Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

चितवनलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन लागेका छौं : रेणु दाहाल

चितवनलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन लागेका छौं : रेणु दाहाल

इच्छाकामना न्युज

१४, कार्तिक २०८१
चितवनलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन लागेका छौं : रेणु दाहाल

काठमाडौँ, कार्तिक १४— विकासको पहिलो खुड्किलो भनेको सडक पूर्वाधार नै हो । सडक सञ्जालले जनताको जीवनस्तर सुधार्न मद्दत गरेको छ । हिजो भरतपुर बजारबाट मेघौली जान २ घण्टा लाग्थ्यो । जान र आउनमै एक दिन बित्ने गरेकामा अहिले आधा घण्टामै पुगिन्छ । यसको प्रत्यक्ष लाभ यहाँका नागरिकलाई पुगेको छ ।

images

यसकारण सडक पूर्वाधारमा उल्लेख्य फड्को मारेका छौं । हामीले भनेको होइन, देखेको र सबैले महसुस गरेको कुरा यही हो ।

देशको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा भरतपुर वा समग्र चितवन जिल्ला परिचित छ । अब चाँडै दोस्रो पर्यटकीय गन्तव्य बनाउनेमा होडबाजी छ । देशका ६ वटा महानगरमध्ये एउटा र चितवनको राजधानी भएको हिसाबले पनि भरतपुरलाई देशको तेस्रो पर्यटकीय गन्तव्यबाट दोस्रो बनाउन हामी कडा प्रतिस्पर्धामा छौं ।

भरतपुरले विकासको जुन लय पक्रिएको छ, भोलिका दिनमा यो लयलाई निरन्तरता दिन सक्यौं भने दोस्रो पर्यटकीय गन्तव्य बन्न सक्ने प्रबल सम्भावना पनि छ । सडक पूर्वाधार मात्र नभई पर्यटन, कृषि, शिक्षा स्वास्थ लगायत सबै क्षेत्रमा सन्तुलित विकासको खाका अनुसार अघि बढेका छौं । पर्यटन प्रवर्द्धन, विकास र समृद्धिमा भरतपुरले पछिल्लो सात वर्षमा उल्लेख्य फड्को मारेको छ ।

पछिल्लो आर्थिक मन्दीका कारण व्याप्त निराशालाई चिर्न, आर्थिक गतिविधि चलायमान बनाउन र भरतपुरबासीमा उत्साह जगाउँ भन्ने उद्देश्यले हामीले ‘भरतपुर भ्रमण वर्ष २०२४’ घोषणा गरेका थियौं । लगानीकर्तालाई आकर्षित गर्न बाटो–घाटो, बिजुली बत्ती, आईटी सुविधा उपलब्ध गराउन र आवागमन एवं बसाइँ सुरक्षित बनाउने अवस्था सिर्जना गर्न खोज्दै छौं ।

लगानीकर्ताहरूलाई म ढुक्क भएर भरतपुरमा लगानी गर्न अनुरोध गर्छु । पर्यटन प्रवर्द्धनसँगै आफूले भरतपुरमा आर्थिक गतिविधि बढाउन र लगानी भित्र्याउन पनि अनुकूल वातावरण सिर्जनामा गम्भीर छौं ।

भरतपुरमा दुईवटा विमानस्थल छन् । कुनै समय भरतपुरभन्दा पनि मेघौली विमानस्थल स्थापित थियो । टाइगर टप्स होटल हुँदासम्म राम्ररी चलिरहेको मेघौली विमानस्थल टाइगर टप्ससँगै बन्द भयो । पश्चिम चितवनका मेघौली, पटीहानी, जगतपुर र गोलाघाटका बासिन्दाले मेघौली विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याउन ध्यानाकर्षण गरिरहेका छन् । रनवेलाई सामान्य मर्मत गर्ने काम गरिएको छ ।

भरतपुर विमानस्थलमा पनि अत्याधुनिक टर्मिनल भवन बन्दै छ । याे विमानस्थल विस्तार गर्नु अहिलेको आवश्यकता पनि हो । टेकअफ र ल्यान्डिङका लागि रनवे कम भएकाले भरतपुर विमानस्थललाई विस्तार गर्नुपर्ने भएको छ । भरतपुर विमानस्थलमा ४२ सिटे जहाजभन्दा ठूलो जहाज आउन सक्दैन । त्यसकारण विमानस्थल विस्तार अनिवार्य भएको छ ।

तत्कालीन मन्त्रिपरिषद्‍बाट भरतपुर विमानस्थल विस्तारका लागि घोडा प्रजनन केन्द्रलाई शक्तिखोरमा सार्ने निर्णय भइसकेको छ । संघीय सरकारको बजेटमा पनि भरतपुर विमानस्थल विस्तारको विषय अटाइसकेको छ । अब कार्यान्वयनको चरणमा छ ।

एउटै पालिकामा दुईवटा विमानस्थल आवश्यक छैन । तर फेरि टाइगर टप्स होटल सञ्चालनमा आयो भने चार्टर विमानका लागि मेघौली विमानस्थल चाहिन्छ । साथै मेघौली र नवलपुर जोड्न व्यवस्थित पुल बन्यो भने पनि उक्त विमानस्थल चाहिन्छ ।


भरतपुर महानगरपालिकाका मेयर दाहाल ले ‘चितवन चिन्तन’को दोस्रो सत्र ‘पर्यटनको मार्ग, समृद्धिको चित्र’ विषयक छलफलमा दिएको अभिव्यक्ति)

images
प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - २२:१४:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology