सुशीला ओली, दाङ । दाङको देउखुरी क्षेत्रका कुमाल समुदाय यतिखेर पाला बनाउन र बेच्न व्यस्त छन् । तिहारको समयमा उनीहरूले बनाउने गरेको माटोको दियो र पालाको माग पनि बढ्दै गएको छ । आधुनिकताको प्रयोगले बजारलाई ढाकेपनि परम्परागत रुपमा बनाइने माटाका भाँडाहरूको प्रयोग घटेको छैन ।
५२ वर्षदेखि माटाका भाँडा बनाउँदै आउनुभएका दाङको गढवा गाउँपालिकाका६८ वर्षका गाजुरामकुमालले अन्य समयको तुलनामा तिहारमा पाला धेरै बिक्ने बताउनुभयो । कक्षा ९ मा पढिरहनुभएका बिनायक कुमालले विद्यालय विदाको समयमा माटोबाट बन्ने गमला, पैना, खुत्रुके, घंैटा लगायतका सामग्री बनाउन सिकिहरेको बताउनुभयो ।
अहिले पालाको माग रहेकाले अरु सामग्री बनाउन छोडेर पाला नै बनाइरहेको उहाँको भनाइ छ । दाङको देउखुरी क्षेत्रमा कुमाल समुदायको लगभग ५ हजार जनसङ्ख्या रहेको छ । जसमध्य अधिकांशले माटोको पाला बनाउने गरेका छन् । यहाँ बनेको माटोको पाला उपत्यकासहित दाङ, प्युठान, कपिलवस्तु सल्यान र रोल्पासम्म बिक्री हुने गरेको छ ।