Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कृषिका अनुदानमा हुनेखानेको रजाइँ 

कृषिका अनुदानमा हुनेखानेको रजाइँ 

सिआईएन

५, माघ २०७७
कृषिका अनुदानमा हुनेखानेको रजाइँ 
images

विनोद शर्मा, काठमाडौ, ५ माघ । पर्वतको फलेवास नगरपालिका वडा नम्बर १० कुर्घाका शोभा क्षेत्रीले उन्नत जातका १५ वटा गाई पाल्नुका साथै ५ वटा प्लास्टिक टनेलमा तरकारी खेति गर्न थालेको ७ वर्ष भयो । काँक्रा र जेठो बुढो धानको बीउसमेत उत्पादन गर्दै आउनु भएका शोभाले २ वर्ष अघि प्रदेश सरकारबाट ५० प्रतिशत अनुदानमा १३ लाख पाउने सम्झौता भयो तर अन्तिम मुल्याङ्कनका क्रममा उहाँले ९ लाख रुपैंयाँ मात्रै पाउनुभयो । 
‘सुरुमा मैंले ७ वटा गाई पालेको थिएँ । प्रदेश मन्त्रालयले अनुदान दिने भनेर सूचना निकालेपछि प्रश्तावना पेश गरें । १३ लाख मैंले लगानी गर्ने १३ लाख प्रदेश सरकारले दिने गरी २६ लाखको सम्झौता भयो ।’ हराभरा सामाजिक उद्यमी सहकारीका अध्यक्षसमेत रहनुभएका क्षेत्रीले भन्नुभयो, ‘अर्केको जग्गा लिजमा लिएर गोठ बनाएँ, सँगै पानी तताउने हिटर र घाँस काट्मे मेसिन किनेँ । स्टिमेट अनुसारकै काम गर्दा पनि मुल्याङ्कन १८ लाखको मात्रै भयो र प्रदेश सरकारबाट मैंले ९ लाख रुपैंयाँ मात्रै पाएँ ।’ 
गाउँको जग्गा जमिन शहरको भन्दा कम दरमा मुल्याङ्कन हुँदा ऋण तथा अनुदानका लागि अप्ठेरो भएको अनुभव क्षेत्रीको छ । ‘दुध उत्पादनको पकेट क्षेत्रमा रहेकोले हामीले सहकारीमार्फत दुध विक्री गर्दा स्थानीय सरकार र प्रदेश रिकारबाट गरी ५ रुपैंयाँ प्रतिलिटर अनुदान पाएका छौं । अनुदानमा किसानको पहुँच पुर्याउनका लागि सहकारप् पनि राम्रो माध्यम बन्न सक्ने मेरो अनुभव छ’ उहाँले भन्नुभयो । 
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का गोविन्द सुवेदीले ७ वर्षदेखि व्यक्तिगत लगानीमै २ सय वटा बोरसहितका बाख्रा पालिरहनु भएको छ । सिम्मलथली उन्नत बाख्रा फर्मका सञ्चालसमेत रहनुभएका सुवेदीले अनुदानका लागि २ पटक पहल गर्नुभयो । एभरेष्ट बैँकबाट अहिले भने उहाँले एक करोड रुपैयाँ सहुलियत दरको ऋण पाउनु भएको छ । 
‘सरकारले दिने भनेको अनुदानचाँहि साँच्चिकै काम गर्नेलाई दिँदो रहेनछ । जो काम गर्दैन झोलामा फार्म (काजगपत्र र छाप) बोकेर अनुदानकै पछि दौडन्छ उसैले पाउनेरहेछ । हामीजस्ता साँच्चैका किसानलाई फार्मको रेखदेख तथा आहार व्यवस्थापनमै. समय बित्छ । कर्मचारीलाई रिझाउन बाहिरबाट सेवा सुविधा दिन नसकेपछि अनुदान कसरी पाउनु ?’ सुवेदीले भन्नुभयो, ‘अनुदान पाइएन भन्न पनि मिल्दैन । सरकारले सहुलियत दरको ऋण दिन गरेको निर्देशन अनुसार मैंले पनि अघिल्लो वर्ष एभरेष्ट बैंकबाट एक करोड रुपैंयाँ सहुलियत व्याजदरको ऋण पाएको छु । सरकारले बीमाका लागि प्रिमियममा दिने ७५ प्रतिशत अनुदान पनि पाइराखेका छौं । यसरी हेर्दा मैंले यस वर्ष १० लाख रुपैंयाँ बराबरको अनुदान रकारका तर्फबाट पाएको छु ।’ वास्तविक किसान पहिचान गरेर अनुदान दिनसके मात्रै नेपाल सरकारले लिएको सम्बृद्ध नेपाल सुखी नेपालीको लक्ष्य वा अभियान पुरा हुने सुवेदीको भनाइ छ । 
शैक्षिक योग्यता कम वा धेरै भए पनि खेतीपातीमै लागेका किसानले अनुदानमा दावी गर्न पाउने कार्यविधिमा भनिएको छ । एउटै व्यक्तिले स्थानीय तह, प्रदेश सरकार र संघबाट कृषि अनुदान पाएको गुनासो राष्ट्रिय किसान आयोगमा बढ्दै गएको छ । 
टाठाबाठा र कर्मचारीको नजिकमा रहेका व्यक्तिहरुले मात्रै अनुदान पाइरहेको आयोगका सदस्य तथा प्रवक्ता रबिन्द्र केसीको बुझाइ छ । ‘अनुदान वितरणमा कर्मचारी हावी भएको पाइएकोले आयोगले त्यसको नियन्त्रणका लागि सुझाव दिएको छ । अनुदानमा दोहोरोपना तेहेरोपना हुन नदिनका लागि तथ्याङ्क राख्ने र वास्तविक किसान पहिचान गर्न, किसानको सहज पहुँच हुने गरी सूचना प्रवाह नभएको पनि हआमीले पाएका छौं ।’ के.सी.ले भन्नुभयो– ‘गाउँपालिका नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको परिचालन गरी अनुदान र पाउने प्रक्रियाका बारेमा व्यापक प्रचारप्रसार हुनुपर्छ । दुरदराजका किसानले अनुदानका लागि भर्नु पर्ने फर्म र फम्र्याट भर्न पनि जान्दैनन् । हिजो पक्षपातपूर्ण ढँगले वितरण भइरहेको थियो । अब किसानको सहज पहुँचका लागि कर्मचारी र जनप्रतिनिधि समेत फिल्डमा गएर मुल्याङ्कन गर्नुपर्छ । फर्म भर्न काजगात तयार गर्न सघाउनुपर्छ ।’ 
कुल अनुदान रकम ४० अर्बमध्ये सीधै किसानको हातमा २० वर्ब जान्छ भने बाँकी रासायनिक मल, कृत्रिम गर्भाधान, बीउ विजन लगायतमा जाने गरेको छ । तर किसानको अनुदान गैरकिसानले पाएको उजुरीपछि संसदीय समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले दिएको निर्देशन पनि मन्त्रालय तथा मातहतका निकायबाट कार्यान्वयन नभएको विघटित प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बताउनुभयो। ‘अनुदान लिने प्रक्रिया जटिल भएको, मागे अनुसारको कागजातहरु त्यार गर्न कठिन भएको, झोलामा कागजात बोकेर हिड्ने, गैरसरकारी संस्था चलाउने वा काम गर्ने, टाठाबाठाले मात्रै अनुदान पाएको गुनासो जनताबाट आएपछि समितिमा पटक पटक छलफल भयो ।’ सभापति सुवेदीले भन्नुभयो, ‘मन्त्रालयका तर्फबाट प्रक्रिया सहज बनाउने र वास्तविक किसानको पहुँचसम्म अनुदान पुर्याउने प्रतिवद्धता पाएका थियौं । कार्यान्वयन भए नभएको विषयमा बुझ्न र फलोअप गर्नका लागि अहिले त संसद नैं छैन ।’ 
किसानले झण्झटिलो कानूनी प्रक्रियाका कारण पनि अनुदानमा दावी गर्न नसक्ने अवस्था छ । कृषि क्षेत्रको अनुदानको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदनले पनि भूमिहिन, साना किसान लगायतको पहुँचमा पुग्ने गरी अनुदान वितरण गर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ । दुई वर्षअघि अर्थ मन्त्रालयमा पेश भएको यो प्रतिवेदन भने अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन । 

images
images

images
प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - १८:२५:२६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology