कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले पहाडी भुगोलमा रहेका किसानहरुले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीको लागि कृषि एम्बुलेन्स खरिद गर्ने तयारी थालेको छ । विशेष गरेर गाउँपालिकाको वडा नं. १, २ र ७ नं. वडाको पहाडी भू–भागमा रहेका किसानहरुलाई लक्षित गरि उक्त एम्बुलेन्स खरिद गर्न लागिएको हो ।
यसका लागि गाउँपालिकाले साझेदारीमा ४० लाख रुपैयाँको बजेट व्यवस्थापन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले जानकारी दिए। उनका अनुसार गाउँपालिकाले उक्त बजेटबाट ३ वटा कृषि एम्बुलेन्स खरिद गर्नेछ । स्थानीय कृषि समूह तथा सहकारीहरुसँग सहकार्य गरी ती एम्बुलेन्स सन्चालन गरिनेछ । साथै कृषि एम्बुलेन्समा सहकारीको २५ प्रतिशत, गाउँपालिकाको २५ प्रतिशत र नेपाल सरकारको ५० प्रतिशत लगानी रहने प्रमुख प्रशासकीय अधिकृत भुषालले बताए ।
यस्तै किसानहरुले आफ्नो उत्पादन सहज र सर्वसूलभ मूल्यमा बजार ढुवानी गर्न सक्ने वातावरण बनाउनको लागि गाउँपालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । ‘हामीले कृषि उत्पादनको योजनालाई उच्च प्राथमिकता दिदै अगाडी बढेकोले कृषि उत्पादन बजारीकरणका थुप्रै योजनाहरु ल्याएका छौं, त्यस अन्तर्गत कृषि एम्बुलेन्स पनि एक हो’ –उनले भने ‘यसले किसानहरुको उत्पादन ढुवानीमा सहजीकरण गरी बेलैमा बजार पुर्याउन सके उचित मूल्य पाउने र बेलैमा ढुवानी गर्न नसकेर यतिकै खेर फेल फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएका छौं ।’
साथै गाउँपालिकाले कृषि उत्पादनलाई जोड दिदै कृषकहरुको लागि बाझो जमिनमा व्यावसायिक खेती गर्ने किसानहरुको लागि लाखौ रुपैयाँ अनुदानको व्यवस्था समेत गरेको उनले बताए ।