Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शहिद लखनको घैरुङमा पहिलो पटक व्यावसायीक रुपमा रेशम किराको खेती सुरु

शहिद लखनको घैरुङमा पहिलो पटक व्यावसायीक रुपमा रेशम किराको खेती सुरु

इच्छाकामना न्युज

८, श्रावण २०८०
शहिद लखनको घैरुङमा पहिलो पटक व्यावसायीक रुपमा रेशम किराको खेती सुरु
images

घैरुङ । गोरखाको सहिद लखन गाउँपालिकामा पहिलोपटक व्यावसायिक रुपमा रेशम किराको खेती गरिएको छ ।गाउँपालिकाको वडा नम्बर ६ घैरुङस्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले रेशम किराको व्यावसायिक खेती गर्न सुरु गरेको गाउँपालिकाका कृषिशाखाका ऋषि रोकाले जानकारी दिए ।

images
images

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषकले मिलेर समूहमार्फत रेशम किराको खेती गर्न सुरु गरेको उनले बताए । ‘पालिकाले समूहलाई रेशम किराको खेती गर्न सहयोग पुर्‍याउने उद्देश्यले फलामका ‘र्‍याक’ निर्माण र जग्गा भाडामा आर्थिक सहयोग गर्दै आएको छ’, शाखा प्रमुख रोकाले भने, ‘त्यसबाहेकको सहयोग समूहलाई प्रदेश सरकारले गर्दै आएको छ ।’

‘पहिलो पटक उत्पादन थाल्दा पाँच किलो मात्र कोकुन उत्पादन भएको थियो’, उनले भने, ‘यस पटक ५० केजी उत्पादन हुने अनुमान गरिएको छ ।’ धागो नै निकालेर बिक्री गर्दा बढी फाइदा हुने भए पनि प्रशोधनको काम भने सुरु भई नसकेकाले समूहले अहिले कोकुन नै बिक्री गर्दै आएको शाखा प्रमुख रोकाले बताए । धागो उत्पादन गरेर बिक्री गर्नसके प्रतिकेजी रु पाँच हजारमा बिक्री हुनसक्ने उनको भनाइ छ ।

फार्ममा यस पटक ६० हजार रेशम किरा हालिएको मनकामना रेशम खेती कृषि समूहकी सदस्य लिना थापामगरले बताइन् । ‘किराले २८ दिनदेखि नै कोकुन हाल्न सुरु गर्छ’, उनले भनिन्, ‘लगभग ४० दिनभित्रमा आम्दानी आइसक्ने अवस्थामा पुग्छ ।’ किरा राख्नुअघि घाँसको बगैँचा तयार गर्नसके महिनैपिच्छे किरा हालेर उत्पादन लिन सकिने उनले जानकारी दिइन् ।

‘रेशम किरा पाल्नका फार्मलगायतका संरचना निर्माण गर्न भने थोरै जग्गा भए पनि हुन्छ’, उनले भनिन्, ‘घाँस (किम्बु ) खेतीका लागि धेरै जग्गा आवश्यक पर्ने हुँदा समूहले करिब सय रोपनी जग्गा समूहले भाडा लिएर घाँस खेती गर्दै आएको छ ।’ करिब ७१ रोपनी जमिनमा घाँस उत्पादन राम्रो रहेको भए पनि बाँकी जमिनमा मल पु¥याउन नसक्दा घाँस राम्रो उत्पादन गतिलो हुन नसकेको उनको भनाइ छ ।

समूहले रेशम किराको व्यावसायिक खेती गर्न सुरु गरेपछि एक पटक मात्र उत्पादन लिएको उनले जानकारी दिइन् । ‘अब हुने उत्पादन यो दोस्रो पटक हो, पहिलोपटक अनुभव नहुँदा राम्रो आम्दानी लिन सकिएन’, उनले भनिन्, ‘यसपटक भने धेरै न ज्ञान प्राप्त भएको छ अब राम्रो हुन्छ भन्ने विश्वास छ ।’

रेशम किराको खेती हेर्नका लागि गाउँपालिकाभित्र र बाहिरबाट विद्यार्थी समेत आउने गरेको उनले बताइन् । ‘विद्यार्थी बारम्बार रेशम किराको खेती हेर्न आउँछन्’, उनले भनिन्, ‘विद्यार्थी आउँदा कोकन काट्ने, पानीमा राखेर धागो निकाल्नका सिक्ने अवसर पनि यहाँबाट पाएका छन् ।’ बिग्रिएका कोकुन विद्यार्थीलाई सिक्नका लागि प्रयोग हुँदै आएको उनको भनाइ छ ।

उत्पादित कोकुन बिक्रीका लागि बजार भने समस्या हुँदै आएको उनले जानकारी दिइन् । ‘हामीले उत्पादन गरे पनि समयमा बिक्री नहँुदा कोकनको तौल घट्ने गर्दछ’, उनले भनिन्, ‘भनेको समयमा खपत नहुँदा कोकुनलाई धेरै पटक सुकाउनुपर्ने भएकाले तौल धेरै गर्ने भएकाले समस्या हुने गरेको छ ।’ यस पटकको उत्पादन ढिलोसम्म राख्नुपर्दा ३०-३५ केजी अनुमान गरिएको कोकुन घटेर आठ केजी मात्र भएको उनले दुःखेसो गरिन् । गाउँपालिकाले जग्गा भाडाका लागि निरन्तर सहयोग गर्दैै आएको जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - १३:२४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology