दक्षिणी गोरखाको विकट गाउँ हो— भुम्लिचोक। यहाँ जनजातिको बसोबास बढी छ। दक्षिणको छेकम्पारको उपमा पनि दिइन्छ यसलाई। राज्यको उपस्थिति टिठलाग्दो छ। राजमार्गको नजिकै भए पनि विकासको बिजारोपण हुन गणतन्त्र नै कुर्नु पर्यो यो ठाउँले। गुरुङ, मगर, नेवार र चेपाङ संस्कृतिको जिउँदो संग्रहालय भने पनि हुन्छ यो भेगलाई। विभिन्न चाडपर्वका साथै चुड्का, झ्याउरे, घाँटु, मारुनी, लाखेलगायत सांस्कृतिक पक्षका कारण पनि यहाँको जनजीवन गतिशील छ।
ठूला पद र धेरै पैसा हुनेहरू यो ठाउँमा बसिरहन चाहेनन्, काठमाडौंलगायतका देशका मुख्य सहरमा सोहोरिए। केही तंग्रिन लागेकाहरूले पनि राजमार्ग आसपासमा बासस्थान बनाए। अक्षर देखेकाहरू पनि सम्भावनाको सपना देख्दै सहरतिरै हानिए। भलै यो नौलो र यहाँको मात्रै रोग होइन, देशैभरको साझा मनोवृत्ति भइसक्यो। गाउँमा शिक्षाको अवस्था उही छ। महेन्द्रकालीन (२०१७ साल) विद्यालयलाई मावि हुन गणतन्त्र नै कुर्नुपर्यो। जब कि वरपरका दौंतरी विद्यालय ३० सालमै मावि भए।
एकातिर विद्यालयको दुरवस्था, अर्कातिर तीनपुस्ते मास्टर। बाजेदेखि नातिसम्मलाई एउटै शिक्षकले पढाएको इतिहास पनि यो भेगको लागि नौलो भएन। एउटै शिक्षकले तीन पुस्तासम्मलाई पढाउनुले शिक्षाको स्तर मापन गर्न सायद गाह्रो नहोला। विद्यार्थीको नामकरण (न्वारन) देखि अन्य कर्मकाण्ड गर्ने पनि उही मास्टर। धन्न तीन पुस्ताका शिक्षकले विद्यालयको स्थापनाकालदेखि गणतन्त्रको छेउछाउसम्म धान्न भ्याए। उनीहरूको यस्तो किसिमको योगदानलाई कदर पनि गर्नैपर्ला। उनीहरूले शिक्षा दिएका विद्यार्थी कमैले उच्च शिक्षा हासिल गरे। धेरैले ५ कक्षा पनि पार गरेनन्। गाउँमै हवल्दार र भारतका गल्लीहरूमा चौकीदारी गर्नेको संख्या त कति कति।
स्थानीयवासीमा विद्यालयको स्तरोन्नति र मावि बनाउने चेत पक्कै थिएन। गाउँमा जानेबुझेका तीन पुस्ताका शिक्षकमा पक्कै पनि शैक्षिक योग्यता राम्रो थिएन। माविमा परिणत भयो भने उनको शैक्षिक योग्यताले ‘हेडमास्टर’ पद खतरामा पथ्र्यो। त्यसैले त्यतातिर उनको रुचि नहुनु अस्वाभाविक भएन। अनि समुदायमा ५ कक्षा उत्तीर्ण गर्ने सबैभन्दा शिक्षित मान्छेको रूपमा कहलिनु अर्काे दुःखद पक्ष थियो। तीन पुस्तासम्मको शैक्षिक धरातल ५ कक्षामै सीमित हुनुले उनको पुस्ताहरूको विकासक्रममा कस्तो असर पर्छ ? भन्नै नपर्ला।
शिक्षक पनि उस्तै थिए। गलत मानसिकता बोकेर गाउँ जान्थे भन्न मज्जाले मिल्छ। पेसाको हकमा समय पुगेका तर उमेरले निवृत्त हुन बाँकी (उमेरले ५५ काटेका) शिक्षकहरूको चाङ नै हुन्थ्यो गाउँमा। कारण के भने जनजाति समुदायमा पढाउन पर्दैन, सदरमुकाम या घरमै बसेर जागिर खान सकिन्छ भन्ने ठग मानसिकताले उनीहरूको दिमागमा गहिरो तरिकाले घर गरेको थियो। समुदायमा मास्टरलाई आदर गर्नुपर्छ भन्ने मान्यता थियो, अझै उत्तिकै छ। निश्चित समुदायका मान्छेहरू मात्र मास्टर बन्न सक्छन् भन्ने कमजोर सोचाइ र अपरिपक्व बुझाइ आजसम्म पनि समुदायमा उत्तिकै स्थापित छ। शिक्षक र शिक्षा नै सबै थोक भनेर बुझेका जनजातिमा मास्टर विद्यालयमा आए कि आएनन्, पढाए कि पढाएनन् भन्ने कुराले खासै अर्थ राख्दैन। आफ्नै भाषाको प्रभाव भएको स्थानमा आजको राज्यले मान्यता दिएको नेपाली भाषाको अवस्था नाजुक छ।
"कक्षामा पढ्न कमजोर विद्यार्थीलाई शिक्षकहरूले केटा भए लाहुरे र केटी भए लाहुर्नीको बिल्ला भिराउने संस्कार नै थियो। जनजाति समुदायमा पुस्तौंदेखि घर गर्दै आएको लाहुरे संस्कृतिले पनि धेरै प्रभाव पारेको हो। असफल भएर बीचैमा पढाइ छाडेर खाडी र भारतका गल्लीहरूमा चौकीदार बन्नेको जीवन निकै कहालीलाग्दो छ।"
‘सर आयो, सरको कुकुर पनि आउनु भो’, ‘सर तिम्रो फोन आउनुभाछ’ जस्ता शब्दसहितको नमिल्दो सम्बोधन समुदायका लागि नौलौ थिएन, अझै नौलो भएको छैन। पछिल्लो समयमा भने भाषाको सम्बन्धमा बहस चलिरहेको छ। कतिपयले भाषालाई बुझ्ने (सञ्चार) माध्यम मात्रै हो भन्ने तर्क गर्छन्। कतिपयले भाषालाई देशको पुँजी मान्छन् र बिगार्न हुँदैन भनेर अड्डी कस्छन्। तर्क र बहस आआफ्नै स्थानमा छ। तीन पुस्ताको मास्टरहरूको अवकाशपछि केही नयाँ पुस्ताका मास्टरहरूको आगमनले विद्यालयको स्तर केही उकासिनु नै नयाँको आवश्यकताको पुष्टि हो।
माओवादी युद्धको राप–तापले देश बलेकै बेला यो भेग पनि त्यसबाट अलग रहेन। विद्यालयबाहेक अन्य सरकारी संरचनाहरू खण्डहरूमा परिणत थिए। सरकारी कार्यालयका प्रत्येक भित्ता माओवादीका नाराहरूले पोतिएका हुन्थे। चोक–चोक र बाटाघाटामा टाँसिएका पोस्टरहरूले युद्धको प्रभाव प्रतिविम्बित गथ्र्योे। जनता राज्य र विद्रोही पक्ष गरी दोहोरो चेपुवामा परेका थिए। दिनमा सेना प्रहरीको बुटको आवाज र रातमा माओवादीको सहयोगी रूपमा राजमार्ग अवरोध गर्ने कार्य दैनिक रूपमा नपचाई जनतालाई धरै थिएन। उमेर पुगेका छोराछोरीलाई कपितय अभिभावकले सहरतिर लखेट्थे।
विद्रोही पक्षले विद्यालयका शिक्षक र विद्यार्थी (कक्षा ६ देखि माथिका) लाई विद्यालयदेखि टाढा (१/२ घण्टादेखि १/२ दिनसम्मको पैदल यात्रामा) प्रशिक्षणका लागि लैजान्थे। उनीहरूका कडा प्रशिक्षणले आजै यो देशलाई कायापलट गर्दै छन् भन्ने भान गराउँथ्यो। उनीहरूको छुट्टै सेना र छुट्टै सरकार थियो। ‘कायरहरूको मृत्यु कुखुराको प्वाँखजस्तो हलुंगो हुन्छ, बहादुर र क्रान्तिकारीको मृत्यु सगरमाथाको चुचुरोजस्तो हुन्छ’, ‘सामन्ती राज्यसत्ता मक्किसकेको छ’, ‘बुर्जुवा शैक्षिक प्रणालीका पुस्तकहरू च्यातेर वैज्ञानिक र जनवादी शिक्षा लागू गर्नुपर्छ’ जस्ता प्रशिक्षण दिइन्थे। हामी पुलुक्क शिक्षकहरूको अनुहारतिर नजर लगाउँथ्यौं भने शिक्षकहरू हामीतिर। प्रतिप्रश्न गर्ने साहस कसैसँग थिएन।
प्रशिक्षणमा सहभागीलाई उनीहरूले मज्जैले ऊर्जा भर्थे। प्रशिक्षण सुन्दा कलिलो मस्तिष्कले ठान्थ्यो— राज्य, सरकार, सेना, प्रहरी, प्रशासन, शिक्षा प्रणाली सबै भ्रम हुन्। बीचबीचमा देखाउने जोशिलो नृत्य र गीतले उत्तिबेलै हतियार बोकेर युद्धमा लामबद्ध हौं कि जस्तो बनाउँथ्यो। अर्काेतर्फ सेना प्रहरी आएर गोली हान्छन् कि भन्ने भय पनि उत्तिकै थियो। सूचना र प्रविधिबाट टाढा थियो दैनिकी। शिक्षकले जे पढायो त्यही नौलो र आधिकारिक हुन्थ्यो। ब्याट्री किन्न सकियो भने रेडियो सुन्यो, नत्र अरूको घरमा बजेको रेडियो कान थापेर सुन्न पथ्र्यो। रेडियो सुन्यो भने पढाइको स्तर घट्छ भन्ने गलत मानसिकता पनि नभएको होइन।
गाविस भवन आसपासमा हुने टेलिफोनमा फोन आएको सुन्दा र शिक्षकलगायतका सरकारी कर्मचारी फोनमा बोलेको सुन्दासमेत अचम्म मान्थ्यौं हामी त्यति बेला। कति बेला फोनको घन्टी बज्छ भनेर सुनेर बस्दा कुनै दिन विद्यालय जानै पनि भुलें। भर्खर–भर्खर विकास भएको एफएम रेडियोमा लोकगीतभन्दा अरू सुन्ने प्रचलन थिएन। जिल्ला सदरमुकामबाट आएको ४÷५ दिनको बासी गोरखापत्र विद्यालयमा हलकराले हुर्र्याउँथ्यो। विद्यार्थीले पत्रिकाको तस्बिरबाहेक अरूमा खासै ध्यान दिँदैनथे। कलिलो मस्तिष्कले सोच्थ्यो— गोरखामा भएर गोरखापत्र भनिएको होला, उता पारि चितवनमा चाहिँ चितवनपत्र र अलि पर धादिङमा चाँहि धादिङपत्र भनिन्छ होला। गणतन्त्रको नजिकै आइपुग्दा यो भेगले पनि केही मात्रामा शान्तिको सास फेर्यो। सदरमुकाममा केन्द्रित कर्मचारी पनि गाउँ फर्किन थाले। संस्कार संस्कृतिहरूले पनि फेरि पुरानै रूप लिन थाले।
शिक्षकसँग निकै डराउथ्यौं हामी। सम्मान र आदर भएर होला सायद। हत्तपत्त अगाडि परिन्थेन। शिक्षकसँग विद्यार्थीको भेट कमै हुन्थ्यो। शिक्षकको भनाइ प्रायः दोहोरिन्थ्यो— जात्रामा जानुहुन्न, पढ्नु पर्छ। शिक्षक र विद्यार्थीको जम्काभेट प्रायः कक्षाकोठामा वा जात्रामा हुन्थ्यो। जात्रा जाने–आउने बाटो एउटै भएपछि बाटामा लुकामारी चल्ने गथ्र्यो। जात्राका क्रियाकलाप एकले अर्काेको चियाउनु नित्य कर्मजस्तै थियो। भेटेसम्म एकले अर्काको कमजोरी खोजिन्थ्यो। जात्रा प्रायः रात्रिकालीन समयमा चल्थ्यो। शिक्षकहरूको आँखामा सकेसम्म नपरौं भन्ने चाहना प्रायः सबै विद्यार्थीमा हुन्थ्यो। झुक्किएर पर्यो भने भोलिपल्ट कक्षामा बसिखानु हुँदैन भन्ने सबैलाई लाग्थ्यो। अनि शिक्षकहरू भन्थे— तिमीहरू को–को जात्रा हेर्न जाँदा रहेछौ भनेर हेर्न गएको।
जनजाति समुदायमा रोधीसँगै जात्रा–पर्वको स्थान विशेष छ। यसलाई भेटघाट थलोको रूपमा लिइन्छ। समुदायमा मागीविवाह कमैको हुन्छ। प्रेमविवाह नै प्रचलनमा छ। मामा–फुपूका छोराछोरी सोलीडोली गर्ने संस्कृति समुदायमा कायमै छ। त्यति मात्र होइन, मामा–फुपूका छोरीमा पहिलो अधिकारसमेत हुन्छ। दौंतरीहरूले जात्रामै जीवनसाथी भेट्टाउँछन्। कतिपय सरले म्याडमहरू पनि जात्रामै भेट्टाए। जनै भिरेर आएका उपाध्याय मास्टरहरू हिँड्ने बेलासम्ममा ‘ट्वाँकप्रसाद’ भएका उदाहरण कति छन् कति। अनि भन्ने गर्थे, ‘यो कोदोले त केही असर गर्दैन, दबाई हुन्छ।’ खोया बिर्केको तालमा सांस्कृतिक नाचहरूमा भैरव नृत्य उनीहरूका लागि सामान्य नै बन्थ्यो।
असर कति भने ताल र गीत एकातिर हुन्थ्यो, नाच अर्कैतिर। युद्धमा घाइते भएको गाविस भवनको भ्वाङ परेको आँखाबाट रात्रिकालीन समयमा शिक्षकहरूको लाखे नाच हेरेर खुब मज्जा लिन्थे विद्यार्थी। शिक्षकहरू १०÷११ बजेसम्म विद्यार्थी खोज्दै घर लखेट्ने काममा व्यस्त बन्थे। हामीचाहिँ भागेको बहाना बनाउँदै गाविस भवनको करेसाबाट फर्कंदै फेरि जात्रा हेर्न पुग्थ्यौं। शिक्षकहरूले सोच्दा हुन्, अब त सबै विद्यार्थी घर फर्किए होलान्। अनि नशाको तालमा लिप्त बनेका शिक्षकहरूको लाखे नाच हेर्न पाइन्थ्यो। अनि जागिर छाडेर हिँड्ने बेलामा भन्ने गर्थे, ‘यो जनजाति गाममा बसेपछि बानी बिग्रियो।’
शिक्षकहरूको चर्तिकला त्यतिमा मात्र सीमित थिएन। उनीहरूबीच सरुवा–बढुवा, स्थायी, निवृत्त हुँदा गरिने पार्टीहरूमा कपडामै सुसु गरेर पानी पोखिएको बहाना गरेका कथाहरू पनि प्रशस्तै सुनिन्थ्यो। शुक्रबार र आइतबार प्रायः पढाइ हुन्थेन, शुक्रबार शिक्षकहरूलाई घर जान हतार हुन्थ्यो, आइतबार घरबाट फर्कंदा थकाइको बहाना प्रायः चल्थ्यो। विद्यार्थीमा पनि समस्या उस्तै र उत्तिकै थिए। जिल्लास्तरीय परीक्षा पास गर्नासाथ ८ कक्षा पासको सर्टिफिकेट बोकेर भर्तीको लाइनमा छाती नाप्न पुग्थे। जनजाति समुदायमा पुस्तौंदेखि घर गर्दै आएको लाहुरे संस्कृतिले पनि धेरै प्रभाव पारेको हो। त्यसमा सफल हुनेहरूको सन्तुष्टि एकातिर होला, असफल भएर बीचैमा पढाइ छाडेर खाडी र भारतका गल्लीहरूमा चौकीदार बन्नेको जीवन निकै कहालीलाग्दो छ।
कक्षामा पढ्न कमजोर विद्यार्थीलाई शिक्षकहरूले केटा भए लाहुरे र केटी भए लाहुर्नीको बिल्ला भिराउने संस्कार नै थियो। पछिल्लो समय सोही विद्यालयका पूर्वविद्यार्थी नै शिक्षक बन्न थाले। अर्याल, तिमिल्सिना, गोतामे, मरहठ्ठा, ढकाल, रेग्मी थरका सरहरूको मात्र नाम सुनेका विद्यार्थीमाझ गुरुङ, मगर, चेपाङ थरका शिक्षकको नाम सुन्न पाउन थाले; जुन अत्यन्तै सुखद पक्ष हो। तर, पुस्तौंसम्म शैक्षिक क्षेत्रमा पछि परेकाहरूको पुस्तालाई एक÷दुई जनाले ‘यु टर्न’ गराउन कठिन नै हुन्छ। त्यसका लागि पुस्तौंदेखिको लगानी र मेहनत चाहिन्छ।
शिक्षामा गरेको लगानी गोरस खाएजस्तो हो, मदिराजस्तो होइन। यो फलदायी त हुन्छ, हुन्छ तर उति बेलै परिणाम आउँदैन वा देखिँदैन। जसरी एउटा शिक्षक बन्न कम्तीमा १२ वर्ष लाग्छ, त्यसरी नै एउटा विद्यार्थीलाई देशका लागि चाहिने राम्रो जनशक्ति बनाउँदासम्म कम्तीमा १५ वर्ष लाग्छ। त्यसैले शिक्षामा सुधार र दीर्घकालीन सोच जरुरी छ। सचेत र सक्षम व्यक्तिले मात्रै आफू बदलिन र समाजलाई बदल्न सक्छ।
अन्नपुर्ण पोष्टबाट