Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल : समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल : समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म

images

इच्छाकामना न्युज

१९, कार्तिक २०८३
एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल : समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म
images

शुष्मा वोस्ती

स्याङ्जा । विश्व एक स्वास्थ्य दिवस २०२६ को अवसरमा स्याङ्जाको वालिङ नगरपालिकाले ‘एक स्वास्थ्य संवाद : समुदायदेखि नीतिसम्म’ विषयक कार्यक्रम सम्पन्न गरेको छ। समुदायमा एक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मानव, पशुपन्छी तथा वातावरणीय स्वास्थ्यबीचको अन्तरसम्बन्ध उजागर गर्ने र स्थानीय तहमा एक स्वास्थ्य नीतिको प्रभावकारी कार्यान्वयनका लागि साझा प्रतिबद्धता निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

‘समृद्ध समुदाय निर्माणको आधार : एक स्वास्थ्यमा साझा प्रतिबद्धता, सहकार्य र व्यवहार’ भन्ने नारासहित आयोजित कार्यक्रममा निकालिएको जनचेतनामूलक र्‍यालीले वालिङ बजार परिक्रमा गरेको थियो। कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी गैह्रे, जनस्वास्थ्य अधिकृत कमलप्रसाद पाण्डे, गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका डा.राजेश चौधरी, नेपाल वन हेल्थ इन्स्टिच्युटका सचिव संकल्प भट्टराई, कृषि विकास कार्यालय स्याङ्जाका निमित्त प्रमुख नारायण पाठक तथा कृषि विकास स्रोत केन्द्र गण्डकी प्रदेशका प्रमुख सुदीप रेग्मीलगायतले एक स्वास्थ्य अवधारणाको प्रभावकारी कार्यान्वयनका विषयमा धारणा राखेका थिए।

कार्यक्रममा वालिङ बहुमुखी क्याम्पसका विद्यार्थीहरूले एक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटकसमेत प्रस्तुत गरेका थिए। सहभागी सरोकारवालाहरूले मानव, पशुपन्छी, वनस्पति तथा वातावरणको स्वास्थ्य एकअर्कासँग अन्तरसम्बन्धित रहेको तथ्यलाई आत्मसात् गर्दै यसको व्यावहारिक कार्यान्वयनका लागि सातबुँदे ‘वालिङ एक स्वास्थ्य घोषणापत्र, २०८३’ जारी गरेका छन्। कार्यक्रम वालिङ नगरपालिकाको आयोजना तथा हेफर इन्टरनेशनल नेपाल, दियालो संस्था, नेपाल वन हेल्थ इन्स्टिच्युट र वालिङ बहुमुखी क्याम्पसको प्राविधिक सहयोग एवं समन्वयमा सम्पन्न भएको हो।

सडकबाट उठे एक स्वास्थ्यसम्बन्धी सवाल

कार्यक्रमअघि विद्यार्थी, स्वास्थ्यकर्मी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, प्राध्यापक, शिक्षक, कृषक, सहकारीकर्मी र टोल विकास संस्थाका प्रतिनिधिहरूले एक स्वास्थ्यसम्बन्धी सन्देशमूलक नारासहितका प्लेकार्ड बोकेर वालिङ बजार परिक्रमा गरेका थिए।

नगरपालिका कार्यालय परिसरमा पुगेर सम्पन्न भएको र्‍याली सडक नाटकमा परिणत भएको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेको नाटकमा समुदायमा देखिने एक स्वास्थ्यसम्बन्धी जोखिम र चुनौतीलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो। नाटकमा मानिस तथा पशुपन्छीमा एन्टिबायोटिकको अनुचित प्रयोगबाट बढ्दै गएको एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर), रेबिजलगायत पशुबाट मानिसमा सर्ने रोग, तरकारी उत्पादनमा विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा पार्न सक्ने असर र दूध, मासुलगायत पशुजन्य खाद्य पदार्थको स्वच्छता तथा सुरक्षाका सवाल उठाइएको थियो।

विशेषगरी पशु उपचारमा एन्टिबायोटिक प्रयोग गरेपछि तोकिएको प्रतीक्षा अवधि पूरा नगरी दूध उपभोग वा बिक्री गर्दा उत्पन्न हुन सक्ने जोखिम र खेतदेखि थालीसम्म खाद्य स्वच्छता कायम गर्नुपर्ने आवश्यकतालाई नाटकले प्राथमिकताका साथ उजागर गरेको थियो। मानिस,पशुपन्छी र वातावरणको स्वास्थ्य एकअर्कासँग जोडिएकाले यस्ता समस्याको समाधान कुनै एक व्यक्ति वा निकायको प्रयासबाट मात्र सम्भव नहुने र यसका लागि सबै क्षेत्रको संयुक्त पहल आवश्यक पर्ने सन्देश नाटकले दिएको थियो।

सडक नाटकका सवालमा बहुक्षेत्रीय संवाद

सडक नाटकपछि आयोजित ‘एक स्वास्थ्य संवाद : समुदायदेखि नीतिसम्म’ कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, मानव तथा पशु स्वास्थ्य विज्ञ, कृषि क्षेत्रका प्राविधिक, नेपाल वन हेल्थ इन्स्टिच्युटका प्रतिनिधि, किसान, सहकारीकर्मी, सरकारी निकाय तथा समुदायका सरोकारवालाबीच छलफल गरिएको थियो।

