आँबुखैरेनी । तनहुँ क्षेत्र नं. १ का संघीय सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णीम वाग्लेले आँबुखैरेनीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनीको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सांसद वाग्लेले स्थानीय सरोकारवाला र आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा सम्बोन्धन गर्दै सांसद वाग्लेले आँबुखैरेनी गाउँपालिकाको विकासका लागि आफु स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताएका छन् । जसका लागि स्थानीय सरकार पनि तयार हुनुपर्ने उनले बताए । उनले भने ‘समग्र तनहुँ क्षेत्र नं. १ को विकासका लागि म धेरै राम्रो राम्रो योजनाहरु तयार पारिरहेको छ, यसका लागि म स्थानीय सरकारहरुलाई समन्वय र सहकार्य गर्न आग्रह गर्दछु ।’
यस्तै कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले समग्रमा हालसम्म भए गरेका कामका उपलब्धिहरुका बारेमा जानकारी गराएका थिए भने यसपटक संघीय सरकारको बजेटमा आँबुखैरेनीलाई कमी गरेको प्रति गुनासो गरेका थिए । जसमा जवाफ दिदै सांसद वाग्लेले आफु संघीय बजेटको बाँडफाँट गर्ने प्रक्रिया सकिएपछि निर्वाचित भएकोले सोचे झै बजेट विनियोजनका लागि पहल गर्न नसकिएको बताए । आगामी वर्षमा आँबुखैरेनीमा संघिय बजेट ल्याउन अधिकत्तम पहल गरिने उनले बताए ।
यसैगरी सोही कार्यक्रमा गाउँपालिकाका हरेक विकासका काममा सहयोग र सहकार्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनी सधैं तत्पर रहेकोले गाउँपालिकाले सहकार्यमा समन्वय गर्न पार्टीका क्षेत्रिय सभापति अनिल श्रेष्ठले आग्रह गरे ।
कार्यक्रममा आँबुखैरेनीमा रहेका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु लगायत स्वतन्त्र पार्टीका कार्यकर्ता शुभेच्छुक र स्थानीयवासीहरुको उल्लेख्य सहभागीता रहेको थियो भने कार्यक्रमको अध्यक्षता राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनी राम श्रेष्ठले गरेका थिए ।