चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुन लागेको १४औँ संस्करणको चितवन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। पुस २५ देखि माघ ४ गतेसम्म हुने महोत्सवको उद्घाटन गर्न भने अर्थमन्त्री विष्णु पौडेल आउने आयोजकले जनाएको छ।
मंगलबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको पहिचान, यहाँको बहुआयामिक विविधता, पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटनको उत्कृष्ट गन्तव्य चितवन हो भन्ने विषयमा महोत्सव केन्द्रित रहने जानकारी दिए। महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पोल्ट्री तथा उद्योग प्रवर्द्धनका गतिविधि सञ्चालन हुने श्रेष्ठले जानकारी दिए।
यसवर्षको महोत्सवमा सात वटा विशेष स्टल, डोम, र कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर र घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित ४५० वटा स्टलहरु रहने छन्। महोत्सवमा राखिने सम्पूर्ण स्टलहरुको बीमा गरिएको अध्यक्ष श्रेष्ठले बताए।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिहरुको भेषभूषा, कला संस्कृति झल्कने विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपजको प्रर्दशनी रहनेछ।
पुस २८ देखि माघ २ सम्म खाना महोत्सव
चितवन महोत्सवअन्तर्गत परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबलको आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताए। त्यस्तै पुस २९ देखि माघ ३ गतेसम्म कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रहि विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गरिने श्रेष्ठले जानकारी दिए।
महोत्सवमा फर्न पार्क सञ्चालन गरिने भन्दै श्रेष्ठले महोत्सव परिसरमा हुन सक्ने दुर्घटना तथा विपद्लाई मध्येनजर गर्दै महोत्सव अवधीभर एम्बुलेन्सको व्यवस्था, उद्धार टोलीको व्यवस्था, प्राथमिक उपचार केन्द्र, निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यक्रमहरु हुने श्रेष्ठले बताए । यसपटकको महोत्सवमा मौरी र तोरीलाई प्रवर्द्धन गर्ने उद्देश्यले मौरीको प्रतिमासहित तोरीबारीको निर्माण गरी कृषि कर्मतर्फ आकर्षित गर्न लागेको श्रेष्ठको भनाइ छ।
चितवन महोत्सव २०७९ मा कलात्मक प्रवेशद्वारका साथै कलात्मक आकृतिहरु निर्माण गरिने श्रेष्ठले बताए। स्थानीय प्रशासनको सहकार्यमा सुरक्षा व्यवस्था मजबुत पारिनुका साथै महोत्सवस्थलमा सिसिटिभी क्यामेराबाट २४ सै घण्टा निगरानी गरिने उनले बताए। महोत्सव परिसरमा फ्रि वाईफाईको व्यवस्था गरिनुका साथै अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिलालाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए।
महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई रु ६० तथा विद्यार्थीका लागि रु ३० को टिकटको व्यवस्था गरिएको श्रेष्ठले बताए। आन्तरिक तथा बाह्य पर्यटक सहित करिब पाँच लाखले महोत्सवको अवलोकन गर्ने अपेक्षा राखेको आयोजकले महोत्सव अवधिभर करिब रु २५ करोडको कारोबार हुने अनुमान गरेको छ।