नेपाली समाजमा लखन थापा मगरको चर्चा निकै हुने गरेको छ । तर आजसम्म पनि कतिपए मानिसहरुमा लखन थापा एउटै थियो भन्ने भ्रम रहेको छ । वास्तवमा नेपालमा दुइ वटा लखन थापा रहेको थियो । सिद्ध लखन थापा मगर र सहिद लखन थापा मगर । सिद्ध लखन थापा मगर हालको मनकामना र अर्का सहिद लखन थापा मगर बुङ्कोट काहुले भङ्गारको । संयोगले दुबै जना गोरखाकै रहन गयो । सिद्ध लखन थापा मगर धार्मिक व्यत्ति थियो भने सहिद लखन थापा मगर राजनीतिक । दुबै लखन थापा मगरको भुमिका नेपाली समाजमा विभिन्न कालखण्डहरुमा महत्वपूर्ण रहदै आयो, जुन आजसम्म पनि उत्तिकै महत्वपूर्ण रहेको छ । यस आलेखमा सिद्ध लखन थापा मगर र सहिद लखन थापा मगर बारेको परिचय र बुझाई बारे प्रष्ट पार्ने जमर्काे रहने छ ।
सिद्ध लखन थापा मगर
राम शाहा ई.स १६०६ मा गोरखको राजा भएका थिए । त्यसबेला देखिनै गोरखा दरवारमा मगरहरु भारदारको रुपमा राम्रै उपस्थिति थियो । रामा शाहाको पालामा सिद्ध लखन थापा मगर राजाको प्रमुख सल्लाहाकार भएका थिए । सिद्ध लखनथापा मगर कसरी सिद्ध भए भन्ने प्रशङ्ग निकै रोचक छ । राजा राम शाहाको रानी लिलावतीले गोरखनाथ बावालाई राम्रो सेवक खोज्न सल्लाहा दिइन् । सामान्य परिवारमा जन्मेका उनी घाँस काट्न जङ्गलमा जाने क्रममा गोरखनाथ बावाले बक्रेश्विरीको जङ्गलमा भेटेर दिक्षा दिइ सिद्ध बनाएर गोरखा दरबार लगेका थिए । ई.स १६३६ मा राजा राम शाहाको निधन भएपछी रानी लिलावतीलाई सति नजानको लागि सिद्ध लखन थापा मगरले निकै आग्रह गर्यो । तर संस्कारलाई रानीले मानेनन् । राजा र रानीको दाहासस्कार पछि सिद्ध लखन थापा मगर गोरखा दरबार नगइ आफ्नै घरमा गई बस्न थाले ।
केही समय पश्चात किसानले बारी जोत्ने क्रममा, हलो सिलामा अडिकियो । हलो निकाली हेर्दा शिलाबाट रगत र दुध बगेको देखेपछी किसानले हल्लिखल्ली गरे । लखन थापा मगर पनि त्यसै क्रममा सिला हेर्नको लागि त्यस ठाउँमा पुग्यो र हेर्दा रानी लिलावतीले भनेको कुरा मिल्न गयो । उनले मनकामना भगवतिको उत्पति भएको कुरा सबैलाई बताए । गोरखा दरबारलाई पनि उत्त कुरा जानकारी गरायो । दरबारबाट मन्दिरको संरक्षण र पूजा गर्न गुठीको व्यवस्था गराइदियो । सबैको मनोकामना पुरा भएकोले उत्त शिलालाई मनकामना नामकरण गरियो । सिद्ध लगन थापा मगरले मुख्य पूजारी बनेर मन्दिरको पुजा पाठ गर्न थाले । राज परिवारको जस्तै गरि वंशको आधारमा पूजारी बन्ने परिपार्टी बसायो । त्यसैको निरन्तरतामा हालको मनकामना मन्दिरको पूजारी इन्शान थापा मगर सिद्ध लखन थापा मगरको १८ औ पुस्ता हुन् ।
सिद्ध लखन थापा मगर बुढो भएपछि आफ्नो सन्तालाई मनकामना मन्दिरको पूजा पाठको जिम्मा लगाएर तिर्थमा निस्कियो । धेरै वर्ष पछि तिर्थ गरेर फर्कने क्रममा गाउँकै एक जना मानिसले उनको काजकिरिया गरिसकेको जानकारी दियो । उनी त्यस कुराले विक्षिप्त भई आफू गाउँ फर्केको कुरा कसैलाई नभन्नुभनि बक्रेश्वरीको जङ्गलको गुफामा गई आलप भयो । जहाँ उनलाई गुरु गोरखनाथले सिद्ध बनाएको थियो । त्यसबेला सिद्ध लखन थापा मगरले टेकेर आएको भिमसेनपातीको लौरो आजसम्म पनि त्यस गुफाको अगाडी पट्टी रहेको छ ।
सहिद लखन थापा मगर
राणा विरोधि चेतनाको विजारोपण गर्ने व्यत्ति हुन् सहिद लखन थापा मगर । उनको जन्म विस १८९१ मा गोरखा जिल्लाको हालको शहिद लखन गाउँपालिका वडा न ७ बुङ्कोटको काहुले गाउँमा भएको थियो । उनको बाल्यकाको नाम लक्ष्मणसिंह थापा मगर थियो । सिद्ध लखन थापा मगर बाट प्रभावित भएर उनले आफ्नो नाम पनि लखन थापा मगर राखेको थियो । उनी पछि लखन थापा मगरकै नामबाटै राणा विरोधी आन्दोलनमा सक्रिय बने । लखन थापा मगर विस १९११ मा नेपाली सेनाको पुरानो गोरखा पल्टनमा भर्ना भएका थिए । उनी सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोह दमन गर्न नेपाली सेना भारत जादा उत्त टोलीमा समेत सहभागि बनेको थिए । उत्त सिपाही विद्रोह दमन गर्न जङ्गबहादुर राणा नेतृत्वमा १७ हजार सैनिक सहित उपस्थित थियो । लखन थापा मगर नेपाली सेनाको क्याप्टेन सम्म बनेका थिए ।
सैनिक सेवामा हुदा राणाहरुको दमन र अत्यचारलाई नजिक बाट बुझेका लखन थापा मगरमा राणा शासन विरोधि चेतनाको विजारोपण भैसकेको थियो । जागरिकै अवधिमा विस १९२७ मा गोरखाको काहुलेमा रहेको घरमा ३ महिना बिदा गएका उनी, जागरिमा नफर्की राणा विरोधि आन्दोलनको तयारीमा जुटेका थिए । उत्त समयमा लखन थापा मगरको कदमालाई एउटै स्थान र पल्टनमा जागिर भएका जैसिंह चुमी राना मगरको समेत साथ थियो ।
लखनउबाट फर्केपछी गुरुङ पल्टनको एक जना जम्दा। श्रीपती गुरुङले जङ्गबहादुरको विरुद्ध सैनिक विद्रोह गर्ने आँट गरे । तर यो कुरा जङ्गबहादुरले थाहा पाएपछि सैनिकहरुले गुरुङलाई परेडकै समयमा टुक्रा–टुक्रा हुनेगरी काटेर मारियो । त्यस घटनालाई नजिकबाट नियालेका लखन थापा मगरले सैनिक विद्रोहबाट राणा शासनको अन्त्य हुदैन भन्ने लागेरनै उनी जनस्तरमै जनचेतना फैलाउने उदेश्यले छुट्टीमा घर आउँदा पल्टन नफर्केको देखिन्छ ।
लखन थापा मगरको लागि राणा शासनको अत्याचारले जरो गाडेको समाजलाई जागरण गर्नु फलामको चिउरा चपाए सरह थियो । मानिसहरु सहजै रुपमा आन्दोलनमा सहभागि बन्ने स्थिति थिएन । नागरिकहरुलाई सङ्गठित गर्नको लागि लखन थापा मगरले धर्मको आड लिने निर्णय गर्यो । लखन थापाले जोसमनी धर्मको माध्यमबाट अघि बढ्ने निर्णय अघि सार्यो । उत्त धर्मको खास उदेश्य हिन्दु धर्मको नाममा समाजमा देखिएको अन्धविश्वास, छुवाछुत लगाएतका प्रथाहरु हटाउनु थियो । धर्मलाई आडमा लिइ लखन थापा मगर गाउँ गाउँ डुल्न थाले । खासमा उनको उदेश्य धर्म भन्दा पनि राणा शासन विरुद्ध नागरिकहरुलाई सङ्गठित गर्नुनै थियो । धर्म मात्र माध्यमको रुपमा विकास गरेको थियो ।
लखन थापा मगरको वाक क्षमता बाट प्रभावित भएर झण्डै २ हजार युवाले उनलाई साथ दिएका थिए । लखनले युवाहरुलाई तालिम समेत दिएर हतियारको समेत व्यवस्था गरेका थिए । लखन थापा मगरले जङ्गबहादुर विरुद्ध जनसरकारनै बनायो । उनले जयसिंह चुमी रानामगरलाई सेनापति, बिराज थापा मगर, जुठ्या थापा मगर र जीतमान गुरुङलाई कर्णेल पद दिएको थियो ।
लखन थापा मगरले गोरखामा राणा विरोधी अभियान चलाइरहदा जङ्गबहादुर राणा भने पश्चिम नेपालको तराईको जङ्गलमा सिकार खेल्नमा मस्त थिए । यता काठमाडौ भित्रिने नाका चन्द्रागिरीमा भने, लखन थापा मगरद्धारा प्रशिक्षित सिपाहीहरुले जङ्गबहादुरलाई धराप थाप्ने तयारी गर्दै थियो । जङ्गबाहादुरले उत्त कुराको सुइको पाएर छोटो बाटो हुदै सन् १८७६ मार्च ३० मा काठमाडौ भित्रिय । काठमाडौ पुगेर जङ्गबहादुरले लखन थापा मगरको विद्रोह बारे सबै कुरा बुझेपछी देविदत्त पल्टनलाई विद्रोह दवाउन गोरखा पठाए । लखन थापालाई पक्रेर जिउँदै काठमाडौ ल्याउन आदेश समेत दियो । लखन थापा र जङ्गबहादुरको सेना बिच दोहोरो भिडन्ता पश्चात लखन थापा मगरलाई पक्रेर काठमाडौ लगियो । थापाथलि दरवारमा क्रुरु यातना दिइ लखन थापालाई पुन गोरखा फर्काइ उनले निर्माण गरेको दरबार अगाडीको खिर्राको रुखमा लगेर झुड्याएर मृत्युदण्ड दिइयो । उत्त घटना विस १९३३ सालमा भएको थियो । राणा शासनको विरुद्धमा विद्रोह गर्न समेत पछि नपर्ने लखन थापा मगरलाई गणतन्त्रको स्थापना पश्चात मात्रै विस २०७२ असोज ३ गत्ते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले प्रथम सहिद घोषणा गर्यो ।
जङ्गबादुर राणाको रहस्यमय मृत्यु
नेपालमा शासकहरुको मृत्यु रहस्यमय तरिकाले हुने गरेको छ । अर्थात मृत्यु बारे एकमत पाइदैन । ठिक त्यस्तै गरि जङ्गबहादुर राणाको पनि मृत्यु निकै रहस्यमय छ । जङ्गबहादुर राणाको मृत्यु विस १९३३ फागुन १३ गत्ते बाराको पत्थरघट्टामा भएको थियो । उनको मृत्यु बारे एकमत पाइदैन । इतिहासकारहरुले जङ्गबहादुरको मृत्यु, झाडापखला, मुटुमा बोसो लागेर, लिँडे बाघको आक्रमण बाट आ–आफ्नै तर्क रहेका छन् । जङ्गबहादुरको मृत्यु रहस्यमय थियो भन्नुको पछाडी उनका २२ वटा रानीहरुले कसैले पनि मृत्यु पश्चात उनको मुख हेर्न पाएनन् ।
जङ्गबहादुर राणाको मृत्यु नभई हत्या भएको तर्क समेत रहेको छ । तराइको जङ्गलबाट सिकार गरेर फर्कने क्रममा जङ्गबहादुरलाई गोरखा र धादिङको सिमानामा रहेको बेनिघाटमा लखन थापा मगरद्धारा प्रशिक्षित एक मगर युवाले आक्रमण गरेर घाइते बनाएको कुरा पत्रकार एवंम अनुसन्धानकर्ता लोकनेश ढेँगे मगरको दाबी छ । आक्रमण पश्चात ढलेको जङ्गबहादुरलाई त्यहाँ रहेको सैनिकहरुलाई धीर शमशेरले केही धन दिएर रगतले सहीछाप गर्न लगाई हत्याको रहस्य उजागर नगर्ने सपथ गराई घाइते भएर बेहोस भएका जङ्गबाहादुरलाई बाराको पत्थरघट्टा पुर्याए । उनको त्यही मृत्यु भएको प्रचार गरियो ।
मगरहरुलाई अपमानजनक रुपमा लिँडे भन्ने प्रचलन रहेको छ । अर्काे तर्फ समान्य व्यत्तिबाट जङ्गबहादुर मारिनु राणाहरुको लागि उपमानजनक र उनीहरुको शासनमै असर पर्ने हुदाँ लिँडे बाघको आक्रमणबाट मरेको भनेर प्रचार गरियो । जानकारहरुका अनुसार हालसम्म नेपालको जङ्गलहरुमा लिँडे बाघ (पुच्छर नभएको) नभेटिएको तथ्यले थप पृष्टि गर्न सहयोग गर्दछ ।
अन्त्यमा, नेपालको इतिहासमा सिद्ध लखन थापा मगरले धार्मिक रुपमा र सहिद लखन थापा मगरले राणा विरोधी चेतना निर्माणमा खेलेको महत्वपूर्ण योग्दानलाई सम्मान गर्नुको विकल्प हामीसँग छैन । आजसम्म पनि कतिपए मानिसहरुमा सिद्ध लखन थापा मगर र सहिद लखन थापा मगर एउटै हुन् भन्ने भ्रम जो रहेको छ । त्यसलाई यो आलेखले थोरैभएता पनि जानकारीमूलक रुपमा स्पष्ट हुने मौका प्रदान गर्नेछ ।