Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बलात्कार

ससुराबाट बलात्कृतः न्याय माग्दा घर निकाला

ससुराबाट बलात्कृतः न्याय माग्दा घर निकाला

ससुराबाट बलात्कृतः न्याय माग्दा घर निकाला
images

प्रतिमा सिलवाल, चितवन । ससुराको फोटो लिएर कहिले प्रहरीमा त कहिले पत्रकारकहाँ धाइरहेकी उनीसँग अघिल्लो साता जिल्ला अदालतको परिसरमा भेट भयो। चितवनको त्यही अदालतमा आफूले दिएको जाहेरी विरुद्ध मुद्दा चल्छ भन्ने उनलाई थाहा छ।

images
images

प्रहरीले अनुसन्धान अघि पनि बढाएको भन्छ। तर, आफूलाई बलात्कार गरि बेघर बनाइदिने ससुरा प्रहरीले भेटेको छैन। आरोपी व्यक्ति नभेटिएसम्म न्याय कसरी पाउने ? त्यसैले बलात्कृत उनी ससुरा जहाँ पुगेका भएपनि देख्नेले चिनुन् भनेर फोटो बोक्दै चिनजानका मानिसकहाँ धाइरहेकी हुन्।

उनी चाहन्छिन्, आफ्ना कुरा अदालतमा पुगेर न्यायाधीश सामुन्ने भनौँ, पटक पटक बलात्कार गर्ने ससुरालाई कारबाही होस्, तर, ससुरा कहिले भेटिन्छन् थाहा छैन।

काम नगरी दिन बिताउने भएपछि साढे तीन वर्ष अघि श्रीमानलाई पाँच हजार सापटी खोजेर भारत पठाएकी थिइन्। रत्ननगर १५ मा उनको घर छ।  घरमा ससुरा पनि काम नगर्ने, देवर पनि कता कता डुलिहिँड्ने, श्रीमानको पनि पारा उही भएपछि मजदुरी गरेर केही कमाउलान् भनेर भारत पठाइन्। २० वर्षको उमेरमा सात वर्षअघि उनको विवाह भएको थियो। विवाहको तीन महिनामा नै सासू क्यान्सरले बितिन्। श्रीमानको इलम छैन। ४५ वर्षे ससुरा पनि बेरोजगार।

दुई छोरी जन्मिसकेकाले उनले भारतमा मजदुरी गरेर भएपनि घर, सन्तानको लागि श्रीमानले केही कमाउलान् भनेर पठाएकी थिइन्। घर सम्हाल्दै दुई छोरी हुर्काउँदै थिइन्। ससुरा, देवर र दुई छोरीको लागि खाना बनाउनु खुवाउनु, घरव्यवहार चलाउनु उनको दैनिकी थियो।

तर, भारत गएको साढे तीन वर्ष भएपनि श्रीमानले सुको पठाएका थिएनन्। ससुराले कुखुरा पाल्थे त्यही पैसाले दाल चामल ल्याउँथे। कहिलेकाँही माइतीबाट आमाले केही रकम पठाइदिन्थिन्। यताउता जोहो गरेर घर धान्दै आएकी थिइन्।

तर, लोग्ने घर नभएको मौकामा बुबा समान ससुराले पटक पटक बलात्कार गरिरहे। कहिले इज्जत जाने डरले त कहिले छोरीहरूलाई मारिदिन्छु भन्ने धम्की सहेर उनले कतिपटक ससुराले गरेको बलात्कारमा चुप बसिन् हिसाब छैन।

उनलाई सम्झना छ, सुरुआत भने ६ महिनाअघि भएको थियो। त्यस दिन देवर घरमा थिएनन्। उनी सम्झिन्छिन्, साँझको करिब ६ साढे ६ बजेको समय मौरीहरू टिभी हेरिरहेका थिए। छोरीहरूको झगडा सुनेर भान्छाबाट दौडिँदै टिभी कोठामा पुगिन्। ससुरा पनि त्यही कोठामा रहेछन्।

‘पाँच पाँच रुपियाँ छोरीहरूको हातमा राखेर बाहिर पठाउनुभयो। टिभी कोठाको पर्दा र ढोका लगाउनुभयो। मलाई बाहिर निस्किन दिनुभएन। अनि जबरजस्ती गर्नुभयो।’ भनिन्, ‘म रोएँ, पहिले सम्झाउनुभयो कीरा फट्याङ्ग्राको त सम्बन्ध हुन्छ। हामी त बाउ छोरी जस्तै हौँ केही हुँदैन। त्यसपछि धम्की पनि दिनुभयो कसैलाई भनिस् भने तेरो छोरीहरू मारिदिन्छु।’

त्यसपछि भने शरीर छामछुम पार्ने, जबरजस्ती गर्ने क्रम निरन्तर जस्तै हुन थालेको उनले बताइन्। उनको महिनावारी हुने नहुने पनि ससुराले नै याद गरेर बस्थे। अनि, महिनावारी समयमा नभएको थाहा पाएपछि आफूलाई खोलेसिमल गर्भ जाँच गर्न पठाएको बताइन्। एक पटक रगत जाँचमा डाक्टरले बच्चा बसेको छैन भनेपछि घर फर्किएर आउँदा पनि नपत्याएर भिडियो एक्सरे नै गर्न पठाए।

उनले भनिन्, ‘डाक्टरले पनि रगत जाँचमा बच्चा नदेखिएपछि किन भिडियो एक्सरे गर्ने ? भनेर प्रश्न गर्दा पनि मैले भिडियो एक्सरेको रिपोर्ट ल्याएर देखाउनुपर्यो।’

बारीमा फलेको तरकारी छरछिमेकमा बाँडेर खाने बानी थियो उनको। तर, ससुराले बलात्कार गरेपछि एकातिर मानसिक विक्षिप्तता छँदैछ, अर्कोतिर छरछिमेकमा निस्किन पनि बन्देज भयो। ‘घरै बस रानी जस्तो गरेर पाल्छु भन्नुहुन्थ्यो।’ उनले थपिन्, ‘तर, बाहिर भनिस् भने तेरो दुइटै छोरीलाई मारिदिन्छु भनेपछि म बोल्नै सक्थिन्।’

उनका अनुसार ससुराले कहिले गर्भ बस्दैन भन्दै पिल्स त कहिले नामै थाहा नभएको औषधि जबरजस्ती खुवाउने पनि गर्थे। ‘त्यो औषधि खाएपछि मलाई के हुन्थ्यो थाहा पाउँदिनथेँ। उसले के के गर्थ्यो पनि होस् हुन्थेन्। बिहान उठ्दा पिसाब गर्ने ठाउँ दुखिरहेको हुन्थ्यो।’

हुन त उनले ससुराले गरेको दुर्व्यवहार श्रीमानलाई पनि सुनाएकी थिइन्। बुबाले मलाई नराम्रो व्यवहार गर्नुहुन्छ भन्दा उल्टै श्रीमानको गाली खाएको उनले बताइन्। पहिले पनि रक्सी खाएर छोरी मेरो होइन भन्दै गाली गर्ने भएकोले श्रीमानको माया पनि आफूले राम्रोसँग नपाएको उनको भनाइ छ।

श्रीमानको विश्वास नपाएपछि दिदीलाई भन्ने आँट गरिन्। काठमाडौँमा रहेकी दिदीलाई बोलाएर चार दिनमा फर्किने गरि ससुरासँग छुट्टी लिएर रत्ननगर १२ मा रहेको माइती गइन्।

प्रहरीमा जाहेरी दिएपछि घरको ढोका बन्द 

दिदीलाई अनुरोध नै गरेर काठमाडौँबाट बोलाएको चौथो दिनमा हिम्मत गरेर उनले आफूमाथि भएको दुर्व्यवहार सुनाउन सकिन्। उनको घटना सुनेपछि दिदी र आमा केहीबेर बोल्न सकेनन्। त्यसपछि उनले सल्लाह गरेर बैशाखको १६ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा ४५ वर्षका ससुरा उमाप्रसाद बोहराको विरुद्ध बलात्कार मुद्दामा जाहेरी दिइन्। चार दिनको छुट्टी दिएर माइती पठाएकी बुहारीले आफू विरुद्ध जाहेरी दिएको थाहा पाएपछि ससुरा घरबाट भागे।

भारत भएका श्रीमान भने घर आएका छन्। उनले  पटक पटक फोन गरेर जहाँ भेट्यो त्यही मारिदिन्छु समेत भनेर धम्की दिएको उनले गुनासो गरेकी छिन्। पटक पटक धम्की दिने छोरीहरूलाई समेत बेवास्ता गर्ने भएपछि यही साउनको ५ गते रत्ननगर नगरपालिका १५ नम्बर वडामा छोरीहरूको हेरचाह गर्नेबारे छलफल गर्न श्रीमानलाई झिकाइ पाउँ भनेर निवेदन पनि दिएकी छिन्।

रत्ननगर १५ वडाध्यक्ष आसिक तामाङ उनको निवेदन नगरपालिकाको उपप्रमुखकहाँ पठाइएको बताउनुहुन्छ। वडाध्यक्ष तामाङले भन्नुहुन्छ, ‘वडा स्तरको न्यायिक समिति पूर्ण नभएकोले अहिले वडाबाट काम रोकिएको छ, त्यसैले उहाँको विषयमा छलफलको लागि उपमेयर कहाँ पठाएका छौँ।’

माइतीमा बुबाले पनि कुट्छन्

प्रहरीमा जाहेरी दिएलगत्तै परिवारबाट विस्थापित उनी माइतीको आश्रयमा बसिरहेकी छिन्। तर, माइतीमा बुबा पनि दिनरात मदिरा सेवन गरेर बिताउँछन्। विवाहित दिदी आफ्नै घर काठमाडौँमा बस्छिन्। भाइ वैदेशिक रोजगारीमा छन्। घरमा बुबा आमा छन्। बुबाले आमालाई नै मदिरा सेवन गरि सताउने गर्थे। उनी माइती आएपछि त झन्, अपशब्द बोल्दै कुट्ने समेत गरेको उनले बताइन्।

माइतीमा समेत बस्न समस्या भएपछि रत्ननगरकी उद्यमी विरञ्जना घिमिरेले उनलाई काम दिनुभएको छ। घिमिरेले उनीबारे थाहा पाएपछि आफ्नै श्रममा बाँच्न सजिलो होस् भनेर मजदुरीको काममा लगाएको बताउनुभयो।

आरोपित खोज्दै छौँ :प्रहरी

जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी डिएसपी नरहरी अधिकारीका अनुसारका अनुसार २७ वर्षकी पीडित महिलाले बैशाख १६ गते जाहेरी दिएकी हुन्। उनले ससुरा उमाप्रसाद बोहराले आफूमाथि जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख भएको जानकारी अधिकारीले दिनुभयो।

तर, पीडित महिलाले प्रहरीकहाँ जाहेरी दिनुअगावै आरोपित बोहोरा फरार भएको प्रवक्ता अधिकारी बताउनुहुन्छ। ‘आरोपित व्यक्ति फरार छन्, अधिकारीले भन्नुभयो, ‘उनी भारत गएको बुझिएको छ। यद्यपि हामीले खोजी जारी राखेका छौँ।’

आवरणः शांकेतिक तस्बिर

images
प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - २२:३१:५६ बजे

स्वतन्त्र समाचार Independent News Service (INS)

स्वतन्त्र समाचार नेपालमा गुणस्तरीय मिडिया कन्टेन्ट उत्पादन गरी निःशुल्क वितरण गर्ने एक समाचार एजेन्सी हो। यस एजेन्सीको समाचार इच्छाकामना न्युजले पनि प्रकाशन गर्ने गरेको छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology