दान बहादुर गुरुङ, धादिङ । धादिङको बेनीघाट रोराङ तरकारी खेतीका लागि उर्बर भुमि हो । यहाँका कृषकहरु तरकारी खेतीमा निर्भर छन् । तर उत्पादन गरेका तरकारी बिक्री गर्न उचित बजार नहुँदा कृषकहरु समस्यामा परेका छन् बेनीघाट रोराङमा व्यापारीहरु नजादाँ चितवनको इच्छाकामना ३ फिस्लिङमा तरकारी ल्याएर बिक्री गर्नु पर्ने बाध्यता रहेको किसानहरु बताउँछन् ।
बेनीघाट रोराङ १० गोइराङकी सपना गुरुङले व्यपापारीहरु नजादाँ फिस्लिङ ल्याउनुपरेको बताउनुभयो । गुरुङले भन्नुभयो, ‘सहकारी भएपनि व्यपारीहरु नआउँदा राम्रोसँग चल्न सकेको छैन, राम्रो मुल्य पाउदैन, त्यसैले फिस्लिङ ल्याउनुपर्ने बाध्यता छ , बेनीघाट रोराङमै तरकारी बिक्री गर्न पाए सहज हुन्थ्यो, फिस्लिङमा बिहानै तरकारी ल्याउँछौ १२ बजे सम्म तरकारी बेच्न नै समय लाग्छ । ’
अर्का किसान श्याम चेपाङले पनि बेनीघाट रोराङमा रहेका तरकारी बजारहरुमा उचित मुल्य नपाउने भएकाले फिस्लिङ आउन बाध्य भएको बताउनुभयो । उहाँले फिस्लिङको जस्तै संकलन केन्द्र व्यवस्थापन गर्न गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलियालाई आग्रह गर्नुभयो ।
बेनीघाट रोराङ गाउँपालिका अन्तरर्गत ताल्ती, गोइराङ, चरौँदी, कोस्राङ, जवाङ, स्यादुल, आदि ठाउँहरुबाट तरकारी बिक्री गर्न किसानहरु फिस्लिङ सम्म आउने गर्छन ।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ ले बेनीघाट रोराङ गाउँपालिकाका किसानहरुलाई उत्पादन गरेको तरकारी बेच्न चितवन आउनुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनुभयो । आज चितवनको इच्छाकामना ३ फिस्लिङको तरकारी बजारको अवलोकन गर्दै अध्यक्ष विवेकले धादिङबाट तरकारी बिक्री गर्न आएका किसानहरुसँग उनिहरुको समस्या बारे बुझ्नुभएको थियो । सोही अवसरमा किसानहरुले फिस्लिङ सम्म आउन पर्दा तरकारीले उचित मूल्य पाएता पनि ढुवानी खर्च बढ्ने, समयमा घर फर्कन नपाइने लगायतका समस्याहरु भएको बताएका थिए ।
अध्यक्ष विवेकले बेनीघाट रोराङ स्थित मझिमटार र चरौँदीमा पनि व्यवस्थित तरकारी संकलन केन्द्र तयार गरि किसानहरुलाई यहाँ सम्मको तरकारी ल्याउनुपर्ने सास्तीबाट छिट्टै मुक्ति दिलाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।