Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पूर्वी चितवनको धानमा गबारोको समस्या

पूर्वी चितवनको धानमा गबारोको समस्या

रासस

१०, भाद्र २०८०
पूर्वी चितवनको धानमा गबारोको समस्या
images

नारायणगढ । चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । धानखेतीका लागि यस समयमा मौसम प्रतिकूल भइदिँदा लगाइएको बालीमा गबारो रोगको सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले वताउनुभयो ।

images
images

धानमा देखिने गबारो कीरा पहेँलो र सेतो हुने गरेको उहाँले जानकारी दिनुभयो । यसले धान बालीलाई मात्रै नोक्सान गर्ने भए पनि गुलाबी र धर्के गबारोले अन्य बालीमा समेत असर पार्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पश्चिम चितवनमा ढिलो रोपाइ भएको हुँदा गबारोको समस्या लिएर किसान नआएको तर पूर्वी चितवनमा अलि पहिला रोपाइँ भएको थियो जहाँ गबारोको प्रकोप बढी देखिएको छ ।” यो रोग पश्चिम चितवनका खेतमा समेत फैलन सक्ने भएकाले कृषकलाई सजग गराइएको उहाँले बताउनुभयो ।

गबारोको माउले पातको टुप्पोतर्फको तल्लो सतहमा अण्डा पार्ने र अण्डाबाट लार्भा निस्की डाँठमा प्वाल पारेर प्रवेश गर्दछ । यसले गुबो खाँदै तल वा माथि गई धानको बोटलाई असर गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको मौसम धानमा रोग लाग्नका लागि उपयुक्त छ ।” दिउँसोमा घाम नलाग्ने, घाम लागिहाले पनि बादलसँगै लाग्ने हुँदा धानमा गबारो तथा ढुसी लाग्ने सम्भावना बढी हुने उहाँले बताउनुभयो ।

उहाँले धान बालीमा गबारोको प्रकोप सुरु भइसकेको भन्दै यसको व्यवस्थापनका लागि किसानलाई धानखेतमा नियमित निरीक्षण गरी पातको टुप्पोमा भएका गबारोका फुलहरू नष्ट गर्नसमेत अनुरोध गर्नुभएको छ । उहाँले थप्नुभयो, “गबारोको प्रकोप १० प्रतिशतभन्दा बढी भएमा कार्टप हाइड्रोक्लोराइड चार प्रतिशत वा फिप्रोनिल शून्य दशमलव तीन प्रतिशत वा क्लोरान्ट्रानिलिप्रोल शून्य दशमलव चार प्रतिशत जिआर ५०० ग्राम प्रतिकठ्ठाका दरले बालुवामा मिसाएर छर्न सकिन्छ ।”

रत्ननगर नगरपालिकाका कृषि विकास अधिकृत प्रवीण लामाले अहिले पूर्वी क्षेत्रमा गबारो रोगको सङ्क्रमण बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “खेतमा लागाइएका धानमा सङ्क्रमण दिनहुँ बढ्दै गएको छ, यसलाई नियन्त्रणका लागि हामी दैनिक खेत–खेतमा पुगेका छौँ ।” धान रोप्ने समयमा बीउको मुन्टा काटेर रोप्ने गर्दा गबारो कम लाग्ने उहाँले जानकारी दिनुभयो । यो सँगै यहाँका धान बालीमा पातको फेद डढुवा रोगको प्रकोपसमेत देखिएको छ । लगातार वर्षा, धानको बाक्लो रोपाइँ, माटोमा धेरै नाइट्रोजन भएमा पनि धानलाई ढुसीजन्य रोगले सङ्क्रमण गर्ने लामाको भनाइ छ ।

जिल्लामा २४ हजार दुई सय ४७ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आइएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार यस वर्ष ९५ प्रतिशत धान रोपाइँ भएको छ ।

images
प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - ०८:५५:३३ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology