Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लघुवित्त संस्थामा समेत अर्को ठगी, बचतकर्ताका नाममा ऋण निकालेर डेढ करोड हिनामिना

लघुवित्त संस्थामा समेत अर्को ठगी, बचतकर्ताका नाममा ऋण निकालेर डेढ करोड हिनामिना

इच्छाकामना न्युज

३१, जेठ २०८०
लघुवित्त संस्थामा समेत अर्को ठगी, बचतकर्ताका नाममा ऋण निकालेर डेढ करोड हिनामिना
images

कञ्चनपुर । लघुवित्तमा एक पटकमा कतिसम्म ऋण पाइन्छ; ५ लाख, १० लाख वा १५ लाखसम्म । तर यहाँको एक लघुवित्तले एउटै व्यक्तिको नाममा ३५ लाखसम्म ऋण दिएको छ । त्यो पनि जसको नाममा ऋण छ, उसलाई होइन । लघुवित्तकै कर्मचारीले किर्ते कागजात तयार गरी रकम हिनामिना गरेका छन् । 

images
images
यति मात्रै होइन एक पटक ऋण लिएर चुक्ता गरिसकेको भए पनि फेरि त्यहि व्यक्तिका नाममा पटक-पटक ऋण निकालिएको छ । सम्बन्धित व्यक्तिलाई थाहै नदिई कर्मचारीले नै उक्त रकम हिनामिना गरेका छन् ।

नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका तत्कालीन शाखाप्रमुख सहित ५ जना कर्मचारीले बचतकर्ताको नाममा विभिन्न शीर्षकमा ऋण निकालेर हिनामिना गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । तत्कालीन शाखाप्रमुख भीमदत्त नगरपालिका १४ बनकट्टीका दीर्घराज जोशीसहित ५ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा १ करोड ३१ लाखसम्म हिनामिना भएको देखिन्छ । निवेदनहरू आउने क्रम जारी रहेकाले यो रकम अझै बढन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए । उनका अनुसार सुरुमा ७२ लाख हिनामिना भएको भन्दै लघुवित्तबाटै जाहेरी आएको थियो । सोही जाहेरीका आधारमा अनुसन्धान गर्दा झन्डै डेढ करोड हिनामिना भएको देखिएको हो ।

लघुवित्तका हालका शाखा प्रमुख नीलकण्ठ घिमिरेले आर्थिक हिनामिना भएको भन्दै वैशाख २९ मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले सुरुमा जेठ १ मा तत्कालीन शाखाप्रमुख जोशी, लेखाअधिकृत भागरथी कुँवर र बचतकर्ता शारदा थापालाई पक्राउ गरेको थियो । अनुसन्धानमा थप दुई जनाको पनि संलग्नता देखिएपछि फिल्ड कर्मचारी सरस्वती भट्ट र आरती पुनलाई समेत पक्राउ गरेको हो । भट्टलाई जेठ ९ मा र पुनलाई जेठ ८ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘बचतकर्ताले एक लाख ऋण निकाल्दा कर्मचारीले आठ-दश लाखसम्म हिनामिना गरेको देखिन्छ,’ प्रहरी निरीक्षक चन्दले भने, ‘ऋण निकालेका व्यक्तिका नाममा पटक पटक ऋण निकालेर तिर्नै नसक्ने बनाएका छन् ।’ उनका अनुसार पाँचै जनाले हालसम्म ८६ जनाको नाममा ऋण लिएको देखिएको छ । पीडितहरुको निवेदन आउने क्रम जारी रहेकाले यो संख्या अझै बढ्न सक्छ । सुरुमा ७२ लाख हिनामिना र कागजात किर्ते गरेको जाहेरी परेको थियो ।

पक्राउ परेका पाँचै जनामाथि बैंकिंङ कसुरअन्तर्गत मुद्दा दर्ता भएको प्रहरी निरीक्षक चन्दले बताए । उनीहरूमाथि जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए । उनीहरूमाथि किर्तेमा पनि मुद्दा चलाउने विषयमा अनुसन्धानको तयारी भइरहेको चन्दले बताए ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा २०७४ मा स्थापना भएको हो । हाल संस्थाका २ हजारभन्दा बढी बचतकर्ताहरू रहेका छन् । संस्थाका शाखाप्रमुख नीलकण्ठ घिमिरेले संस्थाको बचत तथा ऋणमा केही कैफियत देखिएकाले अनुसन्धान भइरहेको भन्दै यस विषयमा बोल्न चाहेनन् । उनले अनुसन्धानकै क्रममा रहेकाले धेरै कुरा बोल्न नमिल्ने बताए ।

केही समय अघिसम्म शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट ठगिएका घटनाहरू बाहिर आइरहेको थिए । उक्त घटना सेलाउन नपाउँदै लघुवित्तमा अर्को ठूलो घटना बाहिर आएको हो । शिव शिखर बहुउद्देश्यीयबाट ठगिएका २४ सय ९७ जना बचतकर्ताले २ करोडभन्दा बढीका ठगी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । तर‚ उक्त लघुवित्तमा करोडौं रकम हिनामिना भएको र केही ठूला बचतकर्ताले प्रहरीमा हालसम्म उजुरी गरेका छैनन् ।

images
प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - २१:०९:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology