आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय स्रोतबाट प्राप्त हुने कच्चा पदार्थ र समुदायसँग भएको शीपलाई उत्पादनसँग जोड्दै घरेलु उद्योग खोल्ने तयारी थालेृको छ । गाउँपालिकाले विशेष गरेर बाँसबाट उत्पादन हुने सामाग्रीहरु र कृषि औजारहरु उत्पादन गर्ने गरी घरेलु उद्योग सञ्चालन गर्ने तयारी थालेको हो ।
गाउँपालिका अध्यक्षमा शुक्र चुमान निर्वाचित भएसँगै आँबुखैरेनीको विकाश र समृद्धिका लागि अक्रामक रुपमा प्रस्तुत हुदै एकपछि अर्को काम गर्ने क्रममा गाउँपालिकाले करोडौं लगानीमा आफ्नै घरेलु उद्योग खोल्न लागेको हो ।
गाउँपालिकाले खोल्न लागेको उद्योगमा स्थानीय समुदायसँग भएको बाँसबाट उत्पादन हुने घरेलु सामाग्री र कृषि औजार सम्बन्धी स्थानीय व्यक्तिहरुको शीप प्रयोग गर्ने र स्थानीय स्तरमा उत्पादन हुने कच्चा पदार्थहरु नै प्रयोग हुने गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । ‘यसले स्थानीय स्रोत र शीपको प्रयोग हुनुका साथै उद्योग मार्फत रोजगार सृजना भै आम्दानीको स्रोत समेत बढ्नेछ’ उनले भने ।
उद्योगमा स्थानीय रुपमा उत्पादित बाँस र कवाँडी सामाग्रीहरुलाई कच्चा पदार्थको रुपमा प्रयोग गरिनेछ ।
उद्योग सञ्चालनका लागि गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँग एक सम्झौता समेत गरेको छ । गाउँपालिकाले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत परम्परागत प्रविधिमा सुधार सम्बन्धि एकिकृत उद्यम विकास केन्द्र संचालन सम्बन्धि परियोजना मार्फत २ करोड रुपैयाँमा उद्योग खोल्ने सम्झौता आईतबार गरेको छ ।
उद्योग संचालनको लागि गाउँपालिकाले ६० लाख रुपैयाँ लगानी गर्नेछ भने परियोजना मार्फत १ करोड ४० लाख लगानी हुनेछ ।
यस्तै पहिलो चरणमा २ करोड लगानी भएपनि पछि पब्लिक प्राईभेट पार्टनरशीप अन्तर्गत निजि संस्थाहरुसँग सहकार्य गरेर उद्योगलाई ठूलो रुप दिईने सोच पनि गाउँपालिकाले बनाएको अध्यक्ष चुमानले बताए । उद्योगको स्थापना मार्किचोक स्थित मस्र्याङ्गदी ड्याम अगाडी गाउँपालिकाको निर्माणधिन उद्योग ग्राममा गरिने उनले बताए ।