छन् तुले रोहानीलाई पाखापानीवासी

तुले रोहानी मारिएको १८० वर्ष भइसकेको छ । हाल पाखापानीका सबैभन्दा जेठा व्यक्ति हर्कदेउ पूर्जा हाल ९० वर्षका हुनुहुन्छ । पूर्जाले आफ्ना बुबा सकबहादुर पूर्जाबाट पाएको जानकारीअनुसार तुले रोहानी हठी स्वभावका, कसिलो शरीर भएका, ३० वर्ष भित्रैका, होचो कद र श्यामवर्णका थिए ।

उनी अन्याय नसहने र कसैसँग नडराउने स्वभावका थिए । उनले त्यतिबेलाका पात्लेखेत र झीँ गाउँमा रहेका भलादमीहरुलाई मन पराउँदैनथे । ती गाउँका गन्यमान्य भनिएका जिमुवाल, मुखिया वा गोरखा राज्यका अन्य कारिन्दाहरु सधैँ रोहानीलाई दुःख दिइरहन्थे ।

हर्कदेउ पूर्जा भन्नुहुन्छ, “मैले सुनेअनुसार तुले पाइजा (तुलु राजा) ले पाखापानीमा शासन नै गर्न पाएनन् । राजा बनेको केही समयमा नै उनी गोरखे सरकारबाट मारिए ।” पूर्जाको विश्वास छ, “आफ्ना गाउँलेमाथि भएको अन्याय सहन नसकेर गोरखे सरकारसँग लड्ने तुुलु राजाले राज्य गर्न पाएको भए पक्कै पनि जनतालाई सुख दिन्थ्यो होला ।”

त्यसैगरी कोटगाउँका ७२ वर्षीय गौबहादुर शेरबुजाले सुनेअनुसार तुले रोहानी रिसाहा र बलिया थिए । उहाँले भन्नुभयो “डाँकोको भरमा गाउँलेलाई कजाउन सक्थे रे । अन्याय पनि नगर्ने र नसहने उनको बानी थियो भन्ने सुनेको हो ।”

कोटगाउँकै अर्का स्थानीय दलप्रसाद शेरपुंजाले सेवा र सुन्दर दुई भाइ भएका र सोलीडोली चलाउनका लागि भाइ सुन्दरलाई पाइजा थर दिई कोटगाउँबाट पाखापानी पठाएको र तुले रोहानी (पाइजा) पनि सुन्दरकै आठ पुस्ते सन्तति भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “लिखित इतिहास केही पनि छैन, सुनेकै भरमा थाहा पाउने हो, हामीले सुनेअनुसार त तुले पाइजा गोरखाली सेनाबाट मारिएका हुन् ।”

लखन थापा र तुले रोहानी (पाइजा) को समान उद्देश्य

विसं १८९१ मा गोरखा जिल्लाको साविकको बुकोट गाविस वडा नं ४ हालको शहीद लखन गाउँपालिका वडा नं ७ काहुले भंगार भन्ने ठाउँमा जन्मिएका लखन थापा विसं १९११ मा पुख्र्यौली मगर पल्टन (गोरख पल्टन) मा भर्ती भएका थिए ।

त्यतिबेला नेपालमा राणा शासन थियो । टेकबहादुर खत्रीद्धारा लिखित नेपालको सैनिक इतिहास नामक पुस्तकमा उल्लेख भएअनुसार भारतमा अङ्ग्रेजको उपनिवेश कायमै थियो । नेपालका जंगबहादुर राणाले भारतमा स्वाधीन भारतका विरोधी अङ्ग्रेजहरुलाई साथ दिए । यो कुरा लखन थापालाई मन परेन । उनले जंगबहादुरले नेपाल म्लेच्छ (अंग्रेज) लाई बेच्यो भनी विसं १९२७ सालमा आफ्ना मित्र जयसिंह चुमीलाई साथमा लिई सेनाको जागिर छोडेर गोर्खाको बुकोट काउले भंगारामा गए । त्यहाँ उनले राणा विरोधी सङ्गठन बनाइ जंगबहादुरको विरुद्धमा विद्रोह शुरु गरे ।

विसं १९३२ सालमा जंगबहादुरको शासन विरुद्ध एकताबद्ध जनसमुदायले लखन थापालाई प्रधानमन्त्री र जयसिंह चुमीलाई सेनापति घोषणा गर्यो । जंगबहादुर राणाले यो कुरा थाहा पाएपछि देवीदत्त पल्टनका सैनिकहरु गोरखामा पठाए । देवीदत्त पल्टन र लखन थापाको नेतृत्वको बिद्रोही सेनाबीच भिडन्त भयो । विसं १९३३ फागुन २ गते उनलाई झुण्ड्याएर मारियो ।

थापा र रोहानी दुवैको उद्देश्य राज्य विरुद्धको विद्रोह नै थियो । तर लखन थापालाई नेपालकै पहिलो शहीद घोषणा गरेर प्रजातान्त्रिक सरकारले सम्मान दियो भने सोही उद्देश्यका साथ बलिदानी दिएका रोहानीका बारेमा यथेष्ट मात्रामा खोजी नै गरिएन, गरिएको छैन ।

पर्वतको इतिहासका अनुसन्धाता बानियाँका अनुसार नेपालको इतिहासमा राज्यविरुद्ध विद्रोह र विप्लवको आवाज बुलन्द गर्ने तुले रोहानी नै प्रथम व्यक्तित्व हुन् । तुलेको विद्रोहमा त्यतिबेलाको समाजको राज्य व्यवस्थाप्रतिको असन्तुष्टि अभिव्यक्त भएको हो भनेर नमान्नु अन्याय ठहर्छ ।

पर्वत राज्यको अवशान

साहित्यकार तथा पर्वत राज्य बारेको अनुसन्धाता चन्द्रप्रकाश बानियाँका अनुसार आजभन्दा सवा दुई सय वर्षअगाडि बेनी बजारमा एउटा ठूलो रक्तरञ्जित काण्ड भएको थियो । विसं १८४३ असोज ४ गते पाल्पा र गोर्खाको संयुक्त फौजले पूर्व र दक्षिण दिशाबाट एकैसाथ पर्वतको राजधानी शहर बेनीमा आक्रमण ग¥यो । त्यहाँ दश दिनसम्म भीषण युद्ध चल्यो ।

धर्मशास्त्रले पनि हिंसा निषेध गरेको पितृ पक्ष (सोह्र श्राद्ध) को बेलामा बेनीको पावन भूमिमा रक्तपात मच्चियो । सयौँ मानिसको ज्यान गयो । दर्जनौँ पर्वते भाई भारदार र योद्धाहरु खोजी खोजी मारिए ।

स्थानीयका र सरकारी धन सम्पत्तिमा पनि व्यापक लुट मच्चाइयो । गोर्खाले लडाईँ जित्यो । पर्वतले युद्ध हारेको मात्रै होइन, तीनसय वर्षको गौरवमय इतिहासको पटाक्षप भयो । समालवंशी राजवंश विस्थापित भयो । पर्वतको स्वतन्त्र अस्तित्व समाप्त भयो । दश दिन लामो युद्धपछि विसं १८४३ असोज १४ गते पर्वत राज्य गोर्खामा विलयको घोषणा भयो । यसरी बेनीस्थित पर्वत राजप्रासादमा गोर्खाली झण्डा गाडियो ।

images
प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - १९:०२:११ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology