काठमाडाैं । नेपालमा छोटो समयमै आम्दानी हुनसक्ने अपेक्षाका साथ लगानी गरिने क्षेत्रमध्ये धितोपत्र वा शेयर बजार र घरजग्गा कारोबार प्रमुख देखिएका छन् । तर अर्थतन्त्रका जानकारहरू यिनलाई संवेदनशील क्षेत्र मान्दछन्।
यस क्षेत्रका जानकारहरूले नाफाको अवसर र घाटाको पनि जोखिम रहेका यी दुवै क्षेत्रमा लगानी गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू हामीसँग बताएका छन्। कम लगानीमै पनि प्रवेश गर्न सकिने धितोपत्र बजारलाई अर्थतन्त्रका जानकारहरूले घरजग्गा कारोबारभन्दा जोखिमयुक्त लगानीको क्षेत्र मान्छन्। तर उद्योग र व्यवसाय गर्न समय वा पुँजी अभाव हुनेहरूका लागि यी दुवै व्यवसाय मुनाफाका क्षेत्र बन्न सक्ने जानकारहरू बताउँछन्।
धितोपत्र बजारमा लगानीका फाइदा
पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलका अनुसार धितोपत्र कम समय र कम लगानीमा पनि राम्रो नाफा आर्जन गर्न सकिने क्षेत्र हो।
“यसमा विद्यार्थीदेखि गृहिणीसम्मले लगानी गर्न सक्छन्। अरू रोजगारी गरेर पनि यसमा सहभागी हुन सकिन्छ। छुट्टै कार्यालय पनि सञ्चालन गरिरहनु परेन र कर्मचारी पनि चाहिएन ।,” पोखरेल भन्छिन्। तर उनका अनुसार देशको राजनीतिक अवस्था, बजारमा हुने तरलता र समय समयमा चल्ने हल्लाले बजारलाई प्रभावित गरिरहेको हुन्छ र त्यस्तो अवस्थामा लगानीकर्ताले विशेष ध्यान पुर्याउनुपर्छ।
नेपाल र विश्वकै अर्थतन्त्रमा आइरहेको उतारचढावको असर शेयर बजारमा पनि पर्ने अर्थशास्त्रीहरू बताउँछन्। लगानीकर्ताका लागि (शेअर) धितोपत्र बजार पनि आम्दानीको राम्रो स्रोत हुनसक्ने भए पनि यसको जोखिम बुझेर मात्रै लगानी गर्नु बुद्धिमानी हुने जानकारहरूको सुझाव छ।
धितोपत्र बजारमा लगानी गर्दा केमा ध्यान दिने?
पोखरेलका बुझाइमा लगानीकर्ताहरूले ध्यान पुर्याउनुपर्ने प्रमुख पाँच विषय यस प्रकार छन् :
-बजारको प्रवृत्तिलाई हेरेर लगानी गर्नु हुँदैन ।
-विगतमा ती कम्पनीले आर्जन गरेको नाफा हेर्नु पर्छ ।
-लाभांश दिने अवस्था र अभ्यास अध्ययन गर्नु पर्छ ।
-संस्थागत सुशासन र पारदर्शिता हेर्नु पर्छ ।
-शेयर बजारबारे आधारभूत जानकारी लिएर मात्रै लगानी गर्नु पर्छ।
“लगानीकर्ताहरूले लोभ र डर त्याग्नु पर्छ। बजार बढ्दा लोभ गरेर हतारमा नबेच्ने... र बजार घट्दा आफूसँग भएको एकदमै राम्रो स्टक छ भने हतार गरेर बेच्नु पनि हुँदैन,” पोखरेल भन्छिन्। “यो पैसा भनेको हामीले लगानी गरेको हो, पछि कम्पनीको मुनाफाबाट लाभांश पाउँछौँ भनेर हेर्नु पर्छ।”
‘ऋण लिएर लगानी गर्ने ठाउँ होइन’
धितोपत्र बजारमा नियमित लगानीकर्ता र पटके लगानीकर्ता गरी दुई प्रकारका लगानीकर्ता हुने अर्थशास्त्री चन्द्रमणि अधिकारी बताउँछन्। “छोटो समयका लागि गरिने 'ट्रेडिङ' हो कि लामो समय राखेर फाइदा लिने उद्देश्य हो, त्यसअनुसारको लगानी गर्नुपर्छ,” धितोपत्रमा लगानी गर्दा अपनाउनु पर्ने सावधानीबारे अधिकारी भन्छन्।
“तपाईँले शिक्षाका लागि राखेको, स्वास्थ्यका लागि राखेको र दैनिक घरव्यवहार चलाउन राखेको रकम अहिलेको अवस्थामा चाहिँ शेअर बजारमा लगानी नगर्नु राम्रो हो,” अधिकारी भन्छन्।
विशेषगरि दीर्घकालीन लगानीका लागि कम्पनीको ‘स्वास्थ्य’ हेरेर लगानी गर्नु उपयुक्त हुने उनी बताउँछन्। शेयर बजारका जानकारहरू बैंकबाट कर्जा लिएर यसमा लगानी गर्दा पनि जोखिम हुने बताउँछन्। मूल्यमा आउने उतारचढाव कम्पनीहरूको नाफा र घाटामा मात्रै निर्भर नहुने भएका कारण यसमा बचतको पैसा लगानी गर्दा जोखिम कम हुने जानकारहरूको सुझाव छ।
“यो बैंकबाट ऋण लिएर लगानी गर्ने ठाउँ होइन । 'यो मेरो बचत हो, एकदुई वर्ष यो नभए पनि मलाई गाह्रोसाह्रो पर्दैन' भन्ने लाग्छ भने त्यो पैसा बजारमा लगानी गर्नु पर्छ तर नियमित र आकस्मिक खर्चका लागि राखेको पैसा यसमा लगानी नगर्नु नै उचित होला ।,” पोखरेल भन्छिन्।
प्राविधिक जानकारी
नेपाल स्टक एक्सचेन्जका पूर्वपरामर्शदातासमेत रहेका कृष्ण गिरी शेयर बजारका प्राविधिक र नीतिगत जानकारी लिएर मात्रै यसको कारोबार गर्नु उचित हुने ठान्छन्। “छोटो अवधिको लागि लगानी गर्ने हो भने तपाईँले बजारमा भएको उतारचढाव के कारणले हुन्छ भन्ने जानकारी राख्नु पर्छ। त्यसका लागि प्राविधिक विश्लेषण र बजारको अवस्थाबारे एकदमै जान्न जरुरी छ,” उनी भन्छन्। “बजारको प्राविधिक विश्लेषण
जानियो भने बजार कुन दिशामा कसरी अघि बढिरहेको छ भन्ने जान्न सहयोग गर्छ। त्यसका लागि विभिन्न सूचकहरूबारे बुझ्नु र जान्नु पर्दछ।” उनको सुझावमा दीर्घकालीन लगानी गरेर मुनाफा कमाउने उद्देश्य हो भने कम्पनीको सम्पूर्ण अवस्थाबारे जान्नु जरुरी छ।
गिरी दीर्घकालीन लगानीकर्ताहरूलाई कम्पनीका निम्न कुराहरू हेर्न सुझाव दिन्छन् :
-कम्पनीको ब्यालेन्स शिट (वासलात)
-नाफा र घाटाको अवस्था
-कम्पनीको लगानी र आर्जनका माध्यमहरू
-शेयर संरचना र प्रतिशेअर आम्दानी
घरजग्गामा लगानी
अर्थतन्त्रका जानकारहरूका अनुसार नेपालमा धेरैले सुरक्षित लगानीको क्षेत्र ठान्ने गरे पनि घरजग्गाको कारोबारमा आफ्नो सम्पत्ति गुमाउनेहरू पनि छन्। “घरजग्गामा पनि धेरै उत्साहित भएर लगानी गर्ने क्षेत्र होइन। भोलि सरकारका नीति के आउँछन् त्यसले हामीले योजना गरेअनुसार घरजग्गालाई प्रयोग गर्न सक्छौँ कि सक्दैनौँ,” अर्थशास्त्री अधिकारी भन्छन्।
अधिकारीको सुझावमा घरजग्गामा लगानी गर्दा ध्यान पुर्याउनुपर्ने कुराहरू यी हुन् :
-आफ्नो प्रयोजन वा उद्देश्यका लागि उपयुक्त भए-नभएको ठम्याउनु पर्छ
-कानुनी कागजातहरू पूरा भए-नभएको जाँच गर्नु पर्छ ।
-नापअनुसार मिले-नमिलेको र विवाद तथा मुद्दामामिला भए-नभएको बुझ्नु पर्छ ।
कस्तो अवस्थामा घरजग्गाको लगानी जोखिममा पर्न सक्छ?
बैंकबाट धेरै ऋण लिएर घरजग्गामा लगानी गरेको अवस्थामा ब्याजदर र जग्गाको मूल्य तलमाथि हुनासाथ जोखिम बढ्ने अनि लिलामी नै हुनेसम्मको अवस्था पनि आउन सक्ने अधिकारी बताउँछन्। उनका अनुसार सरकारले लिएको नीतिका कारण पनि कहिलेकाहीँ जोखिम हुन सक्छ।
“सन् २००८ को अमेरिकाको सङ्कट पनि घरजग्गाबाटै सुरु भएको हो। घरजग्गामा अत्यधिक ऋण प्रवाह भएपछि घरहरू बिक्री हुन छाडे अनि बैंकको ऋण उठेन,” अधिकारी भन्छन्। बैंकहरूले ऋणमा कडाइ गर्नासाथ नेपालमा पनि घरजग्गा कारोबार र मूल्यमा प्रभाव पर्ने गरेको छ। तर विदेशको तुलनामा नेपालमा घरजग्गामा लगानी कम जोखिमयुक्त मानिने लगानीकर्ताहरूको दाबी छ।
नेपालमा घरजग्गाको क्षेत्रमा संस्थागतभन्दा व्यक्तिगत लगानी र कारोबार धेरै हुने भएकाले यहाँ नियमनको पनि समस्या रहेको जानकारहरू औँल्याउँछन्। घरजग्गा कारोबारमा हुनसक्ने जोखिमका लागि सरकारी नीति नै सबैभन्दा महत्त्वपूर्ण कारक रहेको जग्गा तथा आवास विकास महासङ्घका पूर्व अध्यक्ष मीनमान श्रेष्ठ बताउँछन्।
‘लगानीका लागि सानो पुँजीले पुग्दैन’
नेपालमा आवास र घरहरूको निर्माणका क्षेत्रमा संस्थागत लगानी बढिरहेको श्रेष्ठको बुझाइ छ। “नेपालमा जग्गाजमिन व्यक्तिको नाममा हुने भएकाले जग्गा र त्यसमा बनेको सम्पत्तिको मूल्य बढ्छ ।,” श्रेष्ठ भन्छन्। उद्योग र व्यापारमा लगानी गर्नु चुनौती रहेका कारण पनि घरजग्गाको कारोबार सुरक्षित हुने कतिपयको बुझाइ छ।
“घर र अपार्टमेन्टमा दुईदेखि चार वर्षमा मुनाफा कमाउन सकिन्छ। अझ जग्गाको कारोबारमा त्योभन्दा छोटो अवधिमै नाफा कमाउन सकिन्छ,” श्रेष्ठ भन्छन्, “तर जग्गाको कारोबारले देशको कुल गार्हस्थ उत्पादनमा उल्लेख्य योगदान गर्दैन।” घरजग्गामा लगानी गर्दा हुने चुनौती भनेको सानो पुँजीले यसमा लगानी गर्न सकिँदैन। “यसका लागि हामीले २० करोड चुक्ता पुँजी भएका कम्पनीहरूलाई पनि सार्वजनिक कम्पनीमा लगेर सर्वसाधारणलाई पनि शेयर स्वामित्व दिने नीति ल्याउनुपर्छ भनिरहेका छौँ ।,” श्रेष्ठले भने।
शेयर बजार र घरजग्गा कारोबारको सम्बन्ध
शेयर बजारका जानकार गिरीको बुझाइमा घरजग्गा र धितोपत्र बजार दुवै एकअर्काका परिपूरक हुन्। “मानिसहरूले एकै चोटी दुवैमा लगानी गर्दैनन्। यदि सरकारको कुनै नीतिले घरजग्गाको मूल्यलाई उकास्ने देखिएको छ भने मानिसहरू शेयर छोडेर जग्गा किन्न जान पनि सक्छन्। फेरि कुनै कारणले घरजग्गामा मन्दी आयो वा मूल्यको वृद्धिदर कम भयो भने शेयरमा आउँछन् ।,” गिरी भन्छन्। तर शेयर कारोबार आफ्नो क्षमताअनुसार केही हजार रुपैयाँको लगानीमा पनि गर्न सकिन्छ भने घरजग्गा ठूलो मूल्यको हुन्छ र यसलाई टुक्राएर बेच्न सकिँदैन। “अहिले काठमाण्डूको चक्रपथभित्र आनाको ६०-७० लाख (रुपैयाँ प्रति आना) होला। त्यो पनि एकदुई आना किन्न वा बेच्न पाइँदैन,” उनी भन्छन्, “तर शेयर १० वा २० कित्ता किनबेच गर्न पनि पाइयो।”बीबीसी नेपालीबाट