अविनाश आचार्य, पोखरा । पोखरामा आयोजना गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना महामारीका कारण पोखराको पर्यटन लयमा नफर्किसकेको अवस्थामा खेलकुद प्रतियोगिता आयोजना हुँदा पर्यटन क्षेत्रमा चहलपहल बढेको हो ।
रामबजारस्थित पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहँदा अमरसिंहदेखि जिरो किलोसम्मको सडकसँगै पोखराका होटलहरू भरिभराउ भएका छन् भने व्यवसायीहरूलाई सामान बेच्न भ्याइनभ्याइ भएको छ ।
रङ्गशालाको छेवैमा चटपटे बेचिरहनुभएका श्रीकृष्ण पनेरुले झण्डै महिनाभर हुने व्यापार पछिल्लो केही दिनमै भएको बताउनुभयो । प्रतियोगिता अवधिभर झण्डै ५० हजार जना पोखरा पुग्ने राष्ट्रिय खेलकुद परिषद्को अनुमान छ ।
कोरोनाले थला पारेको पोखराको पर्यटन क्षेत्रमा आवद्ध दुई हजार पर्यटन व्यवसायीलाई राष्ट्रिय खेलकुद प्रतियोगिताले उत्साही बनाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष ओमनारायण श्रेष्ठले बताउनुभयो ।
पोखराको पर्यटन क्षेत्रमा एक खर्बभन्दा बढीको लगानी रहेको अनुमान छ । कोरोनापछि पर्यटकीय गतिविधि बढ्न नसक्दा चिन्तित बनेका व्यवसायीलाई नवौँ राष्ट्रिय खेलकुदले थोरै भएपनि राहत दिएको छ ।