काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा प्रवासी नेपाली मञ्च,अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणमा राज्य गम्भीर हुनुपर्ने बताउनुभएको हो ।
उहाँले नेपाल जलस्रोत, जंगल, जडिबुटी, कृषि उपज, खनिज सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताका दृष्टिले सम्पन्न मुलुक भएपनि उपलब्ध स्रोतसाधनको दिगो र वातावरणमैत्री उपयोगमा जोड दिनुपर्ने बताउनु भयो । जलवायु परिवर्तन र प्राकृतिक विपद्का बढ्दो जोखिमलाई ध्यानमा राख्दै प्राकृतिक स्रोतमा आधारित हरित उद्योगको विकास गर्नुपर्ने उहाँको भनाइ छ । भण्डारीले जलविद्युत, खाद्य प्रशोधन, जडिबुटी, वन पैदावार तथा खनिजमा आधारित उद्योगको प्रवद्र्धन र वातावरणमैत्री पर्यटन विस्तारबाट रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गर्न तथा निर्यात प्रवद्र्धन गर्न सकिने बताउनु भयो ।
यस्ता सम्भावनालाई व्यवहारमा उतार्न स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलतालाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिनुभयो । प्रवासी नेपालीको लगानीलाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ । यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनले बताउनु भयो ।