कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ र चितवन क्षेत्र नं. २ का संघिय सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने बिच भेटवार्ता भएको छ । आज दिउँसो पालिका अध्यक्ष गुरुङकै कार्यकक्षमा दुई बिच भेटवार्ता भएको हो ।
भेटमा सांसद लामिछानेले इच्छाकामना गाउँपालिकाको विकाशका लागि आफु स्थानीय सरकारसँग सदैव सहकार्य गरेर मात्र अगाडी बढ्ने भएकोले सहकार्य गर्न अध्यक्ष गुरुङलाई आग्रह गरे । उनले भने ‘आफ्नै निर्वाचन क्षेत्र भएकोले इच्छाकामनामा हामी सबै मिलेर अगाडी बढौ र काम गरौं ।’

सांसदको आग्रहलाई स्वीकार गर्दै गाउँपालिका अध्यक्ष गुरुङले इच्छाकामनाको विकासका लागि सबैको भूमिका उत्तिकै रहेकोले मिलेरै अगाडी बढ्न तयार रहेको बताए । ‘मिलेर काम गर्न सके जनताको हित हुनेछ, हामी पनि मिलेर काम गर्न तयार छौं’ –उनले भने । अध्यक्ष गुरुङले गाउँपालिकाका ठुला योजनाहरुमा संघकै सहयोग आवश्यक रहेकोले पहल गरिदिन सांसद लामिछानेलाई आग्रह गरे ।

भेटवार्तामा सांसद लामिछानेले आफ्नो तर्फबाट पछिल्लो समय गाउँपालिकामा आएका योजना र बजेटहरु बारे जानकारी दिएका थिए भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरुले संघमा पहल गर्नुपर्ने गाउँपालिकाको विभिन्न योजनाहरुको बारे जानीकारी दिएका थिए ।
सांसद लामिछाने चितवन क्षेत्र नं. २ को संघिय सांसदमा निर्वाचित भएपछि पहिलो पटक इच्छाकामना आएका हुन् ।