संवादमा रेबिज तथा अन्य जुनोटिक रोगको रोकथाम, मानिस र पशुमा एन्टिबायोटिकको जिम्मेवार प्रयोग, सुरक्षित कृषि उत्पादन, विषादी व्यवस्थापन, खाद्य स्वच्छता तथा वातावरण संरक्षणका विषयमा सम्बन्धित क्षेत्रको भूमिका र सहकार्यको आवश्यकताबारे छलफल भएको थियो।

छलफलले समुदायमा देखिएका स्वास्थ्य जोखिमलाई छुट्टाछुट्टै क्षेत्रका समस्याका रूपमा मात्र नहेरी मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, वातावरण र खाद्य प्रणालीसँग जोडेर सम्बोधन गर्नुपर्ने आवश्यकतालाई थप स्पष्ट पारेको थियो।

नीतिदेखि कार्यान्वयनतर्फ वालिङ

वालिङ नगरपालिकाले यसअघि नै एक स्वास्थ्यसम्बन्धी नीति तथा कार्यविधि स्वीकृत गरी यस अवधारणालाई आफ्ना नीति तथा कार्यक्रममा प्राथमिकता दिँदै आएको छ। यही पृष्ठभूमिमा आयोजित विश्व एक स्वास्थ्य दिवसले समुदायमा देखिएका समस्या, सरोकारवालाका सुझाव र स्थानीय सरकारको नीतिगत प्राथमिकतालाई एउटै प्रक्रियामा जोड्ने अवसर प्रदान गरेको छ।

कार्यक्रमले एक स्वास्थ्यलाई मानव स्वास्थ्य क्षेत्रको मात्र विषय नभई कृषि, पशुपालन, खाद्य सुरक्षा, वातावरण संरक्षण, शिक्षा तथा स्थानीय सुशासनसँग सम्बन्धित साझा विकासको अवधारणाका रूपमा अघि बढाउनुपर्ने सन्देश दिएको छ।

सातबुँदे ‘वालिङ एक स्वास्थ्य घोषणापत्र, २०८३’ जारी

कार्यक्रममा उठेका सवाल र सरोकारवालाका सुझावलाई समेट्दै सातबुँदे ‘वालिङ एक स्वास्थ्य घोषणापत्र, २०८३’ जारी गरिएको छ। घोषणापत्रमा एक स्वास्थ्य नीति तथा कार्यविधिको कार्यान्वयन, मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि तथा वातावरण क्षेत्रबीच समन्वय, रेबिजलगायत जुनोटिक रोगको रोकथाम, एन्टिबायोटिकको जिम्मेवार प्रयोग, सुरक्षित कृषि उत्पादन तथा खाद्य स्वच्छता प्रवर्द्धन गर्ने प्रतिबद्धता समेटिएको छ।

त्यसैगरी किसान, सहकारी, विद्यालय, स्वास्थ्य स्वयंसेविका, युवा तथा समुदायको सहभागिता बढाउने, साझा प्राथमिकताका आधारमा संयुक्त कार्ययोजना बनाउने, जिम्मेवारी निर्धारण गर्ने र नियमित समीक्षा गर्ने विषयलाई समेत घोषणापत्रमा समावेश गरिएको छ।

‘समृद्ध समुदाय निर्माणको आधार : एक स्वास्थ्यमा साझा प्रतिबद्धता, सहकार्य र व्यवहार’ भन्ने नारासहित जारी घोषणापत्रले एक स्वास्थ्यसम्बन्धी जनचेतनालाई व्यवहार परिवर्तन र संस्थागत सहकार्यसँग जोड्ने आधार तयार गरेको छ।

अन्य स्थानीय तहका लागि सिकाइको अवसर

विश्वव्यापी रूपमा मानव, पशु तथा वातावरणीय स्वास्थ्यलाई कृषि र खाद्य प्रणालीसँग एकीकृत गरेर हेर्ने एक स्वास्थ्य अवधारणाले महत्त्व पाइरहेको सन्दर्भमा वालिङ नगरपालिकाको पहललाई स्थानीय तहको नेतृत्वमा यस अवधारणालाई संस्थागत गर्ने प्रयासका रूपमा लिन सकिन्छ।

एक स्वास्थ्य नीति तथा कार्यविधि निर्माण, समुदायस्तरीय जनचेतना, बहुक्षेत्रीय संवाद र साझा घोषणापत्रलाई एउटै प्रक्रियामा जोडिएको यस पहलले अन्य स्थानीय तहलाई समेत एक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन र नीति कार्यान्वयनका लागि सिकाइ प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ।

आगामी दिनमा घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई स्पष्ट कार्ययोजना, जिम्मेवारी, आवश्यक स्रोत परिचालन र नियमित अनुगमनसँग जोड्न सके वालिङको अनुभव अन्य नगरपालिकामा समेत विस्तार गर्न सकिने सम्भावना छ। समुदायबाट उठेका स्वास्थ्यसम्बन्धी सवाललाई स्थानीय सरकारको नेतृत्वमा नीति, सहकार्य र व्यावहारिक कार्यान्वयनसम्म पुर्‍याउने वालिङको यो पहलले एक स्वास्थ्य अवधारणालाई स्थानीय तहमा स्थापित गर्ने नयाँ आधार तयार गरेको छ।

images
प्रकाशित मिति :कार्तिक १९, २०८३ बुधवार - १४:०९:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